२७ बैशाख २०८१, बिहीबार
स्कुले छात्रालाई चक्कु देखाएर बलात्कार प्रयास
  • काँचुली खबर

बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

‘केही बोलिस् भने तँलाई मारिदिन्छु । चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो । बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने, ‘मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ । घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो । डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछिअचेत अवस्थामा मर्‍यो भनेर केटा भागेको छ ।’

घटना १६ माघ दिउँसोको हो । तीन दिन अघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक इन्द्रदेव गिरीले पीडित छात्राकी आमाले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको बताए ।

अभियुक्त फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भेरी अस्पतालमा उपचार गरेर अहिले एउटा गैरसरकारी संस्थाको सेल्टरमा राखिएको छ ।

अन्नपूर्णपोष्टबाट

  • २७ माघ २०७७, मंगलवार २१:४६ प्रकाशित
  • Nabintech