६ जेष्ठ २०८१, आईतवार
नेपालगञ्ज-पोखरा हवाई उडान सङ्ख्या थपिने
  • काँचुली खबर

पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले एक महिना अघि शुरु गरिएको नेपालगञ्ज-पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ ।

पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि सातामा दुई दिन शुक्रबार र आइतबार हुँदै आएको उडानलाई थप गरेर बुधबार पनि शुरु गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँकेले जनाएको छ ।

पर्यटन व्यवसायीहरुको लामो प्रयासपछि निजी क्षेत्रको पहलबाट गत फागुन ७ गतेदेखि नेपालगञ्ज-पोखरा चार्टर उडान शुरु गरिएको थियो ।

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार भारतीय पर्यटकलगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र गण्डकीका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यले सीता एअरमार्फत् शुरु गरिएको नेपालगञ्ज-पोखरा र पोखरा-नेपालगञ्ज हवाई उडानमा यात्रुको चाप बढ्दै गएपछि उडान थप गरिएको हो ।

पर्यटकको सङ्ख्या बढ्दै गएपछि आफूहरु उत्साहित भएको जनाउँदै अध्यक्ष सिग्देलले यात्रु सङ्ख्या हेरेर उडान अझैँ थप गर्दै लगिने बताए ।

उनले बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट यता आइरहेकाले बर्दियाका व्यवसायी पनि उत्साही बनेको बताए ।

कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको प्रवर्धनका लागि नाटा बाँकेले बाँके, बर्दिया, कर्णालीको मुगु, प्युठान र सुदुरपश्चिमका पर्यटकीय क्षेत्रसँग नेपालगञ्जलाई साझै जोड्ने अभियान शुरु गरेको सिग्देलले बताए ।

शुरुमा सातामा दुईवटा चार्टर उडान गर्ने गरी सेवा शुरु गरिए पनि यात्रु बढ्दै गएकाले एक उडान थप गरिएको सीता एअर नेपालगञ्जले जनाएको छ । पछि आवश्यकता अनुसार उडान सङ्ख्या अझैँ बढाउन सकिने पनि सो एअरलाइन्सले जनाएको छ ।

लामो समयदेखि बाँके र बर्दियाका पर्यटन व्यवसायीले नेपालगञ्ज-पोखरा र नेपालगञ्ज-दिल्ली हवाई उडानका लागि प्रयास गर्दै आए पनि सरकारीस्तरबाट शुरु नगरिँदा निजी क्षेत्रबाट पोखरा उडान शुरु गरिएको हो ।

नेपालगञ्ज-पोखरा उडान शुरु गरिएपछि पोखरा जान र फर्कन चाहने भारतीय पर्यटकहरु काठमाडौं पुगेर पोखरा जाने आउने बाध्यता अन्त्य भएको छ ।

गोरखापत्रबाट

  • ८ चैत्र २०७७, आईतवार १९:२७ प्रकाशित
  • Nabintech