२५ श्रावण २०७९, बुधबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वास्तवमा कम्युनिस्ट पार्टी होइन : मोहन विक्रम सिंह
  • काँचुली खबर

० अहिले के मा व्यस्त हुनुहुन्छ ?

– अहिले पार्टीका मिटिङ, कार्यक्रम, लेख्ने कामहरु यिनैमा व्यस्त छु ।

० नेपालका प्रमुख भनिने दुई कम्युनिस्ट घटकहरु अहिले एक भएका छन् । यो परिवेशलाई यहाँले के भन्नु हुन्छ ? यो बाध्यता थियो या आवश्यकता ?

– पहिलो कुरा, जुन एकता भएको छ, त्यसलाई हामीले स्वागत गरेका छौँ । त्यसका साथसाथै उहाँहरुको एकतापछि जुन सरकार बनेको छ, त्यसलाई पनि हामीले समर्थन गरेका छौँ र यसको सफलताको कामना गर्दछौँ । यसले देशको अहिलेको स्थितिमा महत्वपूर्ण तथा सकारात्मक देन दिएको छ । एउटा पक्ष यो हो । त्यसको अर्को पक्षतिर पनि हामीले तपाईहरुको ध्यान आकर्षित गर्न चाहान्छौँ । एकातिर, राजनैतिक दृष्टिकोणले यो सकारात्मक छ र हामीले सफलताको कामना गर्दछौँ । अर्कातिर, सैद्धान्तिक दृष्टिकोणले भन्ने हो भने यो अहिले बनेको सङ्गठनसित हाम्रा कैयौँ गम्भीर प्रकारका मतभेदहरु पनि छन् ।

० त्यस विषयमा म एकछिन पछि आउने छु सिंहजी, अहिलेको मेरो प्रश्न यो एकता रहर थियो या बाध्यता, या आवश्यकता ? यहाँको धारणा के छ यसमा ?

– रहर र बाध्यता भन्दा पनि यो देशको राष्ट्रिय आवश्यकता थियो । किनभने हामीले देखिराखेका छौँ, नेपाल प्रजातान्त्रिक आन्दोलनको लामो प्रक्रियामा गएको छ । गत चुनावमा देशमा एक प्रकारको राजनैतिक धु्रवीकरण भएको थियो । प्रतिक्रियावादी, प्रतिगामी, राजावादी, मधेशवादी र भारत समेत एकातिर सङ्गठित भएका थिए भने अर्कातिर एमाले, माओवादी–केन्द्र जस्ता शक्तिहरु थिए । यी दुईबीच वाम पक्षीय गठबन्धन बनेको थियो । त्यो खालि दुई वटा राजनैतिक सङ्गठनहरुको मात्र गठबन्धन थिएन, यो देशको राजनीतिमा भएको धु्रवीकरणका आधारमा भएको गठबन्धन थियो । २०६२-६३ सालको जन आन्दोलनका उपलब्धिहरु, जस्तै– गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र जनताका प्रगतिशील मागहरु एकातिर थिए भने अर्कातिर, त्यसका विरुद्ध राजालाई पुनस्र्थापित गर्ने, हिन्दू राष्ट्र बनाउने, अनि नेपालको राष्ट्रियतामाथि प्रहार गर्ने शक्तिहरु थिए । त्यस्तो पृष्ठभूमिमा जुन वाम पक्षीय गठबन्धन बन्यो, त्यो अत्यन्त ऐतिहासिक थियो । त्यसप्रति जनताले ठुलो पैमानामा जुन विश्वास गरे, त्यसको पनि ठुलो ऐतिहासिक महत्व छ । यदि चुनावमा वाम पक्षीय गठबन्धनको पराजय भएको भए, देशको राजनीति धेरै पछाडि जान्थ्यो । त्यसकारण यसको एउटा महत्वपूर्ण भूमिका छ । वाम पक्षीय गठबन्धनसँग चुनावमा हामीले पनि तालमेल गरेका थियौँ, यद्यपि त्यो गठबन्धनमा हामी सामेल थिएनौँ ।

० त्यो भनेको नेकपा (मसाल) का तर्फबाट तपाईहरुले गर्नु भएको थियो ?

