३१ बैशाख २०८१, सोमबार
पूर्वराज्यमन्त्रीको शिक्षा मोह, ‘पदभन्दा सेवा महत्वपूर्ण’
  • काँचुली खबर

बाँके – तत्कालिन नेकपा एमालेका केन्द्रिय सदस्य रहेका दलबहादुर सुनार २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा दुई पटक सांसद बने । पहिलो संविधानसभामा विजयी भएपछि सिंचाई राज्यमन्त्री बनेका सुनार २०७४ को प्रतिनिधि सभामा सांसदको कोटामा नपरेपछि शिक्षा सेवामा लागे । सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेका छन् ।
‘पद होइन समाजसेवा सम्झिए,’ उनले भने, ‘समाजसेवामा रम्न मन लाग्यो । मैले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरे र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए ।’ २०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने उनको अठोट छ । उनी भन्छन्, ‘सांसद भएको व्यक्ति विद्यालयको अध्यक्ष ज्ञ तपाईको राजनीतिक यात्रा अब सकियो जस्ता प्रतिक्रियाहरु आइरहे । तर मैले यसलाई स्वभाविकरुपमै लिए । मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा स्थापना गरी देशकै नमूना बनाउन विद्यालय बनाउन चाहन्छु ।’
उनले २० बर्षअघि पनि सोही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । सो समयमा विद्यालयमा प्लस टु सञ्चालन सुरु गर्न सफल भएका थिए । ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु,’ उनले भने, ‘मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो, त्यही जिम्मेवारी मैले यहाँ महशुस गरेको छु ।’ उनी अध्यक्ष भएपछि अहिले विद्यालयको मुहार फेरिँदैछ । विद्यालयमा खेल मैदान र पर्खाल निर्माण भएको छ । आगामी शैक्षिक सत्रदेखि नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ ।
‘निजी होइन, सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्छ । हामीसँग तालिम प्राप्त शिक्षकहरु हुनुहुन्छ । अनि हामीले लगानी गरेका सामुदायिक विद्यालयलाई हामीले खण्डहर बनाउने रु’ प्रश्न गर्दै उनले भने, ‘पर्याप्त भौतिक पूर्वाधारहरु हुँदाहुँदै पनि नीजि विद्यालयसँग प्रतिश्पर्धा गर्न सकिरहेका छैनन् । अब हामी नीजि विद्यालयका विद्यार्थीभन्दा हामी अब्बल बनाउँछौँ ।’ आगामी शैक्षिक सत्रदेखि अंग्रेजी कक्षा सञ्चालनको तयारी गरिरहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, झोला र खाजाको निशुल्क व्यवस्था गर्ने तयारी गरेको छ ।
उनले सो विद्यालयलाई क्याम्पसका रुपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको बताए । ‘आमरुपमा हाम्रो समाज योजना अभाव र कार्यान्वयन प्रक्रियामा फितलो छ । हामी योजना बनाउँदैनौं । यसबाट हाम्रा कामहरुले गति लिन सक्दैनन्,’ उनले भने, योजना बनाउँदा श्रोत जुट्छ, हामी योजना निर्माणसँगै श्रोत खोजी गरिरहेका छौँ ।’ नयाँ शैक्षिक सत्रदेखि विद्युतिय हाजिरीको सुरुवात हुँदैछ । उनी भन्छन्, ‘शिक्षकले विद्यालयमा आउँदा र जाँदा हाजिरी गर्नुपर्नेछ । समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई हामी गयल गर्छौ र शिक्षकको तलव काट्छौं ।’
उनले अभिभावकहरुसँग आग्रह गर्दै भने, ‘विद्यालयमा चाहिने सबै आवश्यकताहरु हामी पुरा गर्छौ, तपाईहरु आफ्ना बच्चालाई विद्यालयमा भर्ना गरी नियमित पठाइदिनुस् ।’ उनको चाहना छ, जनताका छोरीछोरीले उच्च शिक्षासम्म निशुल्क पढ्न पाउँन् । विद्यालयको पढाई कस्तो भइरहेको छ, उनी आफै कक्षामा निरिक्षण र अनुगमन गर्दै विद्यार्थीसँग अन्तरक्रिया गर्छन् । पढाई भए नभएको सोधीखोजी गर्दै शिक्षकको कार्यशैलीका बारेमा जानकारी लिन्छन् ।

बस किन्न रकम संकलन गरिँदै
तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा आवतजावतमा सहज बनाउन विद्यालयले बस सञ्चालन गर्ने भएको छ । बस किन्नका लागि विद्यालयलाई अभिभावकहरुले आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म रु. २८ लाख ८७ हजार संकलन भइसकेको अध्यक्ष सुनारले जानकारी दिए । सामुदायिक विद्यालयलले पनि निजी विद्यालयजस्तै सेवासुविधा दिई विद्यार्थीलाई आकर्षण गर्न बस किन्ने योजना बनाएको उनले बताए ।
२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दश जोड दुई सञ्चालन गरिरहेको छ । विद्यालयमा विद्यार्थीको चाप बढाउनको लागि शैक्षिक गुणस्तर बढाउनुको साथै भौतिक सुविधा पनि दिदै जाने योजनामा यो शैक्षिक सत्रबाटै विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि स्कुलको बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिए ।

साभार satyapati.

  • ४ कार्तिक २०७५, आईतवार ११:३६ प्रकाशित
  • Nabintech