८ बैशाख २०८१, शनिबार
जानकी गाउँपालिकामा शैक्षिक सुधारकालागि अभियान
  • काँचुली खबर

बाँके /जानकी गाउँपालिकामा शैक्षिक सुधारको लागि विशेष योजना बनाईने भएको छ । विद्यालयमा शिक्षक समयमै नआउने, नपढाउने, विद्यार्थी खोजी नगर्ने र समयमै छात्रवृत्ति वितरण नगर्ने जस्ता अभिभावकको गुनासो सम्वोधन गर्दै समग्र शैक्षिक सुधारको लागि गाउँपालिकाले अग्रसरता देखाएको छ ।
सबै विद्यालयमा नभए पनि कतिपय विद्यालयमा अभिभावकको गुनासो यथार्थ रहेकोले विशेष योजनाका साथ शैक्षिक सुधारमा जोड दिईएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए । उनका अनुसार विद्यार्थी शिक्षक दुवैलाई १० बजेदेखि ४ बजेसम्म विद्यालयमा नियमित उपस्थिति गराउने, सबै पिरियड पढाई हुने वातावरण तुरुन्तै सञ्चालन गर्न गाउँपालिकाले सचेत गराएको छ ।

विद्यार्थीको भर्ना र कक्षामा उपस्थिति तथ्यांक समेत विश्लेषण गर्ने काम भएको अध्यक्ष यादवले जानकारी दिनुभएको छ । विद्यार्थी भर्ना भएको संख्याको ५० देखि ८० प्रतिशत विद्यार्थी मात्रै उपस्थिति पाईएको छ । विद्यालयको वर्तमान अवस्था पहिचान गरी विद्यालय सुधार योजना अगाडि बढाउने तयारी छ ।

गाउँपालिकामा आधारभूत अनिवार्य शिक्षा निःशुल्क शिक्षाको नारासहित समस्या पहिचान र सुधार योजनाका साथ विद्यालय अनुगमन भईरहेको गाउँपालिकाकी उपाध्यक्ष भूमिसरा धितालले जानकारी दिए । विद्यार्थी अनियमित हुने समस्या ठूलो देखिएकोले नियमित गर्ने अवस्थाको पहिचान गर्ने कार्य भईरहेको धितालले बताए ।

गाउँपालिकाद्वारा सञ्चालित पहिलो शैक्षिक सत्र भएकोेले विद्यालयको वर्तमान अवस्था पहिचान गरी १ हप्ताभित्र विद्यालय सुधार योजना तयार गरिने स्रोत व्यक्ति मुनिर अहमद खाँले जानकारी दिए । जानकी गाउँपालिकामा ३ मावि, ६ आधारभूत गरी ४५ विद्यालय रहेका छन् ।

  • १० जेष्ठ २०७५, बिहीबार १९:०४ प्रकाशित
  • Nabintech