१३ बैशाख २०८१, बिहीबार
होम-स्टे कार्यक्रमको बजेटले अवलोकन भ्रमण
  • काँचुली खबर

कोहलपुर नगरपालिकाले चालु आ.व. को निति तथा कार्यक्रममा नगरपालिका अन्तर्गत वसोवास गर्ने आदिवासी जनजाती थारु समुदायहरुको संस्कार, संस्कृतीको प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा थारु, जनजाती समुदायको पहिचान, संस्कार झल्कने गरी संग्राहलय निर्माण गर्ने साँस्कृतीक गाँउहरु पहिचान र विकास गरि पर्यटन पवद्र्धन गर्ने कार्यक्रम राखिएको छ । त्यसलाई कार्यान्वयन गर्न बजेट वक्तब्यको बुँदा नं. २८ मा कोहलपुर नगरमा थारु जातीको धेरै वसोवास भएको स्थानमा थारु सभ्यता र संस्कृतीको पहिचानका लागि थारु संग्राहलय निर्माण र सोही समुदायको संस्कृतीमा आधारित होम-स्टे निर्माणकालागि रकम विनियोजन गरिएको छ ।

जसमा थारु संग्राहलयको लागि रु. १० लाख र होम स्टे कार्यक्रमकालागि रु. ५ लाख बिनियोजन भएको छ । थारु संग्राहलय वडा नं. ११ को लोकनगरमा निर्माण भईरहेको छ भने थारु होम-स्टेको निम्ति हालसम्म कुनैपनि ठाँउको पहिचान समेत गरिएको छैन । बरु होम-स्टे कार्यक्रमको रकमबाट नगरपालिकाका केही कर्मचारी, नगर कार्यपालिकाका केही सदस्य, केही जनप्रतिनिधी र अन्य गरि करिब ३० जना अध्ययन भ्रमणमा जान लागेको जानकारी प्राप्त भएको छ ।

होम स्टे निर्माणकालागि बिनियोजित रकमबाट भ्रमण गर्ने सम्बन्धित ब्यक्त, संस्था वा निकायहरु नगरपालिकाप्रति जवाफदेही हुनुपर्ने उप–प्रमुख सन्जुकुमारी चौधरीले बताईन । चौधरीले भनिन, “म निति तथा कार्यक्रममा उल्लेख गरिएको र त्यसमा टेकेर जुन कामकालागि बजेट बिनियोजन भएको छ त्यो बजेट सोही शिर्षकमा खर्च गरिनुपर्छ भन्ने मान्यतामा छु । थारु होम–स्टेका लागि बिनियोजित शिर्षकको बजेटबाट अध्ययन भ्रमणका नाममा घुम्न जानु बजेटको दुरुपयोग हो ।”
उता सो शिर्षक अन्तर्गतका बजेट कार्यान्वयन गर्ने आर्थिक समितिका संयोजक एवं नगर कार्यपालिका सदस्य डिलबहादुर परियारले होम स्टे सम्बन्धि हेर्ने र अध्ययन गर्न जाने कर्यक्रम रहेको बताउँदै भने, “होम स्टे कार्यक्रमका लागि भनेर बिनियोजित रु. ५ लाख रकम होम स्टे निर्माण गर्ने नभई हामे-स्टे संचालन गरिरहेका ब्यवसायीहरुलाई प्रवद्र्धन गर्ने भनिएको हो । उनिहरुको शिप, क्षमता, अनुभव र संचालन सम्बन्धि आवश्यक तालिम, अवलोकन भ्रमण आदि गराउने भनेको हो । त्यही प्रयोजनमा सबै पक्षको प्रतिनिधित्व हुनेगरी भ्रमण हुन लागेको हो ।”
यस्तो अवलोकन भ्रमणबाट होम-स्टे प्रवद्र्धनमा सहयोगमा पुग्ने परियारले दाबी गरे । त्यस्तै सामाजिक विकास समितिका संयोजक निरज चलाउनेले बाँके राष्ट्रिय निकुञ्ज पर्यटकिय स्थल भएकाले यससँगै जोडिएको कोहलपुर नगरपालिका वडा नं. १३ मा संचालन भईरहेको होम-स्टेलाई थप प्रवद्र्धन गर्न अन्य ठाँउका होम-स्टे अवलोकन गराउन लागिएको बताए ।
चलाउनेले भने, “अन्य ठाँउका होम-स्टेको अवलोकन गरि आवश्यक सिप, कला र संचालन सम्बन्धि भौतीक पुर्वाधारको समेत ज्ञान प्राप्त हुने भएकाले सो भ्रमण गराउन लागेको बताए । उनले संचालन भईरहेका होम-स्टेहरुलाई प्रवद्र्धनगराउँदै आगामी वर्षहरुमा नयाँ ठाउँमा पनि होम-टे स्थापना गर्न पहल गरिने बताए ।

  • १ असार २०७५, शुक्रबार ०७:४३ प्रकाशित
  • Nabintech