२५ बैशाख २०८१, मंगलवार
‘क’ वर्गको प्रहरी कार्यालयको बिजोग, ३६ प्रहरीको नेतृत्व सईको भरमा !
  • काँचुली खबर

सुर्खेत – ईलाका प्रहरी कार्यालय ग्रामीण स्तरको प्रमुख प्रहरी संरचना हो । हरेक नागरिकसँग प्रत्यक्ष जोडिने इलाका प्रहरी कार्यालयको अवस्था नै नाजुक भएपछि सर्वसाधारणले सुरक्षाको प्रत्याभूति कसरी गर्ने ?

सुर्खेतको लेकबेसी नगरपाालिका–६ स्थित इलाका प्रहरी कार्यालय कागजमा ‘क’ वर्गको भएपनि काममा सुस्त छ । आवश्यक स्रोतसाधन र जनशक्ति नहुँदा काम गर्न नसकिएको जनाइएको छ । प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा १० जना जनशक्ति ४ कोठाबाट सेवा प्रवाह गरिरहेका छन् ।

कार्यालय गत साउन १६ गते मन्त्रिपरिषद्को निर्णयबाट स्थापना गरिएको हो । ३० हजार जनसंख्या रहेको लेकबेसीको सुरक्षा जिम्मा लिएको ‘क’ वर्गको इलाका प्रहरी कार्यालयको नेतृत्व प्रहरी निरीक्षक (इन्सपेक्टर) ले गर्नुपर्ने हो । तर त्यहाँ सई मोहनलाल कुमाईले नेतृत्व गर्दै आइरहेका छन् ।

इलाका प्रहरी कार्यालयमा एउटा मोटरसाइकल नगरपालिकाले गस्तीका लागि प्रदान गरेको छ भने जिल्ला प्रहरी कार्यालयले पनि एउटा मोटरसाइकल प्रदान गरेको छ । इप्रकाको क्षेत्र हुँदै कर्णाली प्रदेशका कुनै न कुनै मन्त्रीको आवागमन भइरहन्छ ।

मन्त्री आफ्नो कार्यक्षेत्रमा आउँदा ‘स्कर्टिङ’ गर्न एउटा मोटरसाइकल पठाउनुपर्ने हुन्छ । ४७ जनाको दरबन्दी रहेको कार्यालयमा १ जना सई, ३ जना हवल्दार र ६ जना जवान कार्यरत छन् । १ जना कार्यालय सहयोगी रहेको कार्यालयबाट सेवा प्रवाहमा कठिनाइ भएको जनाइएको छ ।

कार्यालयमा कार्यरत प्रहरी हवल्दार बसन्त भण्डारीले नगर क्षेत्रमा रहेका गाउँबस्तीमा कुनै दुर्घटना भएमा सडकको अवस्था दर्दनाक भएका कारण समयमै पुग्न असहज रहेको बताए । ‘नयाँ बाटो काटिएको छ । धेरै स्थानमा बाटो पुगेको छैन । जनता छिटो सेवा चाहन्छन् । तर हामीलाई घटना घटेको स्थानसम्म पुग्न २ घण्टा बढी लाग्छ,’ उनले दुखेसो गर्दै भने, ‘गाडी नहुँदा पनि हामीलाई समस्या भएको छ ।’

प्रहरी नायव निरीक्षक कुमाईले मासिक १० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको भवनमा ४ वटा मात्रै कोठा रहेको बताए । ‘हामीलाई सबैभन्दा बढी समस्या भनेको बासको हो,’ उनले भने, ‘कार्यालय भएको कोठामा पनि हामीले ४ जना सुताउनुपर्ने बाध्यता रहेको छ ।’

उनले १ कोठामा भान्सा र अन्य ३ कोठामा आफूहरू सुत्ने गरेको बताए । ‘हामी बस्ने कोठाको भाडा लेकबेसी नगरपालिकाले तिर्दै आएको छ,’ उनले भने, ‘अलि राम्रो भवन भइदिएको भए हामीलाई सेवा प्रवाह गर्न सहज हुने थियो ।’

इलाका प्रहरी कार्यालय क्षेत्रमा कसैलाई पक्राउ गरेपछि र आवश्यक छानबिन गर्नुपरेको खण्डमा सिधै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाउने गरिएको उनले बताए । ‘हामीसँग भौतिक पूर्वाधार नहुँदा सामान्य घटनाका आरोपीलाई पक्राउ गरेर आवश्यक छानबिन गर्न समेत गाह्रो भएको छ,’ उनले भने, ‘त्यसका लागि पनि हामीले जिल्ला नै गुहार्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले स्थापना गर्नेपर्ने भएका कारण इलाका प्रहरी कार्यालय स्थापना गरिएको बताए । उनका अनुसार इलाका प्रहरी कार्यालयमा आगामी वर्षबाट बजेट पनि आउने र इन्सपेक्टर कुनै कारण नआएको हुनसक्ने बताउँदै १–२ दिनभित्रै आफू उक्त क्षेत्रको अवलोकनमा जाने बताए । एसपी रजौरेले लेकबेसी क्षेत्रमा समस्या रहेको स्वीकार गरे । ‘त्यहाँ बस्न र सेवा प्रवाह गर्न अत्यन्तै समस्या छ । त्यहाँ केही घटना भइहाले हामीले जानैपर्ने बाध्यता छ,’ उनले भने, ‘अब त्यहाँ गएर नगरपालिकासँग छलफल गरेर जग्गा प्राप्त भएको खण्डमा विभागसँग भवनका लागि बजेट माग गर्ने मेरो तयारी छ ।’#lokaantar.com

  • २९ कार्तिक २०७५, बिहीबार ०७:२८ प्रकाशित
  • Nabintech