३१ बैशाख २०८१, सोमबार
प्रदेशको ‘न्वारन’ नगरेरै बिदा भए शेरधन राई
  • काँचुली खबर

भोजपुरबाट निर्वाचित शेरधन राई करिब चार वर्ष प्रदेश १ को मुख्यमन्त्री भएर बिहीबारदेखि बिदा भएका छन् । यो चार वर्षको अवधिमा उनले प्रदेश १ को राजधानी विराटनगरमै कायम गरिदिए ।

राज्यका हरेक सेवा सुविधा केन्द्रित भइसकेको सहरमै राजधानी कायम गरेपछि आलोचना खेपेका उनैले प्रदेश १ को नाम भने जुराउन सकेनन् ।

मुख्यमन्त्रीबाट बिदा हुँदै गर्दा उनले आफ्नै प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्यलाई चयन गराउन सफल भए । र, सँगै प्रदेश १ को नाम जुराउने जिम्मा पनि अब आचार्यकै काँधमा सुम्पिएका छन् ।

आचार्य दलको नेता भएसँगै राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ पुगेर पदबाट राजीनामा बुझाएका छन् । उनले राजीनामा दिएसँगै प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीका रुपमा आचार्यले शपथ लिएका छन ।

झन्डै चार वर्ष मुख्यमन्त्रीको कुर्सीमा बसेका राई प्रदेशको नामाकरण गर्न असफल रहे । सातमध्ये पाँचवटा प्रदेशले प्रदेशको नामाकरण गरिसकेका छन् । प्रदेश १ र २ ले आफ्नो नाम नै राख्न सकेका छैनन् ।

प्रदेश १ को नाम कोशी या सगरमाथा राख्नुपर्ने मत एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेका छन् । उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने किरात या अन्य कुनै नाम राख्न सुझाएका थिए ।

तर राई आफैं भने प्रदेशको नाम कोशी-किरात या सगरमाथा-किरात राख्ने पक्षमा थिए ।

एमाले नेतृत्वकै सरकार रहेको बागमतीमा डोरमणि पौडेलले, गण्डकीमा पृथ्वी सुब्बा गुरुङले र लुम्बिनीमा शंकर पोखरेलले प्रदेशको नाम राख्न सफल भएका थिए ।

एमालेका चार मुख्यमन्त्रीमा शेरधन मात्रै प्रदेशको नामाकरण गर्न चुके । प्रदेश १ को नाम सगरमाथा, कोसी, किरात, लिम्बुवानमध्ये एक राख्ने विषयमा अझै पनि मत मिलिसकेको छैन ।

  • १० भाद्र २०७८, बिहीबार १३:४७ प्रकाशित
  • Nabintech