१३ बैशाख २०८१, बिहीबार
सिकलसेल रोगको रक्तपरिक्षण गर्न विद्यालयमा शिविर
  • काँचुली खबर

तराईका थारु समुदायमा मात्र हुने सिकलसेल एनिमियाको रक्त प्रशिक्षण गर्न विद्यालयहरुमा शिविर संचालन गरिएको छ । थारु समुदायका विद्यार्थीहरुको रक्त परिक्षण गराउने प्रमुख उद्देश्यले यहि असार १२ गतेदेखि १८ गतेसम्म कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न विद्यालयमा सिकलसेलको रक्त परिक्षण भईरहेको छ ।
कोहलपुर नगरपालिका–१४ को श्री राम मा.वि. हवल्दारपुर, वडा नं. ३ मैटहवाको जनता मा.वि., वडा नं. १० मा रहेको त्रिभुवन नमुना मा.वि. र वडा नं. २ को बर्दहवामा रहेको लक्ष्मी मा.वि. मा अध्ययन गर्ने थारु समुदायका विद्यार्थी तथा उनीहरुका अभिभावक को समेत रक्त परिक्षण गरिएको कोहलपुर नगर स्वास्थ्यका सह–संयोजक विद्यासागर मैनालीले
बताए । मैनालीका अनुसार असार १७ गते सिद्धार्थ मा.वि. रझेना र १८ गते वालज्योती मा.वि. कोहलपुरमा समेत शिविर संचालन हुने छ ।
मैनालीले भने ‘शिविर संचालन गरेका विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको रक्त परिक्षणकालागि लिर्ईएको रगत परिक्षण गर्दा कतिपयको रगतमा सिकलसेल एनिमियाको ‘पोजेटिभ’ देखिएको छ । कोहलपुर नगरपालिका भित्र वसोवास गर्ने थारु समुदायहरुमा के-कती सँख्यामा छ, त्यो सबै पत्ता लगाउन गाँउगाँउमा शिविर संचालन गर्नुपर्छ । विद्यालयमा अध्ययनरत कति जनालाई ‘पोजेटिभ’ देखिन्छ त्यो सबै शिविर सम्पन्न भएपश्चातमात्र पत्ता लाग्ने छ ।’
शुक्रबार कोहलपुर नगरपालिका–२ बर्दहवामा रहेको लक्ष्मी मा.वि. मा सिकलसेल एनिमियाको निःशुल्क रक्तशिविरको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले थारु समुदायमा वंशाणुगत रुपमा संक्रमण हुने सिकलसेल भयावह बन्दै गईरहेकाले थारु समुदायका सबै विद्यार्थी हरुलाई रक्त परिक्षण गराउन आग्रह गरिन ।
मानिसको शरिरमा साधारणतया रक्तकोष गोलाकार संरचनामा हुन्छ । सिकलसेल एनिमियाको संक्रमण वंशाणुगत रुपमा आमा–बुवाबाट छोराछोरीमा हुने र यसले गोलाकारका रक्तकोषहरुलाई हँसियाको आकारमा परिणत गराईदिन्छन । हँसियाको आकारमा रक्तकोषहरु परिणत भएपछि मानिसको शरिरमा सजिलैसँग रगत बग्न पाउँदैन, जसले गर्दा शरिरमा अक्सीजनको मात्रा कम भई शरिरका बिभिन्न अङ्गमा दुखाई सुरु हुने रक्त परिक्षणमा सहभागी चिकित्सकले बताए ।
मानिसको शरिरमा रहेका रक्तकोषहरुको आयु सामान्यतया १२० दिनसम्म हुन्छ । तर सिकलसेल भएका रक्तकोषहरुको आयु १० देखि २० दिनसम्म मात्र हुने हुँदा यस रोगका बिरामीहरुलाई रक्तअल्पता हुने गर्दछ । रक्त अल्पता भए पश्चात बिरामी हुने, थकाई लाग्ने, सास फेर्न गाह्रो हुने, छाती, पेट, हात, खुट्टा, ढाडमा कडा खालको दुखाई हुने, कमलपित्त हुने, आँखा दुख्ने र अन्धोपन हुने, पक्षघातसमेत हुने, ज्वरो आउने, वाकवाक लाग्ने, खोकी लाग्ने जस्ता लक्षणहरु देखापर्ने चिकित्सकहरु बताउँछन ।
सो शिविरमा ४ सय ३ जनाको रक्त परिक्षणको लागि स्याम्पल संकलन गरिएको नगर स्वास्थ्य सहसंयोजक मैनालीले बताए ।
सिकलसेल एनिमियाको ‘पोजेटिभ’ वा ‘नेगेटिभ’ पत्ता लगाउन विषेश किसिमको परिक्षण गर्नुपर्ने र त्यस्तो रक्त परिक्षण गराउने प्रयोगशाला काठमाण्डौको टेकु, भेरी अञ्चल अस्पताल नेपालगन्ज र ७ नं. प्रदेशको सेति अञ्चल अस्पताल धनगढिमा मात्र हुने गर्दछ ।

  • १५ असार २०७५, शुक्रबार २२:४७ प्रकाशित
  • Nabintech