४ जेष्ठ २०८१, शुक्रबार
अमेरिकामा दङ्गा : चार जनाको मृत्यु, कर्फ्यू जारी
  • काँचुली खबर

अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडपछि अमेरिकामा दंगा बढेको छ ।

सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा सहभागी भइरहेका छन् ।

निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रकृया अवरूद्ध भएको थियो ।

प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको ‘मेडिकल आपत्‌कालीन अवस्था’ कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाशिङ्टन डीसीमा कर्प्यू आदेश जारी गरिएको छ र सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन् ।

कर्फ्यू र पक्राउ

हालसम्म कम्तीमा पनि ५२ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती मध्ये ४७ जना कर्फ्यू उलङ्घन गर्नेहरू रहेको बताइएको छ ।

झडप

राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी संघीय संसद् भवनमा जबर्जस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नु परेको थियो ।

संसदीय प्रकृया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसद्हरूले आफ्नो ठाउँका निर्वाचन मत परिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्ना उग्र समर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन् तर उनले ‘अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएको’ भन्ने उनको अप्रमाणित दाबी दोहोर्याएका थिए ।

  • २३ पुष २०७७, बिहीबार १३:५८ प्रकाशित
  • Nabintech