२३ बैशाख २०८१, आईतवार
पढ्नैपर्ने १११ नेपाली पुस्तक, कुनै छुटे कि ?
  • काँचुली खबर

दैनिकजसो एउटा पुस्तक सार्वजनिक भएको खबर सामाजिक सञ्जालमा पढ्न पाइन्छ । प्रकाशनको गति यति धेरै भइसक्यो, ती सबैको खबर सार्वजनिक गर्न हरेक मिनेट अपडेट हुने अनलाइन पत्रिकाहरु पनि असमर्थ हुन थालेका छन् । यसबाट पुस्तक प्रकाशनको क्रम बढेको मात्र होइन, पठन संस्कृति पनि उकालो लागिरहेको अर्थ लगाउन सकिन्छ ।

बजारमा लेखकहरु सेलिब्रेटी हुँदै गएका छन् । र, लेखस्वले नै उनीहरुको गुजारा चल्न थालेको छ । केही समयअघि यो दिवास्वप्नजस्तो थियो ।

यति हुँदाहुँदै पनि नेपाली पुस्तकको गुणस्तर नपुगेको गुनासो बारम्बार आउने गरेको छ । नेपालमा नाम चलेका, चर्चित पुरस्कार पाइरहेका र वर्षका ‘बेस्टसेलर’ पुस्तकहरुलाई पनि खोट देखाउनु सामान्य चलन हुन थालेको छ ।

यस्ता आरोप पाठकहरुबाट कम स्वयं ‘लेखक वर्ग’ र ‘समीक्षक’हरुबाट बढी आएको देख्न सकिन्छ । पाठकहरुले सामाजिक सञ्चालमा रमाई(रमाई लेखक र कृतिहरुको प्रचार गरिरहँदा समीक्षकहरु भने ती पुस्तकका कमजोरी देखाउन उद्यत भइरहेका देखिन्छन् ।

आरोपको वषर सामान्य पाठकहरुबाट भन्दा विश्वका चर्चित पुस्तक पढिसकेका, अंग्रेजी भाषामा दक्षता हासिल गरेका र सञ्चारमाध्यममा पहुँच भएका विद्वानबाट आउने गरेको छ । यसले नेपालीभाषी पाठकहरुमा कुन पुस्तक कुन उमेरमा पढ्ने, कुन पुस्तकलाई राम्रो भन्ने द्विविधा हुन थालेको छ । आफूलाई मन परेको पुस्तकको प्रचार गर्दा आफू कमजोर देखिने मनोविज्ञानले जरो गाड्न थालेको छ ।

पाठकहरुको यही द्विविधालाई अन्त्य गर्न अनलाइनखबरले तीनवटा प्रश्नावली तयार पारेर नाम चलेका लेखक, कवि, पत्रकार, समीक्षक र पढन्तेका रुपमा चिनिएका केही पाठकसँग उहाँहरुलाई मन परेका नेपाली पुस्तकको नाम टिपाइदिन आग्रह गरेका थियो ।

उहाँहरुबाट टिपिएका नामलाई विश्लेषणात्मक विधिबाट नेपाली पाठकले पढ्नैपर्ने १११ वटा पुस्तकको नाम यहाँ सार्वजनिक गरेका छौं ।

यो सर्वेक्षणको नतिजालाई हामीले अन्तिम मानेका होइनौं । सयौं वर्षको नेपाली साहित्यको इतिहासमा लाखौं पुस्तक लेखिएका छन् । यो भीडमा १११ वटा मात्रै उत्कृष्ट पुस्तक छन् भन्ने आशय कदापि होइन ।

यीभन्दा राम्रा पुस्तकको नाम छुटेको हुन सक्छ । ती पुस्तकको नाम कारणसहित प्रतिक्रिया कोलममा थप्न लेखक-पाठक स्वतन्त्र हुनुहुन्छ ।

यो सर्वेक्षणमा हामीले पुस्तकलाई १० भागमा विभाजन गरेर हरेक क्षेत्रका ११ वटा उत्कृष्ट पुस्तक निकाल्ने प्रयास गरेका छौं ।

