२० बैशाख २०८१, बिहीबार
नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको कार्यालय उद्घाटन
  • काँचुली खबर

बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले परियोजना कार्यालयको उद्घाटन गरेका हुन ।
बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ नौवस्तामा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रकालागि सम्पूर्ण तयारी पुरा भईसकेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले जानकारी दिए । ३ सय ३८ बिगाह क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा हालसम्म ३ सय ५० उद्योगिले आप्mनो उद्योग संचालन गर्न आशय-पत्र दर्ता गरिसकेको पुनले बताए । पुनले औद्योगिक क्षेत्र स्थापनाकालागि डिपिआरको काम सम्पन्न भईसकेकाले परियोजनालाई समयमै सम्पन्न गराउन सबै बाधा अड्चनहरु फुकाउनुपर्नेमा जोड दिएका छन ।


कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले स्वदेशी तथा विदेशी लगानी भित्राउनकालागि सरकारले देशका ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको योजना अघि सारेको जानकारी दिए । बाँकेको नेपालगन्जमा समेत औद्योगिक क्षेत्र स्थापना गरिएको भएपनि त्यसले सोचेजस्तो प्रतिफल दिन नसकेको जिकिर गर्दै श्रेष्ठले भने, “पर्यावरणीय दृष्टिकोणले समेत बाँकेको नौवस्ता औद्योगिक क्षेत्रकालागि उपयुक्त छ । समयमै परियोजना सम्पन्न भएको खण्डमा यहाँका व्यापारीका साथै स्थानियहरुको आर्थिक उपार्जनमा समेत ठुलो टेवा पुग्नेछ ।’
नौवस्तामा औद्योगिक क्षेत्र स्थापना हुनु आफैमा गौरवको कुरा भएको उल्लेख गर्दै बैजनाथ गाँउपालिकाका प्रमुख मानबहादुर रुचालले भने, ‘बिकासले स्थानियमा उत्साह थप्नुपर्छ, तर बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र स्थापना गर्ने विषयले यहाँका स्थानियहरुमा त्रास फैलीएको छ । यसलाई बेलैमा सम्बोधन गर्न आवश्यक छ ।’


रुचालले औद्योगिक क्षेत्र निर्माणकालागि गाँउपालिका र आफु पूर्ण रुपमा प्रतिवद्ध रहेपनि त्यस क्षेत्रभित्रका स्थानियहरुको उचित व्यवस्थान पछि मात्र औद्योगिक क्षेत्रको काम अगाडी बढ्ने बताए । औद्योगिक क्षेत्रभित्र रहेका स्थानियहरुको लागत संकलन गरिने बताउँदै रुचालले भने, ‘स्थानियहरुको उचित व्यवस्थापनकालागि मापदण्ड तयार भईसकेको छ, त्यसकै आधारमा पुर्जा समेत वितरण गरिने छ ।’
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले बाँकेलाई ५, ६ र ७ नं. प्रदेशको आर्थिक राजधानिका रुपमा बिकास गर्ने योजना अनुसार नौवस्तामा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बस्नेतले बाँके जिल्लाभित्रै १ हजार विगाहमा औद्योगिक क्षेत्र स्थापना गरिने दावी समेत गरे । सरकारले भुउपयोगी निति लागु गर्ने तयारी गरिरहेको जानकारी दिदैं बस्नेतले भने, ‘बाँकेको नौवस्तामा निर्माण गरिने औद्योगिक क्षेत्र एकिकृत चेकपोष्ट सहित अन्तराष्ट्रिय मापदण्ड अनुसारको हुनेछ ।’
औद्योगिक क्षेत्रमा बसोवास गर्दै आईरहेका स्थानियहरुप्रति परियोजना गम्भीर रहेको भन्दै बस्नेतले उनिहरुको रोजगारीकासाथै उचित ब्यवस्थापनको ज्ञारेन्टी गरिने जानकारी दिए । आगामी ५ वर्षभित्र योजनाले पूर्णता पाउनेगरी चरणवद्ध रुपमा निर्माण कार्य अगाडी बढाईने र त्यसमा उद्योगीहरुलाई समेत सहभागी गराईने बस्नेतले प्रतिवद्धता जनाएका छन ।


बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष रामशरण थारुको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु लगायतले परियोजनालाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

  • ७ कार्तिक २०७५, बुधबार १६:३७ प्रकाशित
  • Nabintech