२१ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय फुटबल टोली नेपाल आइपुग्यो, खेलकुदमन्त्री अथकले गरे स्वागत
  • काँचुली खबर

पहिलोपटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औँ साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारीलगायतले भव्य स्वागत गरे ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने फाइनल अघि नै राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन् ।
यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेसियामा लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन् । यसअघि रोहित जाकार्ताबाट सिधैँ माल्दिभ्स पुगेका थिए ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।
लिग चरणमा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो । यस्तै भारतसँग १–० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।

  • १ कार्तिक २०७८, सोमबार १२:३७ प्रकाशित
  • Nabintech