६ जेष्ठ २०८१, आईतवार
मनाङेसहित प्रदेश प्रमुखकोमा पुग्यो विपक्षी गठबन्धन
  • काँचुली खबर

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएको २ घण्टा नबित्दै नेपाली कांग्रेससहितका दलहरू सरकार गठनको आधार पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धन बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएर प्रदेश प्रमुखको कार्यालय पुगेका हो । ३१ जना सांसद नै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिम सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् । कुल ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमत अर्थात् ३१ मत आवश्यकता पर्छ । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

बिहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएका थिए । तर कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ तथा जनता समाजवादी पार्टीका २ गरी ३० सांसदले विपक्षमा मत हालेका थिए ।

जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङे बैठकमै आएनन् ।

ह्वीप उल्लंघन भएको भन्दै राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई फेरि पदमुक्त गरेको छ । स्वतन्त्र सांसद दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिने घोषणा बिहीवार नै गरेका थिए । ​

  • २८ जेष्ठ २०७८, शुक्रबार १७:३२ प्रकाशित
  • Nabintech