१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्जवासीले फुत्काए सात करोडको प्रोजेक्ट
  • काँचुली खबर

नेपालगन्ज रंगशाला ।

नेपालगन्ज रंगशालामा बनाउने भनिएको एथलेटिक्सको सिन्थेटिक ट्रयाक र फिल्ड अन्ततः नबन्ने भएको छ । यहाँका खेलसम्बद्ध पदाधिकारीहरुको कमजोरीका कारण सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने प्रोजेक्ट दाङले हात पारेको छ । अन्तिम समयमा आएर करिब ७ करोड रुपैयाँको यो प्रोजेक्टबाट हात धुनु पर्दा यहाँका खेलप्रेमीहरुको मन खिन्न भएको छ ।

मंसिरमा आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने प्रक्रिया अघि बढाएको थियो । तर प्रक्रिया अघि बढीसकेको भएपनि नेपालगन्जको हातबाट यो प्रोजेक्ट फुत्किएको छ ।

मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले अहिलेको टेण्डरमा सिन्थेटिक ट्रयाक र फिल्ड नपरेको बताए । तर सिन्थेटिक ट्रयाकको आधार बनाएर ट्रयाक निर्माण गरिन लागेको उनको भनाई छ । अध्यक्ष वलीले भने ‘भैतिक पूर्वाधार र्मिाण समितिको बैठकले सिन्थेटिक ट्रयाक बनाउने निर्णय गरेको छ । जसलाई लिएर हामी काठमाडौं जाँदै छौं । आगामी बर्षको बजेटमा यो प्रोजेक्ट परेको छ ।’

यहाँका जिम्मेवार खेलकुद क्षेत्रका पदाधिकारी समयमै चनाखो नहुँदा र राखेपको नेतृत्वलाई दवाव दिन नसक्दा सिन्थेटिक ट्रयाक र फिल्डको प्रोजेक्ट रद्द भएको खेलकुदका जानकारहरु बताउँछन् । एक जना खेलसम्बद्ध जानकारले अवध पोस्ट्सँग कुरा गर्दै भने, ‘सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने कामका लागि समयमै पर्याप्त ताकेता नगर्नु अनि केन्द्रमा पहुँच पनि विस्तार गर्न नसक्नु लगाएतका कारणले यो प्रोजेक्ट हामीले गुमाउनु परेको छ । यसो हुनुमा यहाँका खेल पदाधिकारीको कमजोरी त प्रष्टै देखिन्छ । साथसाथै केन्द्रका जिम्मेवार व्यक्तिहरुको षड्यन्त्रको गन्ध पनि हामीले महशुस गरेका छौं । समयक्रमसँगै सबै कुरा थाहा हुँदै जाला पनि ।’
त्यसैगरी नेपालगन्ज रंगशालामा बनाउने भनिएको कंक्रिटको प्याराफिट पनि नबन्ने भएको बुझिएको छ । क्रंक्रिट प्याराफिटको सट्टामा स्टिलको प्याराफिट बनाउने तयारी अघि बढीसकेको छ । समयअभावको कारण देखाउँदै कंक्रिटको प्याराफिटको ठाउँमा स्टिलको प्याराफिट बनाउन लागिएको बताईएको छ । अर्को ठाउँमा सारेर जडान गर्न मिल्ने भएपनि ९पोर्टेबल० स्टिलको प्याराफिटको तुलनामा कंक्रिटको प्याराफिट टिकाउ, सुरक्षित र आकर्षक मानिन्छ ।

 

 

 

स्रोत : अवधपोष्ट

  • २० असार २०७५, बुधबार १५:१८ प्रकाशित
  • Nabintech