१ जेष्ठ २०८१, मंगलवार
एसएसबीले तुइन काट्दा महाकालीमा खसेर नेपाली युवा बेपत्ता
  • काँचुली खबर

दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको आरोप छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको जानकारी दिएका छन् । ’नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ,’ शमाले विज्ञप्तिमा भनेका छन् ।

‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिनरदिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’

शुक्रबार भारतबाट सामान ल्याएर महाकाली नदि माथीको तुईनबाट नदि पार गर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानियले बताएका छन । धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

  • १५ श्रावण २०७८, शुक्रबार १८:१८ प्रकाशित
  • Nabintech