६ जेष्ठ २०८१, आईतवार
रानीमहललाई ‘हनिमुन स्पट’ बनाउन प्रस्ताव
  • काँचुली खबर

नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।

तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल ९हान० आफैं पनि यो प्रस्तावको पक्षमा छैन ।

पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरवार हो । यसको निर्माण विसं १९५४ सालमा भएको थियो । यो महल जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाउन लगाएका थिए ।

सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । रानीमहलमा आकर्षक चार तले भवन रहेको छ । महलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहितका संरचनाहरू छन् ।

पर्यटन बोर्ड भने एतिहासिक संरचनालाई होटलमा परिणत गर्न अग्रसर छ ।

रानीमहललाई हेरिटेज होटेलका रुपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्राउन सकिने बोर्डको अवधारणा छ । बोर्डले आफ्नो अवधारणासहितको प्रस्ताव स्थानीय सरकारदेखि व्यवसायीसम्म प्रस्तुत गरिसकेको छ ।

के छ प्रस्ताव ?

रानीमहल अहिले अपनत्व लिने निकायको अभावमा जीर्ण बन्दै गएको छ । एकातर्फ नदीको कटानबाट बचाउने गरी संरचना बनाउन सकिएको छैन । अर्कोतर्फ दरवारका संरचनाहरुसमेत जीर्ण बनेका छन् । यसअवस्थामा रानीमहलको बाहिरी र भित्री ऐतिहासिक स्वरुपलाई नबिगारी मर्मत गर्न सकिने बोर्डको प्रस्ताव छ ।

त्यसक्रममा दरवारभित्र रहेका कोठालाई मौलिक शैलीका कोठामा डिजाइन गर्न सकिने बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा। धनन्जय रेग्मीले बताए । ‘संरचना नबिगारी भित्र होटेलको स्वरुप दिन सकिन्छ,’ उनले भने । ती होटेलका कोठालाई सामान्य होटेलको तुलनामा महंगो दरमा बिक्रि गर्न सकिने बोर्डको अवधारणा छ ।

यसको जिम्मा भने स्वयम् स्थानीय सरकार र पर्यटन व्यवसायीलाई दिइने छ । यसबाट आम्दानी र अपनत्व दुबै स्थानीय तहमा हुनेछ । होटेलबाट प्राप्त भएको आम्दानीको निश्चित अंश भने दरबारको संरक्षण र प्रवर्द्धनमा लगाउने गरी यो अवधारणा ल्याएको उनले जानकारी दिए ।

अहिले स्थानीय तहसँग बजेट नहुने र केन्द्रले वास्ता नगर्दा दरवार संरक्षणको अभावमा जीर्ण बनेको छ ।


 

वाटर एक्टिभिटी र बिच टूरिजमको योजना

 

बोर्डको अवधारणा अनुसार रानीमहलमा हेरिटेज होटेल रहने छ भने त्यसअगाडी र आसपास रहेको कालीगण्डकी नदीमा भने पानीमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने छ ।

जहाँ र्‍याफ्टिङदेखि स्वीमिङसम्मका गतिविधि हुनेछन् । फराकिलो नदी किनारलाई विकास गरी व्यवस्थित गरिनेछ । रानीमहलमा पर्यटक आकषिर्त गर्न सक्दा यसले पाल्पाका अन्य आकर्षक गन्तब्यलाई समेत पर्यटकीय उत्पादनसँग जोड्न सकिने बोर्डको अवधारणा छ ।

बोर्डका अनुसार हनिमुन टूरमा रानीमहल जाने पर्यटकले यस आसपासमा रहेका भैरव मन्दिर, तानसेन बजारसम्म घुमफिर गर्न सक्नेछन् ।

भारतीय पर्यटक यहाँ पुग्न लुम्बिनी हुँदै जानुपर्ने भएकाले लुम्बिनी र रानीमहललाई जोडेर समेत प्याकेज निर्माणको सम्भावना रहेको बोर्डले जनाएको छ ।

 

३० करोड लगानीको प्रस्ताव

 

बोर्डले पहिलो चरणमा हेरिटेज होटेल, वाटर एक्टिभिटी र नदी किनारमा संरचना बनाउने ३० करोड रुपैयाँ लगानीको प्रस्ताव समेत गरेको छ । यस्तो लगानी ३ वर्षको अवधिमा गर्न सकिने र यो क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने बोर्डको अवधारणा छ ।

दरवारको संरक्षण पनि नगर्ने र विकास तथा प्रवर्द्धन पनि नगर्ने हो भने त्यसको ऐतिहासिकता पनि हराउने भन्दै धेरै भन्दा धरै पर्यटकलाई देखाएरै यस्ता संरचनालाई लामो समय बचाउन सकिने सीईओ रेग्मी बताउँछन् ।

बोर्डको यस्तो प्रस्तावलाई सरकारले अनुमति दिएमा भने पर्यटन व्यवसायी लगानीका लागि तयार रहेको सीइओ डा। रेग्मी बताउँछन् ।

‘यो प्रस्तावमा स्थानीय सरकारदेखि व्यवसायीसम्म सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘यो ऐतिहासिक संरचनाको संरक्षण र विकासको मोडल हो ।’ यसमध्ये रानीमहलको अगाडी कालीनदी किनारामा पर्यटकीय संरचना बनाउने र पानीजन्ज गतिविधि संचालन गर्ने सम्बन्धमा भने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम नै अगाडी बढेको उनले जानकारी दिए ।

अनलाईनखबरबाट

  • ९ फाल्गुन २०७७, आईतवार १६:४० प्रकाशित
  • Nabintech