– नाइँ । नेकपा (मसाल) त सिधैँ खुल्ला संसदीय राजनीतिमा भाग लिदैन । हाम्रो पार्टी पुरै भूमिगत छ । तर हाम्रो पार्टीको समर्थक राष्ट्रिय जनमोर्चाले तालमेल गरेको थियो । त्यो पनि पार्टीको नीति अनुसार भएको थियो । त्यसले गरेको तालमेललाई पनि हामीले पार्टीले गरेको तालमेलकै अर्थमा बुझ्छौँ ।

० यद्यपि यो एकताप्रति यहाँहरुको पार्टीगत रूपमा असहमति छ ?

– निश्चित रूपमा । यो एकतालाई हामीले समर्थन गरेका छौँ, स्वागत गरेका छौँ । तर जहाँसम्म पार्टीगत एकताको सवाल हो, हामी त्यो एकतामा सामेल भएका छैनौँ । किनभने सैद्धान्तिक, राजनैतिक प्रश्नमा उहाँहरुसँग हाम्रा गम्भीर प्रकारका मतभेदहरु छन् । त्यो आम रूपमा थाहा भएको कुरा पनि हो, कम्युनिस्ट पार्टी एकता मूलभूत सिद्धान्तको आधारमा नै हुन सक्छ । हामीहरुको के विश्लेषण छ भने त्यो मूलभूत सिद्धान्तबाट उहाँहरुको धेरै विचलत भइसकेको छ ।

० अहिले जुन नेपाल कम्युनिस्ट पार्टी बनेको छ, यो साँच्चैको कम्युनिस्ट पार्टी हो कि होइन ?

– हाम्रो दृष्टिकोण अनुसार होइन । माक्र्सवाद, लेनिनवादका मूल सिद्धान्तबाट हटेर संशोधनवादी प्रकारको जुन धार विश्वव्यापी रूपमा नै देखा परेको छ, त्यसैको पक्षमा त्यो छ । माक्र्सवादी, लेनिनवादी सिद्धान्तबाट उहाँहरुको धेरै नै विचलन भइसकेको छ । त्यसकारण कम्युनिस्ट पार्टी एकताको दृष्टिकोणले त्यसलाई हामीले कम्युनिस्ट पार्टी गठन भएको मान्दैनौँ । तर तात्कालिक राजनैतिक दृष्टिले त्यसको महत्व छ । त्यसकारण त्यसलाई हामीले सकारात्मक र ऐतिहासिक कार्य मानेका छौँ र समर्थन गरेका छौँ ।

० कम्युनिस्टको पार्टीको कुरा गर्दा प्रधान शत्रु वा वर्गदुश्मन भनेर तोकिएको हुन्छ । अहिले जुन कम्युनिस्ट पार्टी बनेको छ, उहाँहरुको प्रमुख शत्रु वा वर्ग दुश्मन को होला त ? त्यो परिवर्तन विरोधी शक्ति को होला त ?

– अहिले देशको जुन अवस्था छ, सामन्तवाद, नोकरशाही, दलाल पुँजीपति वर्ग र साम्राज्यवादलाई दुश्मन शक्ति मान्छौँ । ती शक्तिहरुको प्रतिनिधित्व गर्नेमा नेपाली काङ्ग्रेस जस्ता पार्टीहरु आउँछ† राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो आउँछ† मधेशवादी शक्तिहरु जस्ता आउँछन्, जसले भारतीय विस्तारवादी स्वार्थ अनुरूप काम गरिरहेका छन् । जहाँसम्म नवगठित नेकपाको सवाल छ, उनीहरुलाई हामी दुश्मन शक्ति या दुश्मन शक्तिको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति मान्दैनौँ । उनीहरुलाई हामीले मित्रशक्ति मान्छौँ । यसमा हामीले स्पष्ट रेखाङ्कन गरेका छौँ ।

० यो त एउटा ठुलो मौका हो नि सिंहज्यू । यत्रो ठुलो कम्युनिस्ट पार्टी बन्दैछ, सबै मिलेर एक हुनु पर्छ भनेर यहाँ जस्तो सबैले मानेको गुरुले यसरी सोच्ने बेला भएन र अब ?

