५ जेष्ठ २०८१, शनिबार
श्रीलंकाले बराबरीमा रोकेपछि दबाबमा भारत
  • काँचुली खबर

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन । सुरुवाती दुई खेलमा हार बेहोरेपछि निकै दबाबमा रहेको श्रीलंकाले रक्षात्मक रणनीति अपनाएको थियो । यस बराबरीले भारतको फाइनल पुग्ने समीकरणमा भने धक्का पुगेको छ । भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ । यसअघि पहिलो चरणमा भारत १० खेलाडीमा सिमित बंगलादेशसँग १/१ को बराबरीमा रोकिएको थियो ।

यस नतिजाले नेपालको फाइनल पुग्ने सम्भावनालाई भने सहयोग पुगेको छ । अंक तालिकामा नेपाल नै शीर्षस्थानमा कायम छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । बंगलादेश २ खेलमा ४ अंक तथा २ खेलमा २ अंक जोड्दै भारत तेस्रो स्थानमा छ । श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ ।

आज हुने अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आज जित हासिल गरे अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । त्यस्तै साविक विजेता माल्दिभ्स प्रतियोगितामा पहिलो अंक जोड्न चाहन्छ ।

  • २१ आश्विन २०७८, बिहीबार १९:१२ प्रकाशित
  • Nabintech