१९ बैशाख २०८१, बुधबार
आफ्नैले पनि विरोध गरेकोमा मुख्यमन्त्री शाहीको गुनासो, भन्छन् : यसरी देश बन्दैन
  • काँचुली खबर

सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश विकास गर्न जहाँ पनि विरोध गरेर सम्भव नहुने बताएका छन् । मंगलवार जिल्ला समन्वय समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहहरूको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले आफ्नै सत्तारुढ दलबाट नै विना अर्थ, विरोधका नाममा विरोध हुने गरेको बताउँदै जहाँ पनि विरोध गर्ने संस्कारले देश नबन्ने बताएका हुन् ।

‘विगतदेखि अहिलेसम्म हरेक सरकारको काम कारवाही, योजना लगायतका विषयमा प्रतिपक्षभन्दा पनि सत्तारुढ दलका सांसदहरू, नेता कार्यकर्ताहरूले विरोध गर्ने गरेका छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘देश बनाउने जिम्मा सरकारको वा केही मन्त्रीहरूको मात्र होइन, सबैको सहकार्य र सहमति आवश्यक छ ।’

मुख्यमन्त्री शाहीले सबै दलको सहकार्य र सहमतिका कारण संविधान आएको बताउँदै सबै नेता, कार्यकर्ता, दलहरूसँग नीति निर्माण र योजना छनोट तथा कार्यान्वयनमा सहमति, सम्झौता गरेको खण्डमा देश बनाउन सकिने बताए ।

‘सबै सरकारबीच सहमति, सहकार्य र विश्वासको वातावरण हुन आवश्यक छ । एक अर्काबीच बारम्बार छलफल अन्तर्क्रिया गरी समस्या पत्ता लगाउन सकेको खण्डमा विकास र परिवर्तन सम्भव छ,’ उनले भने, ‘संविधानले प्रदान गरेका सबै अधिकार प्रयोग गरेर आपसी समझदारीका साथ अघि बढौं । समृद्धि हाम्रै पालामा सम्भव छ ।’

मुख्यमन्त्री शाहीले संघीय सरकारको व्यवहारका कारण कतिपय कामहरू गर्न नसकिएको बताए । ‘तीनै तहका सरकार नेपाल सरकार नै हुन् । सबै नेपालकै अंग हुन्,’ उनले भने, ‘तर संघीय सरकारका केही मन्त्रीले नेपाल सरकार आफू मात्रै हो भन्ने जस्तो व्यवहार देखाइरहेका छन् । उनीहरूले त्यो व्यवहार हटाउन जरुरी छ ।’

संघीय सरकारको काम नीति बनाउने, प्रदेश सरकारको काम कार्यान्वयन गर्ने र स्थानीय सरकारको काम सेवा प्रवाह गर्ने रहेको उनको भनाइ छ ।

साथै उनले जिल्ला समन्वय समितिको कार्यक्षेत्र बढाउनुपर्ने बताए । ‘जिससलाई अनुगमनको जिम्मा दिनुपर्छ, यसले संघीय, प्रादेशिक र स्थानीय तहका सबै विकासे कार्यको अनुगमन गर्न सकोस् र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न सकोस्,’ उनले भने, ‘तर यसकालागि आवश्यक संरचना बनाउनुपर्ने जिम्मा स्थानीय र प्रदेश सरकारको हो । स्थानीय र प्रदेश सरकारले आवश्यक बजेटको पनि व्यवस्था गर्नुपर्छ ।’  मुख्यमन्त्री शाहीले संघीयतामा खेल्न चाहनेहरू सक्रिय भएको बताउँदै त्यसका विरुद्ध सबै जनप्रतिनिधि र कार्यकर्ता मिल्न जरुरी रहेको बताए ।  प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले संविधान कार्यान्वयन गर्दै जटिलता फुकाउँदै जनताका अपेक्षाहरू पूरा गर्न जरुरी रहेको बताए ।  ‘देश नयाँ संरचनामा गएको छ । विभिन्न जटिलताहरू छन्,’ सांसद शाहीले भने, ‘तर जनताका तीव्र विकासको चाहनालाई सम्बोधन गर्न जसरी पनि ति जटिलताहरू पार गर्नुपर्ने मेरो सुझाव छ ।’  उनले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

  • १३ कार्तिक २०७५, मंगलवार १५:१४ प्रकाशित
  • Nabintech