– वास्तवमा यो नेपालको कम्युनिस्ट पार्टीको मात्र समस्या होइन । अहिले बनेको नेकपाको मात्र समस्या होइन । यो विश्व कम्युनिस्ट आन्दोलनकै समस्या हो । अहिले माक्र्सवाद, लेनिनवादका मूलभूत सिद्धान्तहरुबाट धेरै नै विचलनका प्रवृत्ति देखा परेका छन् । त्यो विचलनको परिणामस्वरूप नै रुसको समाजवादी व्यवस्था पुँजीवादी दिशामा गयो । अरू कैयौँ देशहरु, जो पहिले समाजवादी थिए, पछि पुँजीवादको बाटोमा गएका छन् । त्यो प्रवृत्तिले क्रान्तिकारी कम्युनिस्ट पार्टी वा आन्दोलनलाई मद्दत पुग्दैन, समाजवादलाई मद्दत पुग्दैन । त्यो समाजवादबाट विचलनको प्रवृत्ति हो । त्यसकारण जुन पार्टी र सङ्गठनहरुले त्यस प्रकारको विसर्जनको दिशा समातेका छन्, त्योसित पार्टी एकता गरेर विश्व र नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत पार्न सकिन्छ भन्नेमा हाम्रो विश्वास छैन । कुनै पनि पार्टी, धर्म–सम्प्रदाय या सङ्गठनका आफ्ना मूलभूत मान्यताहरु हुन्छन् । उदाहरणका लागि वैश्णवहरुको कुरा गरौँ । उनीहरुका आफ्नै धार्मिक मान्यता छन् । हिन्दूका आफ्नै मान्यता छन्, मुस्लिमका आफ्नै मान्यता छन्, इसाईका आफ्ना मान्यता छन् । ती मान्यताबाट अलग भएपछि ती न इसाई हुन्छन्, न मुस्लिम वा हिन्दू नै हुन्छन् । त्यसकारण कम्युनिस्ट आन्दोलनमा पनि कुनै पनि कम्युनिस्ट पार्टी मूलभूत कम्युनिस्ट मान्यताबाट अलग भएपछि कम्युनिस्ट पार्टी नै रहदैन ।

० अहिलेको नेपालको हकमा कुन हो त वास्तविक कम्युनिस्ट पार्टी ?

– यो किटेर भन्न मुश्किल छ । हामीले आफूलाई दावी गरिरहेका छौँ । अहिले बनेको नेकपाले आफूलाई कम्युनिस्ट पार्टी दावी गरेको छ । अरू देशका वामपन्थी शक्तिहरुले पनि आफूलाई कम्युनिस्ट पार्टी दावी गरिरहेका छन् । त्यसकारण यो भन्न हामी आफैलाई मुश्किल छ, कसले माक्र्सवादी, लेनिनवादी सिद्धान्तलाई सही अर्थमा अनुकरण गरेको छ वा छैन । माक्र्सवादी, लेनिनवादी सिद्धान्तका आधारमा पर्यवेक्षकहरुले नै स्पष्ट गर्ने कुरा हो या इतिहासले यसउ विषयलाई स्पष्ट गर्दैै जानेछ ।

० सबै कम्युनिस्ट पार्टीहरु, जो अहिले जति पनि टुक्रामा विभाजित छन्, ती सबै एक भएर ठुलो पार्टी बन्ने सम्भावना छैन ?

