२० बैशाख २०८१, बिहीबार
राप्तीपारी विद्युतिकरणको ढोका खुल्यो : साँसद अथक
  • काँचुली खबर

बाँकेको राप्तीपारीका स्थानियहरुको बत्ति बाल्ने सपना साकार हुने भएको छ । ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तरगत विद्युत लाईन विस्तारको काम अगाडी बढेसँगै त्यस क्षेत्रका स्थानियहरु उत्साहित भएका छन । कोहलपुर-धामपुर ग्रामिण विद्युतिकरण अभियान अन्तरगत सोमबारदेखि रुख कटान कार्य प्रारम्भ भएको छ ।
बन मन्त्रालयले विद्युत लाईन बिस्तारकालागि २.२ हेक्टर बनक्षेत्र भोगाधिकार दिएसँगै त्यस क्षेत्रका २१४ रुख कटान कार्य सुरु गरिएको हो ।
सोमबार बाँके निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ र प्रदेश सभाकी साँसद कृष्णा के.सी. ‘नमुना’ ले संयुक्त रुपमा रुख कटान कार्यको सुभारम्भ गरेका हुन । राप्तीसोनारी गाँउपालिकाको ५ नं. वडामा पर्ने उक्त बन क्षेत्रमा विद्युत लाईन विस्तारकालागि २१४ रुखहरु कटान गर्ने अनुमती प्राप्त भएको डिभिजन बन कार्यालय बाँकेका निमित्त प्रमुख गणेश बहादुर खड्काले जानकारी दिए । रुख कटान भएको सँख्या अनुसार आगामी २ वर्षभित्र बन कार्यालयले तोकेको स्थानमा १ रुख बराबर २५ वटा बिरुवा रोप्ने सहमती भएको र त्यसकै आधारमा रुख कटान कार्य सुरु गरिएको खड्काले बताए ।
३३ केभिए लाईन बिस्तारकालागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरिएको विद्युत प्राधिकरण कार्यालय नेपालगन्जका निमित्त प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । विद्युतिकरणकालागि आवश्यक पोल तथा तार लगायतका अन्य सामग्रीहरु झिकाईसकेकाले लाईन विस्तारमा अब कुनै ढिलाई नहुने निमित्त प्रमुख भट्टले दावी गरे । कात्तिक महिनाभित्रै रुख कटान सकिने र चैत्रभित्रै मुख्य लाईनमा विद्युत प्रवाह गर्ने योजना रहेको भट्टले बताए ।

रुख कटानको उद्घाटन गर्दै संघिय साँसद महेश्वर गहतराज ‘अथक’ ले कुनैपनि हालतमा यहि चैत्र भित्र राप्तीपारीका क्षेत्रहरुमा विद्युत विस्तार गरिने बताए । उनले वर्षौैदेखि अँध्यारोको पिडा खेप्दै आएको राप्तीपारी क्षेत्रले विद्युतिकरण मार्फत विकासको मुलधारमा प्रवेश गर्न गईरहेको दाबी गरे । विद्युतिकरण कार्यमा बजेट बाधक नहुने विश्वास दिलाउँदै साँसद अथकले भने, ‘केन्द्रिय सरकारले राप्तीपारीका क्षेत्रहरुमा विद्युत विस्तारकालागि ९० प्रतिशत लगानीको ज्ञारेन्टी गरेको छ तर स्थानिय निकायले पनि विद्युतिकरणमा अपनत्व देखाउन जरुरी छ ।’ उनले विद्युतिकरणकालागि निर्माण गरिने संरचनाहरुको संरक्षण गर्नेे दायित्व स्थानिय निकायको रहेको बताउँदै त्यसकालागि तयार रहन आग्रह गरे । अथकले रुख कटानको अनुमती प्राप्त गर्नुनै राप्तीपारीकालागि विद्युतिकरणको ढोका खुल्नु रहेको तर्क राख्दै अन्य क्षेत्रको विकासमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ की साँसद कृष्णा के.सी. नमुनाले राप्तीपारीका जनताले बत्ती नबाल्दासम्म विद्युतिकरणको अभियान जारी रहने बताईन । उनले धेरै लामो संघर्षपछि विद्युत विस्तारको काम अगाडी बढेपनि त्यसले पूर्णता नपाउँदासम्म सबै पक्षलाई जिम्मेवार भएर लाग्न आग्रह गरिन ।
कार्यक्रममा राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, ५ नं. वडाका वडाध्यक्ष झगरु थरु, डिभिजन बन कार्यालयका ईन्जिनियर लालबहादुर बुढा, कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्का, नेकपाका नेता सुर्य ढकाल, नरेन्द्र न्यौपाने, तेजप्रसाद चापागाँई लगायत बिभिन्न निकायका प्रतिनिधिहरु सहभागी भएका थिए ।

  • ५ कार्तिक २०७५, सोमबार १६:५१ प्रकाशित
  • Nabintech