१५ चैत्र २०८०, बिहीबार
नेपाल-भारत नागरिक उड्डयन सहमति
  • काँचुली खबर

भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्ने भएको छ । भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको आकाश खुला गरेको छ । महेन्द्रनगर-नयाँ दिल्ली र जनकपुर-पटनाका दुई रुट पनि थप्ने सहमति गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकहरु सम्झौतापत्रमा हस्ताक्षर गर्दै ।

महेन्द्रनगर र जनकपुर रुट भने ‘क्रसबोर्डर उडान’ का लागि मात्र हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकको बिहीबारदेखि राजधानीमा भएको दुईदिने वार्तामा अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउने सहमति भएको हो ।
यसअघि काठमाडौंबाट उड्ने ठूला विमान दक्षिण, पश्चिम र पूर्वतर्फ रहेका मुलुक जाँदा महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगर नाकाबाट भारतीय हवाई रुट भएर निस्किन पाउँथे । यी रुट एकतर्फी मात्रै भएकाले ठूला विमान नेपाल छिर्न भने पाउँदैनथे । यी रुटलाई दुईतर्फी बनाउन भारत सहमत भएको हो ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार अब विराटनगर र जनकपुरबाट ठूला जेट विमान प्रवेश गर्न सक्नेछन् तर महेन्द्रनगरबाट क्षेत्रीय उडान भर्ने मझौला विमानले मात्रै प्रवेश गर्न पाउने छन् । ‘दिल्ली हुँदै आउने ठूला विमानलाई महेन्द्रनगरको आकाश भएर प्रवेश गराउन प्रस्ताव गरेका थियौं तर भारतीय पक्षले अहिले साना विमानका लागि मात्रै सहमति जनायो,’ उपमहानिर्देशक पोखरेलले भने ।

यो सहमतिपछि अब नेपालगन्ज पश्चिमका धनगढी र सुर्खेतबाट भारतको दिल्लीलगायत क्षेत्रीय सहरको उडानका लागि बाटो खुला भएको छ । यसअघि काठमाडौंबाट महेन्द्रनगरको आकाश हुँदै दिल्ली तथा मध्यपूर्वी र पश्चिमी मुलुक जाने मात्रै हवाई बाटो थियो । लिमा-६२६ नाम दिइएको यो बाटो दुईतर्फी थिएन । ठूला विमानको दाँजोमा कम उचाइमा उडान गर्ने वायुयानले अब महेन्द्रनगरबाट पश्चिमी मुलुकका क्षेत्रीय सहरमा उडान भर्न सक्ने छन् ।

‘पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाडौं-महेन्द्रनगर-दिल्ली हवाई रुटलाई दुईतर्फी बनाइने’ नागरिक उड्डयन प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा लेखिएको छ, ‘दुवै पक्षले उडान सुरक्षा मूल्यांकन त्यसका आधारमा लागू गर्ने ।’विराटनगर र जनकपुरबाट प्रवेश हुने विन्दु दुईतर्फी हुने भएको छ । ‘दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकनका आधारमा उक्त रुटबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने,’ प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वी सहरबाट पनि भारतीय प्रान्त तथा क्षेत्रीय सहरमा उडानका लागि बाटो खुलेको छ । भैरहवास्थित गौतमबुद्ध, पोखरा र निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी उचाइमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानले पश्चिममा नेपालगन्ज र महेन्द्रनगरबाट प्रवेश गर्न पाउने सहमति भएको छ ।

यसबारे भारतीय पक्षले सन् २०१८ सेप्टेम्बरभित्र विस्तृत प्राविधिक मूल्यांकन कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । यो कार्य सम्पन्न भएपछि नयाँ विमानस्थलको हवाई बाटो खुल्नेछ । अहिले भारत हुँदै नेपाल आउने विदेशी एयरलाइन्सले नेपाल प्रवेश गर्नुपरे भारतसँग जोडिएका दुइटा मात्रै विन्दु छन् । कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै प्रवेश गर्छन् । भुटानबाट आउने विमान तुम्लिङटारको आकाशबाट छिर्छन् । उत्तरतर्फ ल्हासाबाट आउने चिनियाँ विमानका लागि एउटा रुट छ । नोनिम नाम दिइएको संखुवासभातर्फको त्यो दुईतर्फी रुट हो ।

ल्हासाबाट आउने र जाने विमानले यो रुट प्रयोग गर्छन् ।काठमाडौंबाट उडेका विमानले भारततर्फ जानुपरे इलाम हुँदै मेची रुट र बंगलादेशलगायत पूर्वी मुलुक जानुपरे विराटनगर रुट प्रयोग गर्नेछन् । त्यसैगरी जनकपुर हुँदै कोलकाता र पटना, सिमरा हुँदै वनारस, भैरहवा हुँदै लखनउ, महेन्द्रनगर हुँदै दिल्ली र त्यसभन्दा परका मुलुक जान्छन् । दुई मुलुकका प्राविधिकले गरेको सम्झौता कार्यान्वयन हुन कम्तीमा एक वर्ष लाग्ने जानकारी उपमहानिर्देशक पोखरेलले दिए ।

 

स्रोत : कान्तीपुर

  • ३ असार २०७५, आईतवार ११:४४ प्रकाशित
  • Nabintech