१४ आश्विन २०८०, आईतवार
सावधान ! बजारमा खानै नहुने खाद्यवस्तु, दैनिक खाने बस्तुमै ज्यानमारा रसायन
  • काँचुली खबर

काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’ ओलीको भनाइ थियो।

यो भनाइ बजारमा बिक्रीवितरण हुने अखाद्य वस्तुको विकृतिप्रति लक्षित थियो । माछामा प्रयोग गर्ने फर्मालिनले मानव स्वास्थ्यमा असर पुर्याउने भएकाले बजारको बेथितिबारे प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री ओलीको भनाइले अहिलेको बजारको अवस्थालाई प्रतिनिबिम्बित गर्छ । माछामात्र नभएर अहिले बजारमा बिक्रीवितरण हुने खाद्यवस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटिएका छन्। अाजकाे नागरिक दैनिकमा समाचार छ ।

बाबा भेजिटेबल आयल उद्योगले उत्पादन गरेको सोयाबिन आयलमा पेरोक्साइड भ्यालु बढी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा उक्त तेलमा मानव स्वास्थ्यमा असर पर्ने दूषित तत्व भेटिएको हो । बाबा तेलमात्र नभएर कुसुम आयल, बागमती, स्वस्तिक, आरतीलगायतका खाना पकाउने तेल दूषित र गुणस्तरहीन भेटिएको गुण नियन्त्रण विभागले जनाएको छ । गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् ।

तेलमात्र नभएर खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाईंमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्रीवितरण गरेको भेटिएको छ । एसियन थाई फुड्सले उत्पादन गरेको तयारी चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी भएकाले न्यून गुणस्तर भएको विभागले जनाएको छ ।

हनुमान ड्रिङकिङ वाटरमा मेसोफिलिक काउन्ट र रारा पानीमा पिए बढी भेटियो भने कतिपय कम्पनीको दूधमा दिसामा हुने तत्व कोलिफर्म भेटिएको छ । दैनिक उपभोग्य वस्तुको नमुना संकलन गरेर प्रयोगशालामा गरिएको परीक्षण गर्दा दूषित र गुणस्तरहीन भेटिएको विभागले जनाएको छ ।विभागले गरेको अनुगमनमा वैशाखमा मात्र करिब १७ उद्योगका उत्पादन गुणस्तरहीन भेटिएका छन् । तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दुषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।

तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दुषित र गुणस्तरहीन भेटिएपछि गुण नियन्त्रण विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।

पानीपुरी र चटपटेमा प्रयोग हुने रङ र तेल पनि गुणस्तरहीन भेटिएको छ । केही समयअघि आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा पानीपुरी पकाउँदा प्रयोग गर्ने कुहिएको गुणस्तरहीन तेल बरामद गरेको थियो। पानीपुरीमा मोबिलजस्तो कालो तेल प्रयोग गर्ने गरेको भेटिएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले बताए।

फलफूललाई छिटो पकाएर पहेंलो बनाउन कार्बाइड नामक रसायन प्रयोग हुनेगरेको छ । उक्त रसायन फलाम वेल्डिङ गर्दा पनि प्रयोग हुने डाक्टर डिपी सिंह बताउँछन् । ‘काँचो फलफूललाई छिटो पकाउन प्रयोग हुने रसायनले विभिन्न प्रकारका रोग लाग्छन्,’ सिंहले भने, ‘डायबिटिज, ब्लड प्रेसर पनि हुन्छ ।’ दैनिक उपभोग्य वस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने रसायन प्रयोग गरेकाले विभिन्न रोगको संक्रमण बढेको चिकित्सक सिंह बताउँछन् ।

  • २९ जेष्ठ २०७५, मंगलवार ०७:४७ प्रकाशित
  • Nabintech