७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा बर्चश्व जमाउँदै केन्द्रिय बैंकहरु
  • काँचुली खबर

कोहलपुर नगरपालिका भित्र संचालनमा रहेका २५ बैंकहरुले वार्षिक ४ अर्ब भन्दा बढी लगानी गरिरहेको कोहलपुर बैकर्स क्लबका अध्यक्ष डिल्लीराज भुषालले जानकारी दिएका छन । १८ वटा कमर्शियल बैंक, ६ वटा विकास बैंक र १ वटा राष्ट्रिय सहकारी विकास बैंकले विभिन्न व्यक्ति, व्यापार, व्यवसाय र उद्योगमा लगानी गरेको बैंकहरुको एकमुष्ट हिसाब हेर्दा झण्डै ४ अर्ब जति लगानी देखिएको हो । कोहलपुर नगरपालिका भित्र ग्लोवल आएमई, प्रभु बैंक, एनआईसि एशिया, बैंक अफ काठमान्डौं, एभरेष्ट बैंक देखि मेघा, कामना सेवा, लक्ष्मी, माछापुच्छ«े लगायतका २५ बैंकहरु संचालनमा छन् । प्राप्त जानकारी अनुसार झण्डै ४ अर्ब लगानी गरेका यी बैंकहरुले वार्षिक करोडौँ मुनाफा कमाईरहेका छन् । सामान्यता ४ अर्ब लगानी गर्दा करिब २५ करोड मुनाफा गरेको देखिन्छ ।
२५ करोड मुनाफा गर्दापनि ति बैंकहरु स्थानिय सरकार मातहत र करको दायरामा आएको देखिदैन । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकमा मुनाफाको १ प्रतिशत रकम अनिवार्य रुपले खर्च गर्नुपर्ने हुन्छ । १ प्रतिशतले वार्षिक झण्डै २५ लाख सामाजिक उत्तरदायित्व शिर्षकमा खर्च गर्नुपर्नेमा त्यसो गरिएको छैन भने अर्कोतिर ति बैंकहरु करको दायरामा पनि अझैं आउन मानेको देखिदैन । वार्षिक २५ करोड मुनाफा गरेका बैंकहरुले कोहलपुर नगरपालिकालाई वडा नं. ११ मार्फत तिरेको कर रकम २ लाख ५० हजार मात्र देखिएको छ ।
यसरी अरबौं रकम कोहलपुर र आसपास क्षेत्रमा लगानी गरिरहँदा ति बैंकहरुले कुन-कुन शिर्षकमा कति प्रतिशत ब्याजमा लगानी गरे ? त्यसको एकिन तथ्याङ्क समेत कोहलपुर नगरपालिका कार्यालयसँग नभएको स्रोतले बतायो ।
कोहलपुरमा रहेका बैकहरुलाई विकेन्द्रीकरणको सिद्धान्तले खासै छोएको देखिदैन । कोहलपुरका स्थानिय मिडियामा समेत ति बैंकहरुको सुचना, विज्ञापन प्रकाशन–प्रशारण नहुनाले बैंकहरु स्थानिय तहप्रति जवाफदेही छैनन् भन्ने आशंका उब्जीएको छ ।
यसै सन्दर्भमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले गत जेष्ठ महिनामा कोहलपुर नगर कार्यपालिका परिवार सहित बैंकर्सहरुसँग बैठक बस्दा कोहलपुर नगरपालिका भित्रका बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकमा शिक्षा, स्वास्थ्य, वातावरणिय क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरि निर्णय समेत भएको जानकारी दिए ।

  • ८ असार २०७५, शुक्रबार १९:०६ प्रकाशित
  • Nabintech