१३ बैशाख २०८१, बिहीबार
ढकेरी क्षेत्रमा मौलाउँदै यौन व्यवसाय,
  • काँचुली खबर

बाँकेको कोहलपुरदेखि १० किलोमिटर उत्तरपूर्वमा पर्ने ढकेरी पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । आन्तरिक पर्यटकहरुको आकर्षणका रुपमा रहेको ढकेरी पुगेपछि लोकल कुखुरा, ढिडो जस्ता अर्गानिक खानेकुरा खानुपर्छ भन्ने सबैको सोंच रहन्छ । शुक्रबार र शनिबार ढकेरी क्षेत्रका दर्जन बढी होटलमा ग्राहकहरुको भीड लाग्ने गर्छ ।

ढकेरीमा नेपालगन्जबाट मात्रै नभई सुर्खेत, दाङ्ग, सल्यान लगायतका जिल्लाबाट पनि फुर्सदको समयमा ग्राहकहरुको आउजाउ राम्रै हुन्छ । त्यहाँका होटलहरु लगभग सधैंजसो भरिभराउ नै हुने गर्छन् । करिब १० बर्षअघि गुमनाम रहेको ढकेरी त्यसयता भने आन्तरिक पर्यटकका लागि फुर्सदको गन्तव्य नै बन्ने गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने ढकेरी पूर्वदेखि पश्चिमसम्मका यात्रुहरुका लागि पनि परिचित नै छ ।

एकदशकको अवधिमा भने ढकेरीले आफ्नो नामको ‘बदनाम’ गर्ने दिशातर्फ अघि बढिरहेको छ । अर्गानिक खानपान र फुर्सदमा घुम्न जाने ठाउँका लागि परिचित ढकेरी पछिल्लो समय यौन बजारका रुपमा चिनिदै गएको छ । ढकेरी क्षेत्रमा रहेका होटलहरुमा आजभोली यौन व्यवसाय राम्रै फस्टाउन थालेको छ । यहाँका अधिकांश होटलहरुका कोठाहरु यौनकर्मीका लागि बुक भएका हुन्छन् ।

‘होटलले केटीहरु त राख्दैनन्, बाहिरबाटै लिएर आउनुपर्छ,’ होटलमा कार्यरत एक मजदुरले भने, ‘प्राय जोडीहरु बाहिरबाटै आउने र रात विताएर जान्छन् ।’ उनका अनुसार होटलले यौनकर्मी भने राख्दैनन् । यौनकर्मका लागि ढकेरी पुग्नेले आफैं यौनकर्मी लिएर जान्छन् । यहाँका अधिकांश होटलका कोठाहरु यौनकर्मीका लागि बुक भइसकेका हुन्छन् । एक होटल सञ्चालकले पनि यौनकर्मीहरु आएर रात विताउने गरेको स्वीकार गरे ।

ढकेरी पुग्ने अधिकांश यौनकर्मीहरु नेपालगन्ज र दाङ्गका रहेका छन् । यौनकमीहरुबाट होटलवालाले प्रतिकोठा ७०० देखि १५ सय रुपैयाँसम्म कोठाभाडा लिने गरेको होटल मजदुरले बताए । कानुनले बर्जित गरेको यौनव्यापार रोक्नलाई कहिलेकाँही प्रहरीले छापा मारेर केही जोडी पक्राउ गर्ने गरेको एक स्थानीयले बताए । उनले भने, ‘आपत्तिजनक क्रियाकलापमा भेटिएका जोडीलाइ पक्राउ गरेर प्रहरी चौकीमा लगिन्छ । प्रहरी चौकीबाट छुटेपछि ती महिलाहरु फेरी पुरानै काममा फर्किन्छन् ।’

उनले यस विषयमा पटकपटक आवाज उठाउँदै आएको भए पनि होटल व्यवसायीकै अटेरीका कारण ढकेरीमा यौन व्यवसाय फैलिँदै गएको भन्दै गुनासो गरे । उनका अनुसार स्थानीयवासीको आग्रहलाई होटल सञ्चालकहरुले बेवास्ता गर्ने गरेका छन् ।

ढकेरी सुधार समाजका अध्यक्ष विश्वराज खनालले आफूहरुलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । ‘हामीले यस विषयमा थाहा पाएका छैनौं । अप्रत्यक्ष रुपमा लुकीछिपी हुने भएकाले हामीले केही गर्न सक्दैनौं,’ अध्यक्ष खनालले भने, ‘एक दुई जना व्यवसायीका कारण ढकेरी क्षेत्रकै बदनाम भएको छ । हामीले पनि पटक पटक यस विषयमा व्यवसायीहरुलाई सचेत गर्दै आइरहेका छौं ।’

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले यस विषयमा पटक पटक गुनासाहरु आइरहेको बताए ।

‘हामीले विगतमा पनि पटक पटक छापा मारेका थियौं । कुन होटलले कसरी यौन व्यवसाय चलाइरहेका छन् भन्नेमा हामीले अनुसन्धान गरिरहेका छौं,’ डिएसपी भट्टराईले भने, ‘हामीले छापा पर्ने तयारी गरिरहेका छौं । कुन दिन कसरी छापा मार्ने भन्ने तयारी भइरहेको छ ।’

  • ९ जेष्ठ २०७५, बुधबार १४:०४ प्रकाशित
  • Nabintech