– सबै कम्युनिस्ट पार्टीहरु एक हुने मूलभूत कम्युनिस्ट सिद्धान्तको आधारमा नै हो । तर विश्व कम्युनिस्ट आन्दोलनको इतिहास हामीले हे¥यौँ भने खालि मूलभूत सिद्धान्तले मात्र उनीहरुलाई एक–अर्काबाट अलग गरेको पाइन्न, उनीहरुलाई तात्कालिक राजनैतिक प्रश्नहरुले पनि अलग गरेको हुन्छ । जस्तै केशर जङ्ग रायमाझीसित राजाको प्रश्नमा हाम्रो विवाद भयो । त्यस्तै, विश्वका बुर्जुवाप्रति कस्तो नीति अपनाउने ? साम्राज्यवादप्रति कस्तो नीति अपनाउने ? यस आधारमा पनि कम्युनिस्टका बीचमा विभाजन हुने गरेका छन् । त्यसकारण यहाँ पनि जसले आफूलाई वास्तविक सच्चा कम्युनिस्ट भन्छन्, उनीहरुका विषयमा कतिपय मूलभूत सैद्धान्तिक प्रश्नमा सहमति भए पनि अन्य प्रश्नहरुले उनीहरुका बीचमा विभाजन रेखा कोरेका छन् । उदाहरणका लागि नेकपा (क्रान्तिकारी-माओवादी) को कुरा गरौँ । उनीहरुसँग सैद्धान्तिक र रणनैतिक विषयमा हाम्रा समान दृष्टिकोण छन् । तर तात्कालिक राजनैतिक प्रश्नमा कतिपय मतभेद छन् । त्यस्तै, विप्लव पक्षीय नेकपासँग छ । उनीहरुसँग सैद्धान्तिक, राजनैतिक विषयमा कतिपय मतभेदहरु छन् । हामीले नयाँ जनवादी क्रान्ति आजको आवश्यकता हो भन्छौँ, उहाँहरुले समाजवाद आजको आवश्यकता हो भन्नु हुन्छ । तात्कालिक राजनैतिक विषयमा पनि मतभेद छन् । उहाँहरुको कार्यशैलीबारे हामीबीच मतभेद छ । अहिलेको परिस्थितिमा उहाँहरुले न सशस्त्र सङ्घर्ष, न जन आन्दोलनको स्थितिमा हुनु हुन्छ । हिंसात्मक शक्तिको प्रयोग गर्ने जुन नीति उहाँहरुले अपनाउनु भएको छ, त्यसलाई हामीले समर्थन गरेका छैनौँ ।

० यहाँसँग अहिलेसम्मको कुराकानीका आधारमा मैले के बुझेँ भने नेपालमा अहिले जुन ठुलो पार्टी बन्यो भनियो, त्यसमा कम्युनिस्ट पार्टीमा हुनु पर्ने धेरै गुणहरु छैनन् । तर पनि उनीहरुले ठुलो जनमत पाए । यसको अर्थ नेपालमा वास्तविक कम्युनिस्टलाई मन पराउने मान्छे छैनन् भनेर बुझ्यो भने के हुन्छ ?

– होइन, होइन । कम्युनिस्ट पार्टीको पक्ष्ँमा ठुलो जनमत छ देशमा । तर ठुलो हुँदैमा कम्युनिस्ट पार्टी हुन्छ भन्ने त हुँदैन नि । उदाहरणका लागि कुनै बेला रुसको कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी थियो । तर हामीले देख्यौँ– त्यसको विघटन भयो र उनीहरुले पुँजीवाद स्थापना गरे । त्यस्तै, चीनमा विश्वकै ठुलो कम्युनिस्ट पार्टीको रूपमा छ । तर त्यसले एउटा पुँजीवादको बाटो समातिसकेको छ । त्यसरी ठुलो हुँदैमा कम्युनिस्ट पार्टी नै हुन्छ भन्ने हुँदैन ।

