१४ बैशाख २०८१, शुक्रबार
बाँकेकै सर्वोत्कृष्ट सामुदायीक विद्यालय बन्न सफल धम्बोझी मावि
  • काँचुली खबर

विद्यालयका प्रधानाध्यापकको कुशल ब्यबस्थापन, शिक्षक तथा अभिभावकको सामुहिक परिश्रमकै कारण धम्बोझी माध्यामिक बिद्यालय बाँके जिल्लाकै सर्वोत्कृष्ट सामुदायीक बिद्यालय बन्न सफल भएको सरोकारवालाहरुको भनाई छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले विद्यार्थी नियमितता तथा गुणस्तरीय शिक्षाका लागि शुक्रवार धम्बोझी माध्यामिक बिद्यालयमा आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा सहभागी अभिभावक, बिद्यार्थि, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले सो कुरा बताएका हुन् ।

कुनै बेला निकै जर्जर अवस्थामा रहेको सो विद्यालयमा किरण आचार्य प्रधानाध्यपक भएर आएपछि उनले निरन्तर गरेको कुशल ब्यबस्थापन, कडा प्रशासन र शिक्षकहरुको समेत कडा परिश्रमले अहिले उक्त विद्यालय निजी विद्यालय भन्दा पनि उत्कृष्ट बनेको अभिभावक डिल्लीराज पोखरेलले बताए ।

उनले गर्न चाहेमा जस्तो सुकै स्थानमा पनि राम्रो गर्न सकिने रहेछ भन्ने उदाहरण यो विद्यालयले प्रस्तुत गरेको जनाए ।

यस्तै अर्का अभिभावक बम बहादुर दसौंदीले यो विद्यालयको पढाई गुणस्तर हेरेर आफुले निजि विद्यालयबाट आफ्ना छोरीहरुको नाम कटाएर यहाँ भर्ना गरेको जनाउँदै यहाँको पढाई अतिनै उत्तम रहेको बताए ।

उनले यहाँको पढाउने विधिदेखि लिएर अन्य क्रियाक्लापबाट बालबालिकामा निकै राम्रो प्रभाव परेको जनाए ।

सोही प्रकारले अभिभावकहरु माला गुप्ता र सियाराम पासीले पनि यस विद्यालयमा शिक्षक बिद्यार्थी सबै नियमित रहने तथा पठनपाठन निकै राम्रो हुने गरेकोले आफ्ना बालबालिका पढाईरहेको जनाए ।
विद्यालयमा कसरी सुधार आयो भन्ने जिज्ञासाको जवाफ दिंदै विद्यालयका प्रधानाध्यापक किरण आचार्यले अन्य सामुदायीक विद्यालयमा बिद्यार्थी घटिरहेको बेला यहाँ विद्यार्थीको चाप अत्याधिक भएको र अझै पनि भर्ना गर्न दवाव आइरहेको बताइन् । उनले मावि र उच्चमावि मिलाएर २ हजार बढी विद्यार्थी रहेको जनाउँदै ती सबैलाई एक एक गरेर ब्यक्तिगत रुपमै ध्यान दिएर पठनपाठन भैरहेको जनाइन् ।
शिक्षक र विद्यार्थी नियमित समयमा आउने, शिक्षकले पुरै पिरियड पढाउने, कक्षा छोडेर नजाने, हरेक बिद्यार्थीको पढाईमा ध्यान राखिने लगायतका कुराहरुमा कडाई गर्दा विद्यालयमा सुधार भएको प्रधानाध्यापक आचार्यले बताइन् ।
विगत १४ बर्षदेखि दिनरात विद्यालयका लागि खटिएको तथा दिउँसो खाना समेत विद्यालयमै मगाएर खाने गरेको जनाउँदै उनले त्यसमा सबै शिक्षक र विद्यालय ब्यबस्थापन समितिको समेत सहयोग पाईएको बताइन् ।
सो अवसरमा बोल्दै आधारभूत विद्यालय सल्यानीवागका प्रधानाध्यापक बुधेश जयसवाल र आदर्श आधारभूत विद्यालय आदर्शनगरका प्रधानाध्यापक देवी सिंजालीले यस विद्यालयको प्रगति आफुहरुका लागि मार्गदर्शन बनेको बताए ।उक्त संवाद कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठन बाँकेका अध्यक्ष वामदेव सुवेदीले शिक्षक संगठनले हामी गर्छौ र हामी सक्छौ भन्ने नारालाई अगाडी बढाएर शिक्षकहरुलाई विद्यालयमा खटिन निर्देशन दिएको बताए ।

यस्तै शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका विद्यालय निरिक्षक खगेन्द्र मल्लले कुशल प्रशासन, टिम वर्क र जिम्मेवारी बोधका कारण यो विद्यालय पश्चिम नेपालमै आकर्षणको केन्द्र बन्दै गएको बताए । उनले यसको प्रशंसा र प्रगतिलाई टिकाई राख्नु चुनौती रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

सो अवसरमा विद्यालयका शिक्षकहरु भोजराज शर्मा, निभा लम्साल तथा विद्यार्थीहरु टिका खड्का, देवयानी अधिकारी र श्वेता शर्माले पनि यो विद्यालय यस क्षेत्रमै उत्कृष्ट रहेको चर्चा गरेका थिए ।

पत्रकार राकेश मिश्रले सहजीकरण गरेको सो संवाद कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक फुल कुमारी चौधरी, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, कार्यक्रम अधिकृत राम श्रेष्ठ तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

  • १ असार २०७५, शुक्रबार १७:१९ प्रकाशित
  • Nabintech