६ जेष्ठ २०८१, आईतवार
गण्डकी सरकार ‘ओली पथ’ मा हिँडेको माओवादी केन्द्रको आरोप
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले संघीय सरकारले समातेकै बाटोमा गण्डकी प्रदेश सरकार उन्मुख देखिएको आरोप लगाएका छन् ।

उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै आफूहरु संविधान र संघीयता बचाउनका लागि गठबन्धनका साथ अघि सरेको प्रस्ट पारे ।

‘हाम्रा उपलब्धिमाथि चौतर्फी हमला हुँदा उपलब्धिकै पक्षमा उभिएका दलहरुबीचको गठबन्धन हो यो,’ विपक्षी गठबन्धनको औचित्य प्रस्ट पार्दै उनले भने, ‘यसलाई कतिपयले अपवित्र गठबन्धन भनेका छन्, म त्यसतर्फ धेरै भनिरहन चाहन्न ।’

उनले संघीयताको मूल मर्मलाई जोगाउन चाहेको हो भने प्रदेशसभा विघटनको बाटोमा जानु हुँदैन भन्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनका सन्दर्भमा मूलमै पानी धमिलो भएपछि त्यो धमिलो सबैले व्यहोर्नुपर्ने उनले बताए । केन्द्र सरकारले नै विधि, पद्धति, संविधानलाई उल्लंघन गरेको कारण प्रदेशमा पनि त्यसको असर देख्न थालिएको उनको भनाइ थियो ।

उनले अगाडि भने, ‘संघीय सरकारले गरेका असंवैधानिक कामलाई प्रदेशका मुख्यमन्त्रीले समर्थन गर्दै हिँडेपछि यहाँ पनि त्यो अवस्था आएको हो ।’

उनले संविधानले प्रतिनिधिसभा वा प्रदेशसभा विघटनका लागि बाटो नखोलेको प्रस्ट पार्दै संविधान मिचेर केन्द्रमा जस्तै प्रदेशसभा पनि संसद विघटन गर्ने प्रयास हुन सक्नेतर्फ सचेत तुल्याए ।

  • २७ जेष्ठ २०७८, बिहीबार १४:४८ प्रकाशित
  • Nabintech