कुनै बेला केशर जङ्ग रायमाझीको कम्युनिस्ट पार्टी थियो । उसले आफूलाई सच्चा कम्युनिस्ट पार्टी दावी गथ्र्यो । तर त्यसको विघटन भयो । रायमाझी पुरै राजाको पक्षमा गए । त्यसैले कुनै बेला कुनै पार्टी धेरै ठुलो भए पनि या उसले आफूलाई सच्चा कम्युनिस्ट पार्टी दावी गरे पनि वास्तवमा त्यो सच्चा कम्युनिस्ट पार्टी हो वा होइन भन्ने कुरा उसले अपनाएका सिद्धान्तले नै निर्धारण गर्दछ । त्यसैले हामीले दुःखका साथ यो भन्नु पर्दछ– आज जुन नेकपा बनेको छ, वास्तवमा त्यो कम्युनिस्ट पार्टी होइन । तर जनताले उसलाई साँच्चै नै कम्युनिस्ट पार्टी भनेर समर्थन गरेका हुन् । कतिपय बेला इतिहासमा त्यस्तो धोका हुने गर्दछ ः जनताले जसलाई सही मान्छन्, त्यो सही हुँदैन । जस्तो राजालाई राष्ट्रवादी भने, वास्तवमा ती राष्ट्रवादी थिएनन् ।

जनताले कैयौँ पार्टीहरुलाई सच्चा देशभक्त, जनहितैषी भनेर भोट दिन्छन्, तर उनीहरु राजतन्त्र पुनस्र्थापनाको कुरा गर्छन् । त्यसकारण जनताले दिएको मत सधैँ सही ठाउँमा जाँदैन । फेरि पनि जनताले तात्कालिक राजनैतिक दृष्टिकोणले जुन भोट दिए अथवा प्रतिगामी खेमामा उभिएको नेपाली काङ्ग्रेसको गठबन्धनको विकल्पमा वाम पक्षीय गठबन्धनलाई जुन भोट दिए, यसलाई हामी सही मान्छौँ । तर अब प्रश्न यो छ, जनताले जुन विश्वास गरेका छन्, त्यसलाई उनीहरुले कुन हदसम्म सही ढङ्गले अगाडि बढाउँछन् । हामीले बारम्बार कामना गरेका छौँ, जनताको विश्वास अनुसार उनीहरु अगाडि बढून्† गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र जनताका अन्य प्रगतिशील मागहरुका पक्ष्ँमा उनीहरुले सही भूमिका खेलून्† उहाँहरुले आफ्नो नीति समाजवाद उन्मुख भनेर घोषणा गर्नु भएको छ, उनीहरु त्यो दिशामा अघि बढून् । तर अहिले जुन बजेट उहाँहरुले पेश गर्नु भयो, हामीले दुःखसाथ भन्नु पर्छ, त्यो बजेट मार्फत् समाजवाद उन्मुख दिशालाई उहाँहरुले छाडिसक्नु भएको छ ।

० त्यसैले कम्युनिस्ट मूल्य–मान्यता र आधारभूत सिद्धान्तमाथि त्यति सशक्त रूपमा उभिएको छैन अहिलेको नेकपा भन्ने यहाँको विचार हो ?

– होइन । कम्युनिस्ट पार्टीको आधारभूत सिद्धान्तको प्रश्नमा उहाँहरुको विचलन भएको छ । हामीले उहाँहरुलाई समर्थन गरेको कम्युनिस्ट पार्टी निर्माण हुन्छ भनेर होइन । उहाँहरुले देशमा अहिलेको तात्कालिक राजनैतिक प्रश्नमा जुन विचारहरु प्रकट गर्नु भएको थियो, जुन प्रतिबद्धता प्रकट गर्नु भएको थियो, त्यसबाट उहाँहरु विचलित भएको प्रवृत्ति त अहिलेको बजेटले देखाएकै छ ।

० सामाजिक सञ्जाल मार्फत् सरोज ढुङ्गाना मोहन विक्रम सिंहज्यू, तपाई त अर्धभूमिगत होइन भनेर सोध्नु भा’छ ? अनि, सङ्घीयतामा मुलुक गएपछि अचेल राष्ट्रिय जनमोर्चाको समेत स्वर अलिकति मधुरो सुनिन्छ नि ? के अब उहाँहरुले पनि सङ्घीयता स्वीकार्नै पर्ने बाध्यता आएको हो भनेर सरोज ढुङ्गानाले सोध्नु भएको छ । यसमा के छ यहाँको प्रतिक्रिया ?

