१४ बैशाख २०८१, शुक्रबार
लगातारकाे वर्षाले बाँकेकाे जनजिवन प्रभावित
  • काँचुली खबर

आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने  नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र जलमग्न भएको छ ।

निरन्तरवर्षाले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायतका स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् । पानि जमेर सडक अबरुद्ध भएपछि सवारिसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या  भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो ।

 वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन तथा अग्लो सुरक्षित स्थानको समेत खोजी गर्न आग्रह गरिएको बताए ।

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

  • १८ असार २०७५, सोमबार १०:३२ प्रकाशित
  • Nabintech