१४ बैशाख २०८१, शुक्रबार
खजुरामा नेपालगञ्ज गोल्डकप शुरु
  • काँचुली खबर

खजुराको डीगाउँमा टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालाको मर्मत भइरहेकाले डीगाउँको नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगञ्ज-११ विजयी भएको छ । जितसँगै नेपालगञ्ज-११ सेमिफाइनलमा पुगेको छ ।
नेपालगञ्ज-११ ले सशस्त्र प्रहरीलाई २-० गोलले पाखा लगाएको हो । खेल शुरु भएको ४ मिनेटमै दायाछेउबाट विदेशी खेलाडी मुस्तफाले निकालेको क्रसलाई विक्रमसिंह ठकुरीले गोलमा परिणत गरेका थिए ।

मध्यान्तरसम्म अर्को गोल हुन सकेन । दुवैतर्फबाट खेलाडीले केही राम्रा अवसर खेर फालेका थिए । मध्यान्तरपछिको फेरि ४ मिनेटमै आयोजक टीमले अर्को गोल थपेको छ । विमल रानाले गोल गरेका हुन् । सशस्त्र प्रहरीका प्रशिक्षक सुदीप श्रेष्ठले स्कोरिङ्ग लाइन कमजोर हुँदा पराजित भएको बताए । कप्तान दीपक खड्काले शुरुवाती गोल खाएपनि गोल फर्काउँछौ भन्ने लागेपनि अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । एपीएफको मुख्य खेलाडीहरु यहाँ आएका थिएनन् ।
नेपालगञ्ज-११ का प्रशिक्षक युवराज शाहीले दुई गोल्डकपमा शुरुवातमा हारेकाले यसपाली नेपालगञ्जलाई ठूलो प्रेसर रहेको र पहिलो रणनीति नै सफल हुँदा जित निकाल्न सकेको बताए । कप्तान गोविन्द थापाले प्रतियोगिता नै जित्ने गरी तयारी गरेको बताए ।
प्रतियोगिताको म्यान अफ म्याच नेपालगञ्ज-११ का विक्रमसिंह ठकुरी भएका छन् । उनले एउटा मोबाइल पाए । प्रदेश सांसद बाबुराम गौतम, नेपालगञ्जका मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापाले ठकुरीलाई मोबाइल हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य बाबुराम गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, एन्फाका सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए ।
सो अवसरमा मेयर राणाले गोल्डकप प्रतियोगिता खजुरामा गर्दा यहाँको फुटबल विकासमा ठूलो टेवा पुग्ने बताए । उनले फुटबलको विकासका लागि विद्यालयस्तरमा प्रवेश गर्ने नीति बनाएर अघि बढेको बताए ।


बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले गोल्डकपजस्ता ठूला प्रतियोगिताहरु गाउँमा गर्दा फुटबलको क्रेज बढ्ने बताए ।
टुबोर्ग, रेडबुल, रुस्लान, प्रिति चाउचाउलगायतले सहयोग गरेको नेपालगञ्ज गोल्डकपमा ६ वटा टीमको सहभागिता रहेको छ । नेपालगञ्ज-११, सशस्त्र प्रहरी, लाली रुपन्देही-११, सरस्वती क्लव काठमाडौं, सिएमजी संकटा क्लव र सुदूरपश्चिम-११ ले प्रतियोगितामा भाग लिएका छन् । मंगलबार सुदूरपश्चिम-११ र सरस्वती क्लवका बीचमा खेल हुनेछ ।

  • २१ जेष्ठ २०७५, सोमबार २०:३२ प्रकाशित
  • Nabintech