६ जेष्ठ २०८१, आईतवार
जमुनाहसहित भारतसँगका १४ नाकामा कडाइ
  • काँचुली खबर

पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ ।

नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली स्वदेश फर्किन थालेका छन् । यसले नेपालमा पनि सङ्क्रमण भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको महाशाखाले बताएको छ ।

मुख्यगरी भारतसँगका १४ वटा नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुनाह नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको छ ।

भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।

  • ८ चैत्र २०७७, आईतवार १३:२३ प्रकाशित
  • Nabintech