– सङ्घीयताको हामीले पहिले जस्तै अहिले पनि दृढतापूर्वक विरोध गरिराखेका छौँ । अहिलेको सङ्घीयता अन्तर्गतको प्रादेशिक संरचनाको हामीले विरोध गरिराखेका छौँ । विरोध त हामीले संसदीय प्रणालीको पनि गर्छौं तर संसदीय प्रणालीको विरोध गरे पनि तात्कालिक रूपमा यसलाई उपयोग गरिरहेका छौँ । यहाँ सङ्घीयतालाई हामीले उपयोग गरेका छौँ । तर हाम्रो नीति स्पष्ट छ, सङ्घीयतालाई हामीले विरोध गर्छौं, अहिले पनि हाम्रो त्यो नीति कायम छ । संसदमा राष्ट्रिय जनमोर्चाले त्यसमा संशोधन राख्ने योजना बनाएको छ । हामी त्यसको हामी तयारीमा छौँ । त्यस वाहेक सङ्घीयता विरुद्ध हामीले केन्द्रीय स्तरमै कैयौँ सङ्गठन बनाएका छौँ । देशव्यापी रूपमा कैयौँ कार्यक्रमहरु गरेका छौँ र गर्ने योजना पनि छ ।

० यसमा अलिकति सिंहज्यू, तपाईहरुले संसदीय व्यवस्था पनि स्वीकार्नु भएको छैन, सङ्घीयता पनि स्वीकार्नु हुन्न । खासमा हामीले कसरी बुझ्ने के तपाईहरुलाई ?

– पार्टीका दुई प्रकारका नीति हुन्छन् । एउटा रणनैतिक नीतिहरु दीर्घकालीन प्रकारका हुन्छन् । जस्तो– साम्यवाद हाम्रँे उद्देश्य हो, समाजवाद हाम्रो उद्देश्य हो । तर समाजवाद अहिल्यै ल्याउन सक्दैनौँ, साम्यवाद ल्याउन सक्दैनौँ । कम्युनिस्ट पार्टीले एकातिर, आफ्ना रणनैतिक उद्देश्यहरु अगाडि राखेको हुन्छ भने अर्कातिर, तत्कालिक, व्यावहारिक परिस्थिति अनुसार आफ्ना कार्यनीति निश्चित गरेको हुन्छ । कुनै बेला हामीले नेपाली काङ्ग्रेस वा अन्य कुनै पार्टीसँग मिलेर पनि तानाशाही पञ्चायती व्यवस्था विरुद्ध सङ्घर्ष ग¥यौँ । उनीहरु दुश्मन शक्तिहरु हुन् तर कैयौँ पटक हामीहरु मिल्ने गरेका छौँ । त्यसै गरेर हाम्रा लागि अहिलेको व्यवस्था विरोधी व्यवस्था हो, हामीले स्वीकार नगरेको व्यवस्था हो । तर तात्कालिक रूपमा हामीले यसलाई उपयोग गरिरहेका छौँ । यसबाट बढीभन्दा बढी जनतालाई फाइदा दिलाउने हाम्रो कोशिस हुन्छ ।

० तपाईहरुले चाहेको व्यवस्था कस्तो त फेरि ? अहिलेको यो व्यवस्था पनि नस्वीकार्ने, पहिलेको व्यवस्था पनि नस्वीकार्ने, अब हामीले चाहेको के त ?

– हामीले चाहेको साम्यवाद हो, समाजवाद हो । देशको अहिलेको अर्ध सामन्ती र अर्ध औपनिवेशिक व्यवस्थामा हामीले नयाँ जनवादी व्यवस्था स्वीकार गर्छौंं । तर त्यसका लागि लामो सङ्घर्ष आवश्यक हुन्छ ।

० के अब सम्भव छ त त्यो सङ्घर्ष ?

