१ जेष्ठ २०८१, मंगलवार
शुभकामना आदान-प्रदान तथा जेष्ठ नागरिकलाई सम्मान
  • काँचुली खबर

वनवाटिका पार्क टोलसुधार समिति कोहलपुर ११ को आयोजनामा आइतबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको विजया दशमी, दीपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोहलपुर क्षेत्रका सामाजिक व्यक्तित्व, टोलवासी, पत्रकार, विद्यार्थीलगायतको बृहत् सहभागिता रहेको थियो ।
कार्यक्रमको अवसरमा सुकुमारी श्रेष्ठ (८५), बलराम पौडेल (७५), नानीमैया सिलवाल (८२), अविकान्त शर्मा (८४), हुमकला पोख्रेल (८१), काला सुनार (८०) र देउमती ढकाल (७५) लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले ज्येष्ठ नागरिकलाई सम्मान एवम् शुभकामना मन्तव्य राख्दै आउँदा वर्षमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बिमाको योजना रहेको बताउँदै वनवाटिका पार्कलाई वृद्ध रमाउने पार्कका रुपमा विकास गर्नका निम्ती प्रमुख योजनाका रुपमा कार्य गर्ने बताए । कार्यक्रममा विशेष अतिथि रहेका कोहलपुर नगरविकास समिति अध्यक्ष अवराज खड्काले वनवाटिका पार्कमा रहेका बोटविरुवाहरु अति दुर्लभ रहेको बताउँदै पार्क संरक्षणका निम्ती पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।


कार्यक्रममा बोल्दै उनले विभिन्न पार्क निर्माणका लागि ५ करोड बजेट विनियोजन भएको समेत बताए । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ अध्यक्ष कर्णबहादुर थापा, कार्यपालिका सदस्य कल्पना अधिकारी, वडा सदस्य छविलाल भट्टराई, नेकपा नेता सूर्य ढकाल, कोहलपुर साना सहरी खानेपानी उपभोक्ता संस्था अध्यक्ष नरबहादुर मल्ललगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा बसपार्क बजार सुधार समिति कृष्ण रानाभाट, पतञ्जली योगका बाँके जिल्ला उपाध्यक्ष कमला पौडेल, कोहलपुर मावि गुठीका अध्यक्ष नारायण लम्साल, नेपाल पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष केशव रानालगायतको सहभागिता थियो ।
टोल सुधार समिति अध्यक्ष हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव दीपेन्द्र केसीले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिक भोला लामिछाने लगायतले ज्येष्ठ नागरिकहरुले वनवाटिका पार्कलाई दिवा वृद्धाश्रम पार्कका रुपमा विकास गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

  • २८ आश्विन २०७५, आईतवार १७:०९ प्रकाशित
  • Nabintech