१६ चैत्र २०८०, शुक्रबार
को हुन अध्यक्ष पदका उम्मेदवार खनाल ? (संक्षिप्त जिवनी)
  • काँचुली खबर

बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । कोहलपुर उद्योग वाणिज्य संघले निर्वाचन मिति घोषणा भएसँगै जुर्मुराएका कोहलपुरका ब्यपारीहरु चुनावी माहोलमा होमिएका छन । यहि फागुन २२ गते हुने निर्वाचनका लागि ब्यवसायीहरु घरदैलो अभियानमा जुटेका हुन ।

महासंघको आगामी नेतृत्वकालागि नेकपा र काँग्रेसका दुई उम्मेदवारले दावी पेश गरेका छन । देशको वर्तमान राजनितिक घटनाक्रमले नेताहरु दुई ध्रुवमा बाँडिएको बेलामा कोहलपुरमा भने नेकपामा आस्थावान ब्यवसायीहरु एक ढिक्का भएर आफ्नो प्यानलमा खडा भएका छन् । पुराना तथा चर्चित ब्यापारी नेता विष्णु खनालले नेकपाका सबै घटकहरुको नेतृत्व गर्दै साझा समाबेशी प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी गराएका छन । खनालको प्यानलबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव कुमार नेपालले नेतृत्व गरेको नेकपाका दुबै समुहमा आवद्ध ब्यवसायीहरुले उम्मेदवारी दिएका छन । वाणिज्य संघको चुनावमा दुबै समुह एक भएर नेकपा फुटेर होइन जुटेर जानुपर्छ भन्ने सन्देश दिन खोजिएको उम्मेदवारहरुले बताउँदै आएका छन ।

को हुन् विष्णु खनाल ?

स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका आँपचौरमा २०२४ सालमा जन्मिएका विष्णु परिवारका साइलो छोरा हुन् । उनी ८ दाजुभाई मध्यका तेस्रो सन्तान हुन् । अचम्म लाग्दो कुरा के भने उनको परिवारका ६५ जना अहिलेसम्म पनि सगोलमै बस्दै आएका छन । बाँडिएर होइन जुटेर मात्र प्रगती गर्न सकिन्छ भन्ने उदाहरण उनको पारिवारिक अवस्थाले पनि देखाउँछ । ८ दाजुभाईको अहिले पनि अंशवण्डा भएको छैन । सबै दाजुभाई मिलेर ब्यवसायमा हात हालेका छन् । त्यसैले उनीहरुको सफलता पनि लोभलाग्दो छ ।

विष्णुको जन्मदिनकै दिन कोहलपुर उद्योग वाणीज्य संघको निर्वाचन पनि परेको छ । यो अनौठो संयोगका बीच उनले ‘अरुलाई हेर्नुभयो धेरै पटक, मेरो लागी अन्तिम एक पटक’ भन्ने नारा सहित आफ्नो जिवनको अन्तिम उम्मेदवारी दिएको घोषणा गरेका छन् । २४ वर्षसम्म उद्योग वाणीज्य संघको कुनै न कुनै जिम्मेवारीमा रहेका विष्णुले यो उम्मेदवारी आफ्नो अन्तिम भएको बताएका छन् ।

कोहलपुर उद्योग वाणीज्य संघको संस्थापक सदस्यका रुपमा प्रवेश गरेका विष्णु जुन बेला संघमा एक जना मात्र उपाध्यक्ष हुने ब्यवस्था थियो त्यती बेला तीन पटक उपाध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । त्यसपछि महासचिव हुँदै २ कार्यकाल सल्लाहकारको भूमिकामा रहे ।

विष्णु जन्मदै उनको परिवार ब्यवसाय क्षेत्रमा आवद्ध थियो । बुवा प्रजापति खनालले कपडाको पसल संचालन गरेका थिए । आमा मोतीसराको पनि ब्यवसायलाई विस्तार गर्न उत्तिकै भूमिका रह्यो । स्याङ्जा अर्जुन चौपारीमा धान कुट्ने, पिठो पिस्ने र तेल पेल्ने मिल संचालन गर्ने ब्यवसायीक परिवार खनालकै थियो । स्याङ्जामा बुवा आमाको ब्यवसायीक शिक्षा सिकेर बाँके झरेका विष्णुले पनि सुरुमा किराना पसल संचालन गरेका थिए ।

अहिले भने उनको मेडिकल ब्यवसाय छ । कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज हाता भित्र सजिलो औषधी पसल संचालनमा छ । सो औषधी पसलको फर्म उनले २०५८ सालमै दर्ता गरेका थिए । त्यस बाहेक विभिन्न उत्पादनका शोरुम लगायतका अन्य ब्यवसायमा दाजुभाईबीच साझेदारी छ । कोहलपुर क्षेत्रको ब्यवसायमा खनाल परिवारको उल्लेख्य योगदान छ । जन्मदै ब्यवसायीक शिक्षा लिएर आएका विष्णुले ब्यवसायीका समस्या नजिकवाट जान्ने मौका पाएका छन् ।

