१ जेष्ठ २०८१, मंगलवार
‘किन हटेनन् अझै बिभेदहरु ?’
  • काँचुली खबर

रगत पसिनाले सिंचीत माटोमा
अङ्कुरित बिज हुर्काउँदै,
पल्लवित लोकतन्त्रको वृक्षमा
गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर
वीरताको अमर गाथा कोरेकाहरु,
परिवर्तनको प्रतिफलबाट बन्चित भएर
बाँचिरहेछन्,
गुमनाम जिन्दगी !
जीवनोपयोगी शिक्षाबाट ठगिएर
व्यापारिकरणको नङ्ग्राले चिथोरिएर
ठालुहरुको होच्याइबाट थलिएर
थिलथिलो भएका पाठशालाहरुले
जन्माइरहेछन्,
बेरोजगार बहादुर र कान्छाहरु ।
पुर्णीमालाई लखेटेर
औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
झलमलाई रहेछन्,
पितृसत्तात्मक सोचका ताराहरु ।
असमानताको कालोपत्रे बिछ्याउँदै
एउटै पाङ्ग्राले रथ हाँकिरहेछन्,
एक्काइसौँ शताब्दीका अर्जुनहरु ।

 

पहिचान लुकाउनेहरुको विवशता देखेर,
सिर निहुराउँदै मानवता झोक्राइरहेछ ।
आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,
छुवाछूतले फाटेका मन सिलाउने मेसिन
आविष्कार नहुनुका कारणहरु,
खोजिरहेछन् आरनहरु ।
सङ्कीर्णताको माला भिरेर
अहङ्कारको टीका लगाएर
ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
शीतयुद्धमा भाग लिइरहेछन्,
धर्मका अनुयायीहरु ।
हुरी बतास र बर्षादसँग
आत्मासमर्पण गरिरहेछन् ,
चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु ।
वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै
बगिरहेछन् निरन्तर,
भोकको आगोलाई निभाउन नसकेका
अभावलाई बगाउन नसकेका
पसिनाका नदिहरु ।

 

सुशासनको रटानले तिर्खाएर
धारा उपधाराहरुले
प्यास मेटेकाहरु सामुन्ने
ठडिरहेछन् प्रश्नका सगरमाथाहरु
आखिर,
किन हटेनन् अझै बिभेदहरु ???

 

मुकुन्द कृष्ण थापा
खोटाङ

  • १३ असार २०७८, आईतवार १९:५२ प्रकाशित
  • Nabintech