७ जेष्ठ २०८१, सोमबार
गौमुखी मिडिया सम्मेलन हुने, देशभरका पत्रकार गौमुखी पुग्दै
  • काँचुली खबर

धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । सोहि अबसरमा आगामी मंसीरको दोस्रो साता जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल गौमुखीमा देशभरका पत्रकारहरु जुट्ने भएका छन् । मंसीर १४ र १५ गते हुन लागेको गौमुखी मिडिया सम्मेलनमा भाग लिन पत्रकारहरु गौमुखीमा पुग्ने भएका हुन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिकाले गौमुखीको प्रचार प्रसार र राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले मिडिया सम्मेलन गर्दैछ ।
दुर्गम क्षेत्रमा रहेको पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन हुन नसक्दा विकासमा पछाडी परेकाले राज्यको ध्यानाकर्षण गर्न सम्मेलन गर्न लागिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष महावीर रानाले बताएका छन् । उनका अनुसार मिडिया सम्मेलनमा सयौँको संख्यामा पत्रकार, संचारकर्मी, पर्यटनसँग सम्वन्धित सरोकारवाला निकायहरुको जमघट हुनेछ । मिडिया सम्मेलनपछि गौमुखीसहित झाक्रिढुंगा, नांगीलेक, बाइसमुल झरना, पुँजाको तामाखानी, स्थानीयको कलासंस्कृति, कृषिजन्य उपजहरुको प्रवद्र्धन हुने आयोजकले आशा गरेको छ । पर्यटनमन्त्रीको प्रमुख आतिथ्यतमा हुन थालेको सम्मेलनको खवरले त्यस क्षेत्रका स्थानीय उत्साहित देखिएका छन् । पहिलोपटक गाउँमा मन्त्री सहितको सिंगो टोली गाउँमा आउने भएपछि स्थानीय सम्मेलनको तयारीमा जुटिरहेको अर्खाका स्थानीय मित्र थापाले जानकारी गराए ।


सम्मेलनमा आउने अतिथीहरुलाई आयोजकले स्थानीय परिकारले स्वागत गर्ने भएका छन् । रातमा बस्नका लागि होमस्टेको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । गाउँमै पाइने कोदोको ढिडो, फापरको रोटी, लोकल कुखुराको मासु, रायोको साग, गुन्द्रुकको झोल, सिस्नो, सुकासाक लगाएत परिकारको स्वाद पाहुनाले लिने पाउनेछन् ।
पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीपछिको दोस्रो गन्तव्यको रुपमा गौमुखी मन्दिर रहेको छ । माघको १ गते गौमुखीमा विशेष मेला लाग्ने गर्छ । छिमेक जिल्ला गुल्मी, बाग्लुङ, अर्घाखाँची, रोल्पा लगाएत ठाउँबाट यहाँ स्नानका लागि भक्तजनहरु पुग्ने गर्छन् । गाइको मुखबाट बहने पानी नै यहाँको मुख्य आकर्षण बनेको छ । मिडिया सम्मेलनले दुर्गम रहेका यस क्षेत्रका स्थानीयको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुने विश्वास गरिएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताए । दुर्गम क्षेत्रकै कारण यस क्षेत्रको अझैसम्म सोचेअनुसार विकास हुन नसकेको नउको भनाई छ ।
बाग्दुलादेखि करिव ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ । ठूलाचौरबाट झण्डै पौने एक घण्टा पैदल यात्रापछि गौमुखी मन्दिरमा पुग्न सकिने स्थानीयले बताएका छन् ।

  • २९ कार्तिक २०७५, बिहीबार १८:११ प्रकाशित
  • Nabintech