२४ बैशाख २०८१, सोमबार
सभामुख सापकोटाले बनाएका ७ सदस्यीय अध्यक्ष मण्डल
  • काँचुली खबर

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गरेका हुन् ।

विभिन्न राजनीतिक दलका आधारमा मनोनयन गरिएका सदस्यहरूमा नेपाली कांग्रेसबाट डा. डिला संग्रौला पन्त र मानबहादुर विश्वकर्मा, नेकपा एमालेबाट राधा कुमारी ज्ञवाली, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे, माओवादी केन्द्रबाट रेखा शर्मा र जसपाबाट रेणु कुमारी यादव मनोनित भएका छन् ।

उनीहरुले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाउनेछन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका दोस्रो संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्नुका साथै समानुपातिक पदमा रिक्त रहेर सो स्थानमा मनोनित भएका सांसदहरु बारे जानकारी गराइएको छ । अर्को बैठक यही चैत ६ गतेका लागि बोलाइएको छ ।

  • ३ चैत्र २०७७, मंगलवार १४:४४ प्रकाशित
  • Nabintech