– निश्चित रूपमा सम्भव छ । कुनै बेला पञ्चायती व्यवस्था विरुद्ध हामीले ३० वर्षसम्म सङ्घर्ष गर्नु प¥यो । राजाले त्यो बेला भन्थे– यो निर्विकल्प व्यवस्था भइसक्यो । तर हामीले लगातार सङ्घर्ष ग¥यौँ । अन्ततः त्यसको अन्त भयो । संसारमा धेरै प्रकारका व्यवस्था, जो इतिहासमा कुनै बेला अत्यन्त शक्तिशाली थिए, तिनीहरुको अन्त भएका उदाहरणहरु छन् । त्यसैले सङ्घीय व्यवस्थालाई पनि समाप्त गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ । अहिले नै त्यसका विरुद्ध व्यापक जनमत र असन्तुष्टिहरु देखा पर्दै आइरहेका छन् । प्रादेशिक संरचनाको जुन स्वरूप अगाडि आएको छ, त्यसले सरकारको सम्पूर्ण अर्थतन्त्र नै फेल हुने दिशातर्फ गइरहेको छ ।

० जनवादी क्रान्ति कसरी सम्भव छ  ? तपाई अझै पनि आशावादी हुनुहुन्छ कि त्यो सम्भव छ ?

– निश्चित रूपमा । नयाँ जनवादी व्यवस्था भन्नुको अर्थ अहिले देशमा जुन अर्ध सामन्ती, अर्ध औपनिवेशिक व्यवस्था छ, त्यसलाई समाप्त गर्ने हो । यो अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थाले देशलाई लामो समय अगाडि लैजान सक्दैन । त्यसलाई खतम पार्नु पर्ने आवश्यकता छ । त्यसका लागि जनतामा जुन बेला व्यापक चेतना आउँछ, जुन बेला सङ्गठन सुदृढ बन्छ, खास गरेर प्रतिकृयावादी, अवसरवादीले फैलाएका भ्रम समाप्त हुन्छन् र त्यो व्यवस्था फेरि अगाडि आउँछ । त्यसको पक्षमा हामीले लगातार प्रयत्न गर्नु पर्दछ । आखिर निर्णयात्मक शक्ति भनेका जनता नै हुन । जनता अघि नबढिकन केही हुन सक्दैन । जस्तो भनौँ माओवादीहरुले सशस्त्र सङ्घर्ष सुरु गरे, हामीले त्यसलाई गलत भन्यौँ, उग्रवामपन्थी भड्काव भन्यौ । आखिरमा हामीले भनेको कुरा सिद्ध भयो । बाह्र÷चौध हजार मान्छे मरे त्यो युद्धमा । त्यसैले परिस्थिति अनुसार हामीले नीति बनाउनु पर्छ । आवश्यकता छ भनेर हामी एकै पटकमा कुदेर धेरै टाढा जान सक्दैनौँ । हामी पाइला पाइला गर्दै अगाडि बढ्नु पर्छ । हाम्रो तरिका हो– जनताका बीचमा चेतना पैदा गर्ने, विरोधीका भ्रमलाई साफ गर्ने, सङ्गठन मजबुत बनाउने । यो काम हामीले गर्न सकेनौँ भने अर्को पुस्ता अगाडि आउँछ, त्यसले क्रान्तिको प्रवाहलाई फेरि अगाडि बढाउँछ ।

० यहाँहरुले ल्याउन चाहेको जनवादी क्रान्ति अर्को पुस्ताद्वारा यही किसिमले, यही अडानका साथ ल्याउन सक्ने शक्ति छ हामीसँग ?

– हामीले राजतन्त्रका विरुद्ध सङ्घर्ष ग¥र्यौँ, पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष ग¥यौँ, त्यसमा हाम्रै पुस्तामा सफल मिल्नेछ भन्ने केही ग्यारेन्टी थिएन । त्यही क्रममा राजतन्त्र र प्रजातन्त्र विरोधी कैयौँ साथीहरुको निधन भयो । उहाँहरुको पालामा सफलता प्राप्त भएन, पछि भयो । हुन सक्छ, हामीले चाहेको परिवर्तन हाम्रै पालामा ल्याउन नसकौँला । त्यसको अर्थ हामीले जुन सिद्धान्त अपनाएका छौँ, त्यसलाई छोड्ने कुरा हुन्न । त्यसको पक्षमा नयाँ पुस्ता तयार पार्दै जानु पर्छ । हामीपछि पनि अर्ध सामन्ती र अर्थ औपनिवेशिक अवस्था समाप्त गर्नु आवश्यक छ । इतिहासको यो आवश्यकतालाई हामी नभए अर्को पुस्ताले अगाडि बढाउँछ, सफल बनाउँछ । त्यो देशको राष्ट्रिय आवश्यकता हो, ऐतिहासिक आवश्यकता हो ।

० यहाँले राजनीतिमा प्रवेश गरेको २००७ सालमा र अहिले हामी २०७५ सालमा छौँ । तपाईले २०११ सालमा प्युठानमा किसान आन्दोलन गर्नु भयो । त्यहाँ तपाईको राजनैतिक रूपमा दह्रो उपस्थिति देखियो । त्यतिबेला तपाईले सोच्नु भएको थियो, देशमा ठुलो कम्युनिस्ट पार्टी बन्ला भनेर ?

– अघि तपाईले भन्दाखेरि म २००८ सालदेखि कम्युनिस्ट पार्टीमा लागेको भन्नु भयो । २००८ सालदेखि होइन २००७ सालमा म काङ्ग्रेसमा थिएँ । २००८ सालमा मैले काङ्ग्रेस छाडे । म कम्युनिस्ट पार्टीमा सामेल भएको २०१० सालमा हो । त्यतिबेलादेखि हामी लगातार लागिराखेको छौं । त्यो बेला कम्युनिस्ट पार्टी अविभाजित थियो । चौथो महाधिवेशन हुँदासम्म हाम्रो पार्टी अत्यन्त शक्तिशाली थियो । ६५ वर्षदेखि लगातार कम्युनिस्ट आन्दोलनमा सक्रिय हुँदै गर्दा बीचमा केयौँ परिवर्तन भए । विश्व समाजवादी व्यवस्था टुट्यो । यसको असर नेपालमा पनि परेको छ । यसले गर्दा हामी यहाँ धेरै कमजोर भएका छौ ।

विश्व र नेपालमा यस्तो परिवर्तन भइरहन्छ । हामीलाई विश्वास छ, विश्वमा अहिले कम्युनिस्ट आन्दोलन रक्ष्ाँत्मक अवस्थामा छ । तर यो अस्थायी अवस्था हो । किनभने वास्तवमा भौतिक परिस्थितिले वा पुँजीवादले नै समाजवादलाई जन्म दिन्छ । सैद्धान्तिक रूप दिएका माक्र्स-एङ्गेल्सले हुन् तर यसलाई जन्म दिएको त पुँजीवादले हो । पुँजीवादी उत्पादन प्रणालीको परिणामस्वरूप नै समाजवादको जन्म भयो । पुँजीवाद अहिले पनि विद्यमान छ, त्यसले समाजवादको आधार तयार पार्दै गइरहेको छ । उत्पादन प्रणालीमा सामाजीकरणको प्रक्रियालाई कम्युनिस्ट आन्दोलनलाई अरू शक्तिशाली बनाउँदै गइरहेको छ । यस आधारमा विश्व कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ । यो अस्थायी अवस्थाले हामी निराश हुँदैनौँ । सङ्घर्षलाई लगातार अगाडि बढाउने हाम्रो प्रयत्न हुनेछ ।

  • २४ जेष्ठ २०७५, बिहीबार १४:४४ प्रकाशित
  • Nabintech