६ जेष्ठ २०८१, आईतवार
दुईदिनदेखी नेपालगन्ज विमानस्थल बन्द
  • काँचुली खबर

बुधबार र बिहिबार नेपालगन्ज विमानस्थलको उडान पूर्ण रुपमा प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण पछिललो दुईदिनदेखी विमानस्थल बन्द छ । आवश्यक भिजिबिलिटी नपुग्दा बिहीबार पनि सो विमानस्थलबाट कुनै पनि हवाई उडान नभएको विमानस्थल टावरले जनाएको छ ।

विमानस्थल सुचारु गर्नका लागि कम्तीमा पनि १६ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा बिहीबार मध्यान्हसम्म नौसय मिटर मात्रै भिजिबिलिटी रहेकोले सबै उडानहरु रद्द गरिएको बाँके विमानस्थल कार्यालयका उपप्रबन्धक बालकुमार सिंहले जानकारी दिए ।

बुधवार पनि भिजिबिलिटी नपुग्दा दिनभरी नेपालगञ्जबाट कुनै पनि उडान हुन सकेको थिएन । बुधवारका सबै उडान रद्द गरिएका थिए । दुईदिनदेखी कुनै उडान नहुँदा टिकट लिएर प्रतीक्षामा रहेका सयौं यात्रु नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।

अति आवश्यक कामले आ-आफ्नो गन्तव्यमा जाने तयारीमा रहेका सर्वसाधारणलाई उडान नहुँदा समस्या भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

सो कार्यालयका अनुसार बुधबार काठमाडौंका सातसहित पहाडी जिल्लाका गरेर ३० भन्दा बढी उडान रद्द गरिएको थियो । नेपालगञ्जको तापक्रममा भने बुधबार भन्दा बिहीबार केही सुधार भएको जल तथा मौसम विभागको राँझास्थित कार्यालयले जनाएको छ ।

बुधबार नेपालगञ्जको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेकोमा बिहीबार न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस रहेको सो कार्यालयले जनाएको छ ।

  • ८ माघ २०७७, बिहीबार १८:२३ प्रकाशित
  • Nabintech