२ जेष्ठ २०८१, बुधबार
धराबासिको ‘रेडस्क्वायर’
  • काँचुली खबर

दामोदर पौडेल सरले एउटा भेटमा टल्सटयको कथा सुनाउनु भएको थियो । टल्सटयको मृत्युको दुखद कथा सुनेर म छ्टपटिएको थिएँ । वहाँले रुसि महाकबी पुस्किन अनि विश्वकै पहिलो अन्तरिक्षयात्री युरि गागरिनको जिन्दगिको अन्त्यको दु:खद किस्सा सुनाउदा म रनाहा परेको थिएँ । यी प्रसँगहरु कहाँ पढ्नु भएको सर ? मैले चिया पिउँदै सोधेको थिएँ ।

कृष्ण धरावासिको नियात्रा कृति रेड स्क्वायरमा समेटिएका रहेछन यी सबै कुरा । रेड स्क्वायर रुसको मस्कोमा रहेको ऐतिहासिक महत्व बोकेको स्थान हो, जहाँ रुसि महान राजनितीज्ञ लेनिनको शब राखिएको छ । पक्कै पनि धराबासिले रुस यात्राको प्रसङ्ग समेटेका होलान, मैले मनमनै अनुमान गरेँ । हामिले चिया पिईसकेपछी म वहाँसँग छुट्टीएर साईकिलमै घर आएँ ।

म पनि एउटा नियात्रा कृतिको तयारिमा छु । मैले कृतिको नाम ‘बलैईगाउँ देखि बाकुसम्म’ सोचिसकेको छु । बलैईगाउँ मेरो बाल्यकाल हुर्किएको ककौरादेखी १०/१२ किलोमीटर दक्षिणमा अवस्थित सिमावर्ती भारतिय बजार हो । यो त्यो बेलाको कुरा हो जतिबेला ककौरा लगायतका गाउँ बस्तिका लागि नुन, तेल, फलाम, चिनी, भेलि लगायतका घरायसी सामान किनमेल गर्ने एक मात्र केन्द्र त्यही बलैईगाउँ थियो । जिन्दगिमा पहिलोपटक त्यतिका पर आमासँग हाट गएको क्षण अहिले पनि मेरो मनमस्तिष्कमा तरोताजा छ । मैले ककौराबाट स्कुले पढाइ सकेर बाँकेको कोहलपुर आएँ र यतै बसेँ । तीन दशक पूरा भैईसक्यो कोहलपुरको बसाई । अध्ययन पूरा गरेपछी यतै कारोबार थालियो र अहिले पनि कारोबार मै छु म । कोहलपुर बसाईमै मैले भारत लगाएत केही देशहरुको यात्रा गर्ने मौका पाएँ । त्यसमध्येको एउटा देश अजरबैजानको राजधानी बाकु पनि सामेल थियो । मैले यात्रा गरेको छिमेकी देश भारतको एउटा सामान्य गाउँ बलैइगाउँ र पछिल्लो पटक गएको पश्चिम एशियाको बिल्कुलै बिरानो देश अजरबैजान बाकुलाई एउटा बिम्बको रुपमा समेटेर पुस्तकको नाम ‘बलैईगाउँ देखि बाकु सम्म’ राख्ने सोच बनाएको हुँ ।
नियात्रा लेख्न नियात्राका पुस्तकहरु पढ्नु पर्छ । झल्याँस्स मेरो मनमा रेडस्क्वाएर झुल्कियो । हिजो सत्तरी वर्षसम्म अजरबैजान सोभियत गणराज्यमा समेटियो । जब सोभियत सँघ बिघटन भयो अनि अजरबैजान पनि स्वतन्त्र भयो । सोभियत संघ र अजरबैजान कुनै समयका एउटै हिस्सा, केही न केही छनक त मिल्छ नि । फेरि धराबासी मलाई मन पर्ने लेखक हुन । मैले उनको शरणार्थी, आधाबाटो, झोला, टुँडाल, राधा, कागजको मान्छे जस्ता अनेक पुस्तकहरु पढिसकेको छु । मैले थाहा पाएसम्म उनी प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने लेखक हुन । कुनै बेला विश्व हल्लाएको एउटा साम्यबादी मुलुकलाई उनले कसरी हेरे हुन भन्ने जिज्ञासा त हुने नै भयो । त्यसभन्दा पनि बढी मैले पुस्किन, गोर्की, लेरेमेन्तोभ, टल्सटायको जिवनी पढ्ने उद्धेश्यले अर्को बिहान दामोदर सरलाई फेरि भेटेँ र हामिले चिया पिउँदै रसियाली साहित्यको बारेमा कुराकानी गर्यौ । धराबासिको रेडस्क्वायर पनि साथमै लिएर आएँ ।
आवरणमा चर्चको तस्बिर रहेछ जुन मस्कोमा अवस्थित छ । पुस्तक पकेटमा अट्ने आकारको रहेछ । धेरै ठूलो पनि होईन । ध्यान दिएर पढ्ने हो भने एकरातमै पढिसिध्याउन सकिने खालको । पुस्तक पैरबी प्रकाशनले निकालेको रहेछ । धराबासिका प्रायः पुस्तकहरु पैरबी बुक हाउसबाटै निक्लिएका छन । सरसरती पुस्तक नियालेँ । निकै मन पर्यो पुस्तकको आकारप्रकार, रुप साजसज्जा । रुसमा कारोबार गर्ने नेपाली उद्यमी जिवा लामिछानेको आमन्त्रणमा उनी रुस पुगेका रहेछन । हप्तादिनको यात्रालाई उनले पुस्तकको आकार दिन भ्याएका रहेछन । नेपाली साहित्यमा यस्तै छोटा निबन्धहरु लेख्छन कवि तथा नियात्राकार भीष्म उप्रेती । यस्ता किताब सबैको आकर्षणमा पर्छ भनिन्छ । किताब राम्रा भएपछी सानो न ठूलो, पाठकको माया नपाउने कुरै हुँदैन ।
कृष्ण धराबासी मलाई मन पर्छन । उनी जटिल कुराहरु लेख्दैनन् । सामान्य कुराकानी बिच पनि उनी आफुलाई चाहिने गुदि निकाल्ने सामर्थ्य राख्छन । उनको लेखनी घर, समाज, अफिस भित्रैका हुन्छन । हेर्दा सामान्य लाग्छ तर अकाट्य तर्क र भावहरुले गर्दा उनको शैली सबैलाई ग्राह्य हुन्छ । सबैले स्विकारेका लेखक हुन उनी । उनको लेखनिमा बनेको झोला फिल्म नेपाली दर्शकबाट निकै रुचाईएको थियो । उनले राधालाई केन्द्रमा राखेर लेखिएको राधा उपन्यासलाई मदन पुरस्कार प्राप्त भयो । यी दुई कृतिले नै उनको चर्चा नेपाली जन मानसमा गहिरोसँग भिजेको हो ।
रेडस्क्वायरका पाना पल्टाउने बित्तिकै बिमानस्थलमा अल्मलिएका धराबासी भेटिए । कतै उनिसँगै छटपटिएँ, कतै उनिसँगै निदाएँ । रसियामा उनिसँगै जिवालामिछानेको घरमा प्रबेश गरेँ । सफल नियात्रा कृति त्यही हो जुन पढ्दा पाठकले आफुलाइ समेत यात्रामा सामेल भएको महसुस गर्दछ । यात्रा जहिले पनि हतारमा तय हुन्छन । अनि हतारमै हतारिँदै निक्लनु पर्ने हुन्छ । अन्तराष्ट्रिय यात्रामा हवाई टिकट मात्र होईन, पासपोर्टमा सम्बन्धित देशको भिसा स्वीकृति देखि डलर एक्सचेन्जसम्मका काम हुन्छन । यात्राका लागि आवश्यक लत्ताकपडा अनि भाषागत ज्ञान झनै महत्वपूर्ण हुन्छ । धराबासी अमेरिकाबाट सिधै रसिया जान्छन । कुनै समय शितयुद्वकालका दुई प्रतिस्पर्धी राष्ट्र ।यात्राको चाँजोपाँजो मिलाएका हुन्छन जिवा लामिछानेले । निकै सकसका बिच उनी रुस पुग्छन र जिवा लामिछानेको कोठामा सकुशल पुगेपछी ढुक्क हुन्छन र नियात्रा पढिरहेको एउटा पाठक म पनि ढुक्क हुन्छु कमसेकम अब धराबासिले थप दु:ख र झन्झट बेहोर्नु पर्ने छैनन् ।
मस्कोको पहिलो सुर्योदय हेर्न पाउदैनन् धराबासी । कारण यात्राको धङधङी र धपेडिले उनी अबेरसम्म सुत्छन । जब बिउझन्छन अनि भेटघाट हुन्छ विभिन्न ब्यक्तीसँग । उनी भिक्ट्री पार्क पुग्छन । द्वितीय विश्वयुद्वमा मारिएका रुसि शैनिकहरुको स्मृतिमा बनेको स्मृती पार्क हो भिक्ट्री पार्क । द्वितीय विश्वयुद्वमा सबैभन्दा बढी जनधनको क्षति ब्यहोर्ने मुलुक रुस हो । हिट्लरले स्टालिनलाई फोन गरेर हाम्रा शैनिक भोलि बिहानको ब्रेकफास्ट मस्कोमा गर्छन भनेको कतै पढेको थिएँ । सोच्छु त्यो बेलामा रसिया जर्मनको कब्जामा गएको भए विश्व राजनिती कता मोडिन्थ्यो होला । त्यसपछि धराबासी थुप्रै चर्च घुम्छन । नदि माथिको बनेको पुलको रेलिङ्गमा युवा युवतिले आफ्नो प्रेम मजबुत बनाउन लगाएका तालाहरु नियाल्न पुग्दछन । मस्को सहरको बिचोबिछ बगेको नदि नियाल्दै काठमाडौको बाग्मती सम्झिन्छन । बाग्मतिमा बगेको फोहोरको लेदो सम्झेर उनको अनुहार खुम्चिन्छ । रसियामा उनले धेरै व्यापारी राजदुत र बिशिस्ट ब्यक्तिहरुसँग भेट्छन । लेनिनको विशाल शालिक नियाल्छन र छक्क पर्छन । नेपालमा प्रायः शालिकहरु साना र फुच्चे हुन्छन । युरि गागरिनको शालिकमा पुग्छन । एउटा किशोर गागरिन जो पहिलोपटक अन्ततिक्षको यात्रा गर्दछ र मात्र ३० पर्षको उमेरमा एउटा दुर्घटनामा मारिन्छ । दुर्घटना भबितब्य थियो या नियोजित प्रस्ट छैन तर गागरिनको बढ्दो ख्यातिकै कारण उनको नियोजित हत्या हुन सक्छ भनी प्रश्न खडा छ अझै ।

तत्कालिन सोभियत सँघले रादुगा र प्रगती प्रकाशन मस्कोबाट रुसि साहित्यका अनेक किताबहरुलाई अनेक भाषामा उल्था गरेर विश्वब्यापी बितरण गरेको थियो । धराबासी पनि तिनै अनुदित कृति पढेर रुसि ईतिहास र सँस्कृती बुझेका हुन । तर प्रत्यक्ष रुपमा रुस पुग्दा भाषा कठिनाईकै कारण जिवा लामिछानेका गाडी चालकसँग सामान्य सम्बाद समेत गर्न नसक्दा चुकचुकाउछन ।

धराबासिलाई गाँस बासको न्यानो आतिथ्य मात्रै नभएर प्रत्यक्ष आफै यात्रामा सामेल भएर जिवा लामिछानेले रुसका अनेक आयामहरुलाई यति सरल र सहज रुपमा अर्थ्याउदै प्रस्ट्याउछन । म छक्क पर्छु, धराबासी नपर्ने त कुरै भएन । म सम्झिन्छु कुनै समय जिवा लामिछानेका पितासँग मैले एउटा सिँगो दिन बिताएको थिएँ । मेरो कर्म क्षेत्र बाँकेको कोहलपुर, जिवा लामिछानेको घर चितवन । त्यतिबेला जिवा लामिछानेहरु जर्मनीबाट सामान किनेर रुसमा बेच्ने कर्ममा हुनुहुन्थ्यो । र वहाँका पिता पजेरो जिपमा आउनु भएको थियो । पजेरो जिपको बारेमा पनि मदन भन्डारिको मृत्यु पछि नै यो महँगो जापानी जिप हो भन्ने कुरा पहिलोपटक थाहा पाएको थिएँ । पजेरो जिपबाट ओर्लिएका ब्यक्ती जिवाको पिता हुनुहुँदो रहेछ खेमराज लामिछाने । मेरो कर्मक्षेत्रको सिधा अगाडि राष्ट्रिय बाणिज्य बैँक थियो र मैले वहाँलाई बैँक खाता खोल्ने देखि रकम जम्मा गर्नेसम्मका काममा सघाएको थिएँ । हामिले सँगै बसेर चिया पिएका थियौ र वहाँले आफ्ना छोराहरु रुसमा रहेको र उतै कारोबार गर्ने गरेको कुरा सुनाउनु भएको थियो । लगत्तै वहाँले मेरो घर रहेको ककौरामा आफन्तहरुले कर्म गरेर आजिबिका चलाउन सकुन भनेर सात बिघाहा जमिन र एउटा ट्रेक्टर किनिदिएको पनि थाहा पाएको हुँ । आज जिवाजिको पिता बितेको पनि सात बर्ष नाघिसकेको छ र वहाँको स्मृतिमा जिवाजिले गर्नुभएका परोपकारका कामहरुको बारेमा म कोहलपुर बसेर सुनिरहेको हुन्छु । स्वयं जिवा लामिछानेको नियात्रा कृति देशदेशावर र सरसरती सँसार पनि पढिसकेको छु । देशकै सफल उद्यमी भएर पनि जिवामा भएको साहित्य प्रतिको गहिरो अभिरुचि देखेर धराबासी छक्क छन र म पनि अचम्मित छु धराबासी जस्तै ।

लियो टल्सटायको जिवनका अनेक आयामहरु धरावासिकै रेडस्क्वायर पढेपछी थाहा भयो । टल्सटयले ३२ वर्षको उमेरमा सोफिया आन्द्रेईभ्नासँग बिवाह गरे । उनी त्यस बेलाकी चर्चित सुन्दरी थिईन । उनले टल्सटायका लागि दर्जनौ सन्तान जन्माईदिईन । उनले आफू अपरिपक्व भए पनि टल्सटायको युद्व र शान्ती उपन्यासलाई सात पटकसम्म साफी गरेकी थिईन । टल्सटायलाई बनाउन उनको योगदान अतुलनिय रह्यो भनिन्छ । टल्सटाय आफू भने अधिक परस्त्रीगामी, जुवाडे र सन्काहा अनि जिद्वी स्वभावका थिए । ८२ वर्षको उमेरमा उनले श्रीमतीसँगको झगडामा घर त्यागेर हिँडे । बाहिर हिमपात भैईरहेको थियो, उनलाई अधिक चिसोले गर्दा निमोनिया भैईसकेको रहेछ र उनी वचन सकेनन् । उनी मरेको पनि ११० वर्ष पुगिसक्यो ।

धराबासी मृत्यु चिन्तन गर्दै भन्छन, ‘प्रत्येक मान्छे मर्छ मरेको देखिरहन्छ । मृत्युशोकमा सामेल पनि भैईरहेको हुन्छ तर म पनि यसैगरी मरिहाल्छु जस्तो कहिल्यै लाग्दैन । प्रत्येक क्षणहरु जिवनसँग अत्यन्त घनिष्ठ छन तर ती हरेक क्षण नै जिवनका अन्तिम पनि हुन सक्छन भन्ने लाग्दै लाग्दै लाग्दैन ।’

धराबासी थुप्रै ठाउँमा पुगेका छन । रेड स्क्वायरमा धराबासी भावुक बनेका छन । उनी चिहानहरु नियाल्दै लेख्छन, ‘यी चिहानहरु कम्युनिस्ट पार्टिका ठुल्ठुला नेताका हुन । पार्टिका पोलिटब्युरो सदस्यहरु लगायत त्यस बेलाका प्रतिष्ठित मानिएका ब्यक्तिहरुलाई यहाँ गाडिएको छ । यो रेडक्वायर र क्रेमलिनको परिसरमा चिहान बनिनु भनेको ठूलो सम्मानको कुरो मानिन्थ्यो ।’ निकै रोचक र जानकारी मुलक छ धराबासिको नियात्रा । सोभियत सँघको अवसान पछि रुसमा देखिएको आर्थिक सँकट र अनिश्चयको माहोललाई धराबासिले जिवा लामिछानेको दृष्टिकोणबाट व्याख्या गरेका छन । उनी चेखबको शालिक मुनि तस्बिर खिच्छन । लेनिनको शबलाई नियालेर हेर्छन । रुसि महाकबिलाई चर्चित बनाउने काम लेरमेन्तोभले गरे जसरी भानुभक्तलाई मोतिराम भट्टले अमर बनाए । सँयोगको कुरा पुस्किन र लेरमेन्तोभ दुबै जना तत्कालिन रुसि समाजमा ब्याप्त ड्युअल सँस्कृतिको सिकार हुन्छन । कुरा के भने नि कसैको श्रीमती अरु कसैसँग गईन र बिवाद चर्कियो भने ड्युल सँस्कृती अनुसार पूर्व पति र नयाँ पतिलाई हातमा पिस्तोल दिएर बिपरित दिशा तिर उभिने अनि सिठ्ठी बजेपछी एकले अर्कोलाई गोलि हानिदो रहेछ । पुस्किन र लेरमेन्तोभ दुबै जना गोलि लागेर मारिएका रहेछन । कस्तो पिडादायी सँस्कृती । मन अमिलो भयो । सँसारमा कस्ता कस्ता चलन हुँदा रहेछन ।
धराबासी प्रेमको मामिलामा गम्भीर बन्छन र भन्छन, ‘जुन दिन जसको जिवनमा प्रेम सफल हुन्छ, त्यही दिन प्रेमको पनि अन्त्य हुन्छ । अनि जहाँबाट प्रेमको अन्त्य हुन्छ, त्यहीँबाट गृहस्थिको प्रारम्भ हुन्छ ।’ कस्तो गहन विश्लेषण ।
हप्ता दिनको यात्रामै पनि धराबासी पिकनिकको आनन्द लिन भ्याउछन । धराबासिलाई अनेक कोणबाट मानिसले चिन्दछन । पछिल्लो समय नेपाली साहित्य पनि अनलाईन सँस्करणमा जान थालेपछी यसको लाभ सबैलाई भएको छ । भनिन्छ विश्वभर नेपाली भाषिहरुको उपस्थिति पाँच करोड भन्दा बढी छ । नेपाली साहित्यको पहुँच कसरी बढाउन सकिन्छ भन्ने चिन्तन गरिरहन्छन धराबासी । त्यतिमात्र होईन नेपाली साहित्यलाई अनुबाद गरेर अन्तराष्ट्रिय क्षेत्रमा पस्किनु पर्ने आजको प्रमुख आवश्यकता तिर पनि ईँगित गर्दछन ।

मस्कोको अन्तिम रात उनी फेरि छटपटिन्छन । भन्छन यात्रा रमाईलो पनि लाग्छ र यात्रामा प्लेन छुट्ने हो कि केही गडबड भैईहाल्ने पो हो कि भन्ने चिन्ताले ब्याकुल पनि हुन्छन । अर्को दिन जिवा लामिछाने आफै एयरपोर्टमा छोड्न जान्छन । अनेक उल्झन बिच धराबासी अमेरिकाको लागि विमान चढ्छन र सकुशल अमेरिका पुग्छन ।

यता अमर न्यौपाने र जिवा लामिछाने काठमाडौ फर्किन्छन । काठमाडौ झरेकै पल जिवाजिको पिताको देहान्त हुन्छ । धराबासिले जिवाजिलाई शोक सन्देश पठाउछन र नियात्रा सकिन्छ ।
पुस्तक पढिसिध्याएपछी पनि मन अघाउदैन । रेड स्क्वायरले मनमा अनेक छट्पटीहरु उमार्छ । मैले थाहै नपाएका कैयौ नयाँ कुराहरुको बारेमा पनि जानकारी दिन्छ र नियात्रा पढदा पाईने तृप्तता पनि दिन्छ । एक हप्ते यात्रा न हो । कति मान्छेहरु यात्रा गरिरहन्छन । तर उनिहरुसँग लेख्ने क्षमता हुँदैन । जब एउटा सर्जक यात्रा गर्छ अनि कति राम्रो कृति जन्मिदो रहेछ ।
म आफै पनि नियात्रा सँग्रह प्रकाशित गर्ने ध्याउन्नमा छु । यात्रा सँस्मरण त लेख्ने हो तर त्यसलाई कतिसम्म नियात्रामा ढाल्न सकिन्छ त्यो महत्वपूर्ण हुँदो रहेछ । धराबासिको नियात्राले गहकिलो पाठ पढाएको महसुस गरेको छु ।
 

सागर गैरे
कोहलपुर, बाँके
(गैरे काँचुलीखबरका नियमित स्तम्भकार हुन ।)

  • २३ माघ २०७७, शुक्रबार १४:२३ प्रकाशित
  • Nabintech