१३ बैशाख २०८१, बिहीबार
आज देखि हर्न बजाउन नपाईने
  • काँचुली खबर

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र आज देखि सवारी साधनको हर्न बजाउन नपाईने भएको छ । बढ्दो सवारी चापका कारण अत्याधिक ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जमा हर्न निषेधित गर्ने तयारी गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा आज नेपालगन्जमा “हर्न निषेध शहर, हामी सबैको रहर” भन्ने मुल नाराका साथ ‘हर्न निषेधित’ कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाकेका निमित्त प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले ‘हर्न निषेध’ लेखिएको ब्यानर पढेर उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि न्यौपानेले हर्न निषेधित अभियानले सार्थकता पाउनका लागि सबै सरोकारवालाहरु लाई सचेतना गराउनु पर्ने भन्दै ‘प्रचारमुलक अनि दबाबमुलक कार्यक्रमबाट यो अभियान सफल हुने आफुले आशा लिएको बताए।’
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सवारी साधनका हर्नले ध्वनि प्रदुषण भइ बाटोमा हिड्ने बटुवा देखि स्कुल, क्याम्पस, अस्पताल लगाएतलाई असर गर्ने भएकाले यो अभियानलाई सबैले साथ दिनु पर्ने बताए ।
‘आज देखि एक महिना सम्म व्यापक जनचेतनामुलक प्रचार प्रसार कार्यक्रम गरीनेछ । ठाउँ ठाउँमा होर्डिङ बोर्ड राख्ने, पर्चा पम्प्लेट बितरण गर्ने, ब्यानर राख्ने, यातायात ब्यबसायीहरु सङ्ग अन्तरक्रिया गर्ने लगाएतका कार्यक्रम हुनेछ ।,’ उनले भने, ‘एक महिना पछि अटेर गर्नेलाई कानुन अनुसार कारबाही गरीनेछ ।’
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सरद पौडेल, ६ न. प्रदेश दङ्गा प्रहरी प्रमुख, उद्योगी ब्यबसायी, होटेल ब्यबसायी, यातायात ब्यबसायी लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले सेतो ब्यानरमा दस्तखत गरेर यो अभियानलाई सफल बनाउनका लागि प्रतिबद्धता जनाएका थिए । कार्यक्रम जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले संचालन गरेका थिए ।

  • १ मंसिर २०७५, शनिबार १२:४८ प्रकाशित
  • Nabintech