८ बैशाख २०८१, शनिबार
पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष जेल सजाय
  • काँचुली खबर

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई १० वर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्वप्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो ।

आगामी जुलाई २५ मा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसलालाई वकीलहरूले अर्थपूर्ण बताएका छन् । उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ अहिले बेलायतको लण्डनमा छन् । उनकी श्रीमती क्यान्सर रोगबाट पिडित छिन् । नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएक थिए।

भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

शरिफमाथि लागेको आरोपको उनी र उनका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप शरिफमाथि थियो ।

 

  • २३ असार २०७५, शनिबार ०७:१९ प्रकाशित
  • Nabintech