२६ बैशाख २०८१, बुधबार
१७ सय लिटर घरेलु मदिरा नष्ट
  • काँचुली खबर

प्रहरीले बाँकेको नेपालगन्जमा १७ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले शनिबार १७ सय लिटर घरेलु मदिरा र ७ किलो मदिरा बनाउने औषधी समेत नष्ट गरेको हो । नेपालगन्ज उप–महानगरपालिका २ को दैलेखी बगांला आसपासमा रहेका विभिन्न घरबाट वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले घरेलु मदिरा बरामद गरेको हो ।
घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । ‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, प्रहरी निरीक्षक डाँगीले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्न सके दशै तिहारमा केही अपराध कमी हुन्छ ।’
घरेलु मदिरा सेवन गरेर समाजमा झैगडा गर्नेहरु बढ्दै जान थालेको उनले बताए । प्रहरीले घरेलु मदिरा बनाउने ३ थान भाडाकुँडा समेत बरामद गरेको थियो । घरेलु मदिरा नष्ट गर्ने अभियान जारी रहने वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । बरामद गरिएको घरेलु मदिरा शनिबार नै नष्ट गरिसकिएको वडा प्रहरी कार्यालय नेपालगन्जका असई बिष्णु शाहीले जानकारी दिए । नेपालगन्जका विभिन्न ठाउँहरुमा घरेलु मदिराको उत्पादन तथा बिक्री वितरण हुदै आएको छ ।

  • २० आश्विन २०७५, शनिबार १८:३४ प्रकाशित
  • Nabintech