१४ बैशाख २०८१, शुक्रबार
अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेलाई १० वर्ष कैद, १३ लाख क्षतिपूर्ति भराउने फैसला
  • काँचुली खबर

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भएपनि सजाय निर्धारण हुन बाँकी थियो ।
जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार सोमबार अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण भएको हो ।
उनका अनुसार मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ गोरेबाट सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको हो ।
यसअघि जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय जोडिने छैन । दुवै सजाय सँगै अघि बढ्ने भएकाले अधिकतम सजाय कायम हुने राणाको भनाई छ ।
ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये फरार २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।

  • ८ कार्तिक २०७८, सोमबार १९:२२ प्रकाशित
  • Nabintech