६ जेष्ठ २०८१, आईतवार
नेपाललाई एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि
  • काँचुली खबर

साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।

बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३/२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६/२४ ले जितेको थियो ।

सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८/१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४/२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । नेपाल १९/२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४/२४ मा पुर्‍याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४/२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।

तेस्रो सेटमा भने नेपालले २५/१५ ले सहजै जित्दै खेलमा २/१ को अग्रता बनायो । १०/११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८/११ को अग्रता बनाउँदै खेल २५/१५ ले सहजै जित्यो ।

तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५/२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २/२ को अवस्थामा पुर्‍यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५/११ ले जित्दै नेपालले उपाधि जित्यो ।

  • १३ पुष २०७८, मंगलवार १५:३९ प्रकाशित
  • Nabintech