७ बैशाख २०८१, शुक्रबार
एक वर्षमै दुई करोडका खसी बिक्री
  • काँचुली खबर

बाँकेको ढकेरीमा रहेको खसी संकलन केन्द्रले चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका खसी बिक्री गरेको छ । महिला उद्यमी जिल्ला संघकी अध्यक्ष गंगा शाहका अनुसार बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट खसी खरिद गर्दै आएको सो संकलन केन्द्रले एक वर्षमै २ करोडको खसी खरिद गरेर बिक्री गरेको हो । संकलन केन्द्रमा खरिद गरेका खसीलाई नेपालगन्ज, कोहलपुर, काठमाडौं र पोखरा पठाउने गरिन्छ । यो वर्ष ३ हजार ७ सय ३७ वटा खसी खरिद गरेर बिक्री गरिएको महिला उद्यमी संघले जनाएको छ ।
बाँके र बर्दियाका महिला समूहले पालेका खसी बिक्री गर्न समस्या भएपछि संघले ढकेरीमा खसी संकलन केन्द्र स्थापना गरेको हो । केन्द्रले प्रतिकिलो ३ सय २५ देखि ३ सय ८० रुपैयाँका दरले खसी खरिद गरेर ४ सय १० देखि ४ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।
संघका अध्यक्ष शाहले एक जना किसानले वर्षमा कम्तीमा पनि १० वटा खसी बिक्री गर्ने गरेको बताइन् । “संकलन केन्द्र नहुँदा हामीलाई खसी बेच्ने चिन्ता हुन्थ्यो, बुच्चरलाई बेच्दा घाटा हुन्थ्यो,” उनले भनिन्, “अहिले त्यस्तो छैन ।” शाह आफैंले यो वर्ष ३ वटा खसी बेचेर ३५ हजार रुपैयाँ आम्दानी गरेको बताइन् । उनी अझै एउटा खसी बेच्ने तयारीमा छिन । उनले गतवर्ष चार वटा खसी बिक्री गरेकी थिइन भने छोराको विवाहमा दुइटा काटेकी थिइन् । उनले १५ वटा बाख्रा पालेकी छन् ।
ढकेरीलाई बाँकेको बाख्रा पकेट क्षेत्र भनिन्छ । सो गाउँ जंगलको छेउमा रहेको छ । अध्यक्ष शाहका अनुसार, समूहमै रहेका एकजना किसानले ५० वटासम्म बाख्रा पालेका छन् । बाख्रा पालेर त्यहाँका किसानले राम्रो आम्दानी गरेका छन् । बाख्रापालनबाट आम्दानी बढ्दै गएको देखेर बाख्रा पाल्ने किसान पनि दिनदिनै बढ्दै गएको संघले जनाएको छ ।

खत्री बनिन् उत्कृष्ठ बाख्रापालक किसान


बाँके ढकेरीकी बुद्धी खत्रीलाई बाँकेकी उत्कृष्ट बाख्रा पालक कृषक घोषित गरिएको छ । हेफर इन्टरनेसनल नेपालले खत्रीलाई उत्कृष्ठ किसान घोषित गर्दै ७० हजार राशिको स्वर्णिम पुरस्कारसमेत प्रदान गरेको छ । उनले सन् २०१७ को स्वर्णिम प्रतिभा पुरस्कार पाएकी हुन् ।
खत्रीको खोरमा ४९ वटा बाख्रा छन् । एक वर्षमा खसीबोका बिक्रीबाट उनले ४ लाख २७ हजार रुपैयाँ कमाएकी छन् । बाख्रा पालेर खत्रीले १० लाखमा पाँच कठ्ठा जमिन किनेकी छन् भने दुई कोठाको पक्की घर बनाएकी छन् । उनले पश्चिम नेपालका सात जिल्लाका ५० हजारभन्दा बढी कृषकलाई पछि पारेर सो पुरस्कार जितेकी हुन् ।

 

स्रोत : कारोबार

  • ११ असार २०७५, सोमबार १५:०८ प्रकाशित
  • Nabintech