भन्छन्, ‘कोहलपुरमा ३४ सय ब्यवसायी छौं, सबैका समस्या अलग अलग छन्, अब मेरो काम सबैको समस्या सुन्ने र समाधानका लागि सोही अनुसारको योजना बनाउने हो ।’ आफै पनि ब्यवसायको विभिन्न क्षेत्रमा काम गरेका कारण पनि समस्या पहिचानमा उनको अनुभव छ । गएको निर्वाचनमा पराजित भएका कारण अहिले अन्तिम उम्मेदवारी दिएको बताउने विष्णुले संस्थापक हुँदा देखि नै उद्योग वाणीज्य संघमा गर्नुपर्छ भनेर देखेको सपना अब पुरा गर्ने अवसर खोजेका छन् ।

‘आफु नेतृत्वमा नभएका कारण त्यो सपना पुरा गर्न सकिन’, विष्णु भन्छन्, ‘अब त्यो सपना पुरा गर्न अन्तिम अवसर दिनुस् भनेर मैदानमा आएको छु । सबैले साथ दिनुभएको छ ।’ निकै उत्साहित देखिएका विष्णुले आफ्नो राजनीतिक विचारधाराका ब्यवसायी मात्र होइन फरक राजनीतिक विचार राख्ने ब्यवसायीले पनि सहयोग गरेको बताउँछन् ।

‘संस्थापक भएर जुन उद्धेश्य थियो त्यो अझ पुरा भएको छैन । कोहलपुर वाणिज्य संघलाई नेपालको नमुनाको रुपमा देखाउने मेरो लक्ष्य छ’, उनले भने, ‘निर्वाचित भएको भोलीपल्टबाटै ब्यवसायीको समस्या समाधान तर्फ मेरो सक्रियता रहनेछ । ब्यवसायीको भावना बुझेर एजेण्डा बनाउछु ।’

उनले आफ्ना केही मुख्य योजना बारे पनि बताएका छन् । जसमा, घरभेटी र भाडामा बस्नेबीचको सम्बन्ध, होलसेल ब्यवसायी र खुद्रा ब्यवसायीबीच दरभाउ रेटमा भएको असमझदारी जस्ता कुराहरुलाई ब्यवस्थापन गर्ने ।

त्यस्तै कोहलपुरमा सडकमा बत्ती छैनन्, आवश्यकता अनुसार सडक बत्ती राख्ने, कोरोनावाट धरासायी बनेका ब्यवसायीहरुका लागि प्याकेज ल्याउने, कोहलपुरको मुख्य आकर्षक न्युरोडमा रेलिगं राखेर बत्ती जडान गर्ने, एनटिभी सम्मको वाटोमा मिनिपार्क बनाउने उनको योजना छ । मिनिपार्कमा वाणीज्य संघको लगानी रहेनेछ भने त्यसको नाम पनि उनले सोचिसकेका छन् । उनले भने, ‘त्यसको नाम नै वाणीज्य पार्क रहने छ ।’ त्यसवाहेक ब्यववसायी उत्पादन गर्न नाम तालिम दिने र आवश्यकता अनुसारको कामलाई निरन्तरता दिने उनको उद्देश्य हुनेछ ।

अन्त्यमा उनले भने, ‘नेताहरुबीच बिचार नमिलेको हो, पार्टी फुटेको छैन । त्यसैले हामी पनि ब्यवसायीक एजेण्डाका लागि एक छौं । सबैले समर्थन गरेका कारण पनि मैले यो साहस देखाएको हुँ । अन्य समुहले पनि भित्रि रुपमा पनि सहयोग गरेका छन् । सबै राजनीतिक बिचार बोकेका साथीहरुलाई न्यायसंगत ढंगले समेटेर लैजाने मेरो उद्देश्य हो त्यसैले सबैको सहयोग पाएको छु ।’

खनालको नेतृत्वमा रहेको साझा समाबेशी प्यानलबाट निम्न ब्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका छन ।:

१) अध्यक्ष : बिष्णु प्रसाद खनाल
२) वरिष्ठ उपाध्यक्ष : तेजप्रसाद अधिकारी
३) उपाध्यक्ष (उधोग) : कमल खड्का
४) उपाध्यक्ष (बाणिज्य) : बलराम देबकोटा
५) महासचिव : नवीन खड्का
६) उपमहासचिव : प्रशुराम लामिछाने
७) कोषाध्यक्ष : खेम प्रसाद घिमिरे
८) सह कोषाध्यक्ष : भुपेन्द प्रसाद काफ्ले
९) सदस्य : अर्जुन प्रसाद सुबेदी
१०) सदस्य : ओपेन्द नाथ योगी
११) सदस्य : ओम प्रकाश चापागाईं
१२) सदस्य : गंगाराम भण्डारी
१३) सदस्य : गोपाल प्रसाद अधिकारी
१४) सदस्य : जगत रामदास
१५) सदस्य : पुन्य प्रसाद तिवारी
१६) सदस्य : बिकाश बुढाथोकी
१७) सदस्य : बेदराज घिमिरे
१८) सदस्य : महेश खतिवडा
१९) सदस्य (महिला) : अम्बिका आचार्य
२०) सदस्य (महिला) : कमला खड्का
२१) सदस्य (एसोसिएट) : पुष्प राज न्यौपाने
२२) सदस्य (बस्तुगत) : टंक प्रसाद बस्याल

  • १८ फाल्गुन २०७७, मंगलवार १६:०४ प्रकाशित
  • Nabintech