१० नेपाल बुझ्नका लागि पढ्नैपर्ने पुस्तकहरु

नेपाली इतिहास, समाज र परम्परासम्बन्धी धेरै पुस्तक राम्रोसँग लेखिएका छैनन् । जति लेखिए, विदेशी भाषामा र विदेशी लेखकले आफ्नै आँखाबाट लेखे ।

यहीअनुसार सामान्य प्रशासनिक नीतिदेखि देशको राजनीतिक परिवर्तनको आधार पनि विदेशी विज्ञ र उनीहरुको स्वार्थका आधारमा हुने गरेको आरोप लाग्ने गरेको छ ।

नेपालको राजनीति, सामाजिक र सांस्कृतिक अवस्था बुझाउन सक्ने धेरै पुस्तक लेखिएको रहेनछ भन्ने कुरा पुस्तकका लागि गरिएको सर्वेको नतिजाबाट देखिन्छ ।

यद्यपि, नेपालीमा त्यस्ता पुस्तक लेखिएकै छैनन् भन्नेचाहीँ होइन । विज्ञहरुले गरेको सिफारिसका आधारमा नेपाली भाषामा नेपाल बुझ्न पढ्नैपर्ने ११ वटा पुस्तकको नाम हामीले संकलन गरेका छौं ।

नेपाल बुझ्न यति कुरा पर्याप्त छ भन्ने होइन । तर, आजका पुस्ताले यी पुस्तक पढ्ने हो भने नेपालको एउटा सानो झलक राम्रोसँग पाउन सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।

– त्यस बखतको नेपाल : सरदार भीमबहादुर पाण्डे
– यिनलाई मैलेजस्तो देखें (भीमसेन थापा)  : बाबुराम आचार्य
– अब त्यस्तो कहिल्यै नहोस् : बाबुराम आचार्य
– जंगबहादुरको बेलायत यात्रा
– जनरल भीमसेन थापा : चित्तरञ्जन नेपाली
– सबै जातको फूलबारी : डोरबहादुर बिष्ट
– हाम्रो समाज एक अध्ययन : जनकलाल शर्मा
– असहमति : सौरभ
– मैले देखेको नेपाल : हर्क गुरुङ
– राजा, राष्ट्रियता र राजनीति : गणेशराज शर्मा
– बदलिँदो नेपाली समाज : चैतन्य मिश्र

आत्मकथा

विश्वमा हरेक प्रसिद्ध व्यक्तिले आत्मकथा लेख्ने प्रयास गरेका छन् । कलिलैमा चर्चित भएका जस्टिन बिबरले २१ वर्षमै आत्मकथा प्रकाशित गरेर यो विधामा पाको उमेर नै हुनुपर्ने मानक भत्काएका छन् । नेपालमा भने आत्मकथा लेख्ने चलन विस्तारै प्रचलनमा आउन थालेको छ ।

लेखिनुपर्ने धेरै राम्रा आत्मकथा संकोच र भोलिको पुस्ताले के भन्ला भनेर लेखिएनन् । अहिले त्यो सोच क्रमशः भत्किन थालेको छ । यद्यपि, यो पर्याप्त छैन ।

चर्चित लेखकको नाम हुनासाथ राम्रो आत्मकथा मान्न नसकिने सर्वेक्षणमा देखिएको छ । कतिपय सामान्य व्यक्तिका आत्मकथालाई समालोचक एवं पाठकहरुले उत्कृष्ट ठानेर सिफारिस गरेका छन् भने कतिपय चर्चित व्यक्तिका आत्मकथा सिफारिसमा परेका छैनन् ।

लेखकीय दृष्टिले राम्रो मानिएका ११ आत्मकथा

– ओलम्पियन : सुरेन्द्र हमाल
– विनोद चौधरी : विनोद चौधरी
– आत्मालाप : जगदीश घिमिरे
– जीवन महाभियान : मदनमणि दिक्षित
– मेरा कथाका पानाहरु : गणेशमान सिंह
– आफ्नो कथा : विश्वेश्वरप्रसाद कोइराला
– चिना हराएको मान्छे : हरिवंश आचार्य
– महको म : मदनकृष्ण श्रेष्ठ
– रुक्मांगत कटुवालको आत्मकथा : रुक्मांगत कटुवाल
– जीवन काँडा कि फूल : झमक घिमिरे
– रोमाञ्चित जीवन : लोकराज बराल

किशोर पुस्तालाई आकर्षित गर्ने पुस्तकहरु

आजको पुस्तालाई सामाजिक सञ्जाल र युट्युब जेनेरेसन मानिन्छ । यो पुस्तालाई अत्यन्तै हतार छ र सबै कुरा रेडिमेट चाहन्छ । उनीहरु नेपाली पुस्तक पढ्नुभन्दा संसारभरका विषय एकै क्षणमा थाहा पाउन आतुर छन् । यही कारण हो, पाठ्यपुस्तकबाहेकका अन्य पुस्तक पढाउन निकै कसरत गर्नुपर्छ ।

यद्यपि, आजभोलि किशोर र युवापुस्तालाई केन्द्रमा राखेर धमाधम पुस्तक प्रकाशन हुन थालेका छन् । यीमध्ये आफ्ना सन्तानलाई कुन पुस्तक पढ्न दिने भन्ने अभिभावकमा दुविधामा देखिन्छ ।

समीक्षकहरुले युवा पुस्ताका लागि आकर्षक विषयवस्तु, सरल भाषा र अलिकति भए पनि सन्देश लुकेका पुस्तक किशोरहरुले पढ्नुपर्ने बताउँदै त्यस किसिमका पुस्तकलाई सिफारिस गरेका छन् ।

युवा पुस्ताले पढ्ने पुस्तकहरुः

– समर लभ : सुविन भट्टराई
– सिस्टर कल्पना : युधिर थापा
– जुकरबर्ग क्याफे : अश्विनी कोइराला
– पर्पला : मिलन संग्रौला
– बैंसको मान्छे : पारिजात
– सर्पदंश : तारिणीप्रसाद कोइराला
– करोडौं कस्तुरी : अमर न्यौपाने
– पाठशाला : तीर्थ गुरुङ
– कान्तिपुर गाथा : किशोर नेपाल
– फ्लासब्याकमा जिन्दगी : लक्ष्मी उप्रेती

महिलाहरुले पढ्नैपर्ने पुस्तक

साहित्यमा महिला वा पुरुषले पढ्नुपर्ने पुस्तकका रुपमा विभाजन गर्ने चलन छैन । यद्यपि, साहित्यमा खासै रुचि नभएका महिलाहरु नयाँ स्वादका पुस्तक पढ्न रुचाउँछन् भन्ने न्युयोर्क टाइम्सले बर्सेनि सार्वजनिक गर्ने सूचीबाट थाहा हुन्छ ।

यस्ता सूचीमा साहित्यभन्दा ‘चिकेन सुप फर सोल’जस्ता पुस्तक लाखौं प्रति बिक्री भएको देखिएको थियो । यही आधारमा साहित्यमा रुचि हुने र नहुने दुवै खालका महिलाका लागि विज्ञहरुले निम्न ११ वटा पुस्तक सिफारिस गरेका छन् ।

– फूलको आँखामा : आनी छोइङ डोल्मा
– लेखककी स्वास्नी : प्रगति राई
– सेतो धरती : अमर न्यौपाने
– तुइन : सुरेश प्राञ्जली
– राधा : कृष्ण धरावासी
– क्यासल रककी अप्सरा : सुन्दर जोशी
– उनी : अश्विनी कोइराला
– गौरी : माधव घिमिरे
– स्वअस्तित्वको खोज : अर्चना थापा
– रुपान्तरणमा महिला : अस्मिता प्रकाशन गृह
– मेरा जीवनका पाना : गौरा प्रसाईं

पढ्नैपर्ने साहित्यिक कृतिहरु

यो शीर्षकअन्तर्गत् हामीले नेपालका चर्चित साहित्यकारसँग पढ्नैपर्ने साