११ बैशाख २०८१, मंगलवार
म्याद गुज्रिएका ३ हजार क्यान जुस बरामद
  • काँचुली खबर

पर्सा ।  पर्सा प्रहरीले वीरगंज महानगरपालिका–५ मा रहेको कौशल कुमार श्रीवास्तवको गोदामबाट म्याद सकिएको जुसमा पुनः म्याद थप्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–११ निवासी लक्ष्मी साह कानू र ओमबहादुर कार्की रहेका छन् । म्याद नाघेकाे विदेशी ‘डलर’ नामक जुसमा पुनः म्याद थपेर बजारमा बिक्री गरेको आरोपमा प्रहरीले छापामार्दा गोदामबाट ३ हजार पिस जुस बरामद गरेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् । 

सौरभ सेल्स इन्टरनेशनलको नाममा दर्ता रहेको सो कम्पनीले विभिन्न किसिमको नक्कली एलइडी बल्ब बनाउने सामग्री समेत बरामद गरेको छ । प्रहरीले गोदामबाट आन्तरिक राजस्व कार्यालय, कर अधिकृत, रजिष्टार लगायत विभिन्न सरकारी कार्यालयको छापको स्टाम्प समेत बरामद गरेको छ । बुधवार बिहान गोप्य सूचनाको आधारमा प्रहरीले श्रीवास्तवको गोदाममा छापामारी मार्दा घरधनी फरार रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका मध्ये कार्की श्रीवास्तवको ससुरा पर्ने प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार श्रीवास्तवसँग केही व्यक्तिहरुले विगत लामो समयदेखि रकम असूल्दै आएको र रकम दिन आनाकानी गरेपछि प्रहरी लगाई छापामारी गर्न लगाएको बुझिएको छ ।

  • ६ असार २०७५, बुधबार १२:४४ प्रकाशित
  • Nabintech