१५ चैत्र २०८०, बिहीबार
अन्तरिक्षमा चलचित्र छायाङ्कन गर्दै रुस
  • काँचुली खबर

अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अगाडि पर्दै अमेरिकी टोलीभन्दा अगाडि नै चलचित्र छायाङ्कन गर्न एउटा रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएसमा पुगेको छ ।

क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड छन् ।

उनीहरू चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ ।

अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा चलचित्र छायाङ्कन बनाउने योजना बनाइरहेका छन् ।

मङ्गलवार रुसी टोली अन्तरिक्षतिर लाग्दा कैयौँ टेलिभिजन क्यामेराहरू पेरेसिल्ड र टाढा बसेर हेरिरहेकी उनकी १२ वर्षीय छोरी आनातिर सोझिएका थिए ।

रुसको वेबसाइटले ‘वास्तविक नायकहरू अन्तरिक्षमा पुगेको’ लेखेको छ ।

शिपेन्कोको नायिका श्रीमती कार्पुनिनाका अनुसार निर्देशकले अन्तरिक्षमा जानुअघि १५ किलो तौल घटाउनु परेको थियो ।

अन्तरिक्षयात्री एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११:५५ मा यान प्रक्षेषण गरिएको थियो ।

उडेपछि कमाण्डरले ‘यात्रुहरू ठिकठाक रहेको’ बताएका थिए ।

उडेको तीन घण्टापछि सोयुज आईएसएसमा अवतरण गरेको थियो ।

अन्तरिक्ष स्टेशनमा अवतरण गर्न भने अलिकति समय लागेको थियो । त्यसबेला स्वचालित ‘डकिङ’ अर्थात् अवतरण विफल भएपछि अन्तरिक्षयात्रीको नियन्त्रणमा डकिङ गर्नुपरेको थियो ।

श्कापलेरोभसँग सहयोगका लागि सामान्य अवस्थामा उडान इन्जिनियरको सहयोग उपलब्ध हुन्थ्यो । तर उनीसँग यस पटक साथ रहेका यात्रुहरूले भने छोटो समय तालिम लिएका कारण सहयोग गर्न सकेनन् ।

अन्तत: यान अवतरण भयो । उनीहरूलाई आईएसएसको रुसी क्षेत्रमा रहेका सात जनाले स्वागत गरेका थिए ।

रसकसमस अन्तरिक्ष निकायका प्रमुख दिमित्री जोगोजिनले ट्वीट गर्दै भने, ‘योजना अनुसार नै सबै कार्य सम्पन्न भएको छ’ ।

श्कापलेरोभ थप केही दिन अन्तरिक्षमै बस्ने भए पनि निर्देशक र नायिका भने १२ दिन मात्र अन्तरिक्षमा बसेर चलचित्र छायाङ्कन गर्नेछन् ।

चलचित्रमा पेरेसिल्ड एक अन्तरिक्षयात्रीलाई बचाउन पृथ्वीको कक्षमा पठाइएका मुटु चिकित्सकको भूमिकामा छिन् ।

दुई अन्तरिक्षयात्रीहरू ओलेग नोभिट्स्की र प्योटर डबरभले पनि चलचित्रमा अभिनय गर्नेछन् ।

चलचित्रको छायाङ्कन आईएसएसको रुसी क्षेत्रमा गरिने छ ।

तर चलचित्रको योजनामाथि वादविवाद भइरहेको छ ।

रोसकसमस प्रमुखको योजनामा यो फिल्म बनाइँदैछ । यो योजनामा मतभेद भएपछि एक जना उच्च अधिकारीलाई बर्खास्त गरिएको थियो ।

तर अन्तरिक्ष यात्राबारे विशेष ज्ञान भएका सेर्गेइ क्रिकालेभलाई बर्खास्त गरिँदा चर्को विरोध भएपछि उनलाई उनकै पदमा फर्काउनुपरेको थियो ।

अर्का अन्तरिक्ष विज्ञ मिखाइल कोर्निएन्कोले बीबीसी रुसी सेवालाई आफूले पनि उक्त योजनाको विरोध गरेको बताएका छन् ।

उनले भने, ‘आईएसएस नाटक गर्नेहरूका लागि या पर्यटकका लागि होइन । यो त अन्तरिक्षको एउटा ठूलो प्रयोगशाला हो त्यहाँ काम गरिरहेका व्यावसायिक व्यक्तिको काममा बाधा पुर्‍याउन हुँदैन ।’

चलचित्रको लगानी रुसको च्यानल वान टेलिभिजनले गरेको छ । रसकसमसको एक भगिनी संस्थाले सङ्घीय बजेटबाट खर्च आवश्यक नपर्ने बताएको छ । विविसीबाट

  • २० आश्विन २०७८, बुधबार १७:३१ प्रकाशित
  • Nabintech