१६ बैशाख २०८१, आईतवार
खजुरालाई नगरपालिका बनाउने योजनामा छौँ : अध्यक्ष तुफान
  • काँचुली खबर

भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ । भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको व्यवस्थित बसोबास भएको र पुरानो बजार पनि हो । साबिकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाउँ विकास समितिलाई समेटेर आठ वटा वडा कायम गरी यो गाउँपालिका बनेको हो । खजुरा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट डम्बरबहादुर विक (तुफान) गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन । खजुराको विकास निर्माणलगायतका विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकसँग गरीएको कुराकानीको सारसङ्क्षेपः

आफ्नो एक वर्षे कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

पहिलो कुरा एक वर्षे कार्यकाल अनुभव र शिक्षामूलक नै रह्यो । कसरी सरकार सञ्चालन गर्ने र कसरी कार्यक्रम सञ्चालन गर्ने, कहाँ कहाँ अप्ठेरा हुँदा रहेछन्, समस्यालाई कसरी हल गर्ने भन्ने कुरा सिकाइको वर्ष जस्तो भयो । चुनौतीपूर्ण पनि भयो । सिकाइ उपलब्धिका रूपमा यो एक वर्ष बितेको छ । एक वर्षको समयलाई महत्वपूर्ण पहिलो वर्षका रूपमा लिँदै आगामी योजना तय गर्ने अवस्थामा आइपुगेका छौँ ।

एक वर्षको अवधिमा के कस्ता कार्यक्रम सुरु गर्नुभएको छ ?

सबैको आँखा पर्ने भनेको भौतिक पूर्वाधार नै हो । प्रशासनिक भवन, शीत भण्डार, सभागृह, अस्पताललगायतका केही भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामा छन् । तिनलाई हाम्रो कार्यकालमा जसरी पनि सम्पन्न गर्नुपर्ने छ । देखिने पूर्वाधारका काम चाहिँ अगाडि बढेका छन् । प्रशासनिक भवनले गति लिन नसके पनि ढिलो गरी काम अघि बढेको छ । सभा हल अन्तिम चरणमा छ । शीत भण्डार करिब सम्पन्न हुने अवस्थामा छ । अर्को कुरा हामी आइसकेपछि केही योजना पनि थपेका छौँ । लक्ष्य भनेको खजुरालाई नगरपालिकामा सबै कुराको स्तरोन्नति गर्ने नै हो । त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेका छौँ । मनोरञ्जनका लागि पार्क आवश्यक पर्ने भएकाले सहिद पार्कको डिपिआर तयार गरी बजेट विनियोजन गरेका छौँ । यसै गरी खजुरामा बसपार्क निर्माणको प्रक्रिया सुरु गरेका छौँ । यसै गरी वडा नम्बर ८ मा रहेको बधुवा ताललाई जलाशययुक्त बनाउने योजना छ ।

जसरी पानीका ताल तलैया पुरिने र पानीका स्रोत सुक्ने समस्या देखिएको छ । अर्को फोहोर व्यवस्थापन गर्नुपर्ने छ । निजी क्षेत्रसँग साझेदारी गरेर फोहोरलाई मोहरमा बदल्ने गरी काम अघि बढाउँदै छौँ । विद्युत्को सबस्टेसन र फोरलेन सडक बनेपछि खजुरा नगरपालिका बन्ने निश्चित छ । त्यसै गरी प्रत्येक घरमा खानेपानी पुर्याउने योजनासहित अघि बढाएका छौँ । स्वास्थ्यमा हामीले प्रत्येक नागरिकको पहुँच पुग्नु पर्छ भनेर काममा लागिरहेका छौँ । त्यसका लागि ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रमसहित घर घरमा पुगेका छौँ । यसै गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकसँग स्वास्थ्य सेवा पु¥याइरहेका छौँ । परम्परागत कृषिलाई व्यावसायिक कृषिमा बदल्न सकिन्छ भन्ने विश्वास छ । पशुपालनतर्फ घाँसमा आत्मनिर्भर बनाउन किसान समूह बनाएका छौँ । पशुमा देखिएको रोग नियन्त्रणका लागि २२ जनाको टोली परिचालन गरिएको छ । फूल खेती, तरकारी खेतीका लागि सहयोग गरेका छौँ । शिक्षामा प्रधानाध्यापकको मिलान गरेका छौँ । सबै विद्यालयमा तहगत प्रअको व्यवस्थापन गरिएको छ । यसै गरी लोक सेवा तयारी कक्षा सञ्चालन र लुम्बिनी प्राविधिक विश्वविद्यालयमा दुई जना जेहेनदार विद्यार्थीलाई अध्ययनको व्यवस्था गर्दै छौँ । विश्वविद्यालय छिटो सञ्चालनका लागि स्थानीयस्तरमा आवश्यक सहजीकरण गरेका छौँ। अब छिट्टै कक्षा सञ्चालन पनि हुने छ । यी सबै काम गरेर आत्मनिर्भर, समृद्ध खजुरा आफैँ बनाउन सक्छौँ भन्ने लागेको छ ।

ठुला आयोजना निर्माणमा कसरी सहजीकरण गरिरहनुभएको छ ?

खजुरा बजारमा फोरलेन सडक (एक हजार ८००) मिटर बनाउने काममा धेरै समय बितेको छ । अब सडक डिभिजनले ठेक्का तोडेर हुलाकी सडक अन्तर्गत निर्माण गर्नु पर्छ। बजारको सडक पनि फराकिलो बनाउनु पर्छ । छिटो निर्माण अघि बढाउन हामीले सम्बन्धित निकायलाई घचघच्याउने काम गरिरहेका छौँ। परस्पुर-गौघाट सडकलाई केन्द्र सरकारले ठेक्का लगाए पनि काममा ढिलाइ भएको छ। यो सडक पनि छिटो द्रुतगतिमा बन्नु पर्दछ । केन्द्र र प्रदेशका योजना भए पनि ढिलाइ हुँदा जनतालाई सास्ती भएकाले हामी अग्रसर हुनुपर्ने भएको छ । हामीले निरन्तर समन्वय र सहकार्य पनि गरेका छौँ, प्रभावकारी भूमिका निर्वाह पनि गरेका छौँ ।

पालिकाबाट योजना बनाउँदा घोषणापत्रलाई कत्तिको महत्व दिनुभएको छ ?

घोषणापत्रका आधारमा नै काम अघि बढेको छ । कृषि प्राधिकरण बनाउने बाहेक अन्य सबै बजेटमा समेटिएको छ । हामीले निर्वाचनमा गरेको वाचा पूरा गर्ने गरी पाँच वर्षमा धेरै काम गर्न सक्ने छौँ भन्ने लागेको छ । यसमा खजुरावासीको साथ र सहयोग दिनुहुने छ भन्ने आशा राखेका छौँ ।
-गोरखापत्रबाट

  • ७ श्रावण २०८०, आईतवार १७:४५ प्रकाशित
  • Nabintech