२५ बैशाख २०८१, मंगलवार
कालीकोटको पलातामा आगलागी, न्यौपानेबस्ती नष्ट
  • काँचुली खबर

कालीकोटको पलाता गाउँपालिका-१, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्‍याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ ।

सुख्खा क्षेत्र भएको र फुसको छाना भएका घर भएकाले आगो निभाउन नसकिएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । प्रजिअ कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ । नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । सो बस्ती नजिक इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी कार्यालय पर्छन् ।

स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो । त्यहाँ गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको एकिन विवरण बुझ्न कठिन भएको छ । सो क्षेत्रमा सोलार प्रणालीबाट टेलिफोन सेवा पुर्याइएको छ, तर त्यहाँ घाम नलाग्दा व्याट्री चार्ज नहुने भएकाले सम्पर्क स्थापित हुन सक्दैन ।

 

#अनलाइन खबरबाट साभार

  • ९ पुष २०७५, सोमबार ०८:३९ प्रकाशित
  • Nabintech