२४ बैशाख २०८१, सोमबार
कर्णाली सरकार : माधव पक्षको समर्थन यथावत
  • काँचुली खबर

सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । गत दशैंताका नै पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । त्यतिबेला जेनतेन सरकार ढल्नबाट जोगिए पनि अहिले फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको हो । तर, एमालेकै माधव नेपाल पक्ष भने महेन्द्र बहादुर शाही नेतृत्वको माओवादी सरकारलाई नै निरन्तरता दिने पक्षमा देखिएको छ ।

बुधबार बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।

बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ । बैठकमा एमाले प्रदेश इञ्चार्ज कँडेल सहित १० जना सांसदहरु सहभागी थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताए ।

सांसद खड्गबहादुर खत्री, दानसिंह परियार पदमा खड्का, पदमबहादुर रोकाया, बद्मी कुवाँरी बोहोरा, राजु नेपाली, गुलावजङ्ग शाही, देव ओली र मीनासिंह रखाल बैठकमा सहभागी भएका थिए । सांसद पद्मा खड्का र पदमबहादुर रोकाया पनि माधव नेपाल पक्षबाट ओली समूहमा फर्किएका छन् ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढापनि ओली समूहमै फर्किएको बुझिएको छ । यद्यपि, उनी बैठकमा सहभागी भने छैनन् । सामाजिक विकास मन्त्री दल रावल पनि ओली पक्ष एमालेमा फर्किने कुरा निश्चित रहेको स्रोतको दावी छ ।

तर कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको निर्णयप्रति आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । माधव नेपाल पक्षका उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ ।’

ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफूहरुको असहमति रहेको पनि बताए । उनले यो निर्णय एमाले प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै भनेका छन्, ‘कर्णाली प्रदेश सरकारप्रति एमाले प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँछौ ।’

  • ४ चैत्र २०७७, बुधबार १७:१७ प्रकाशित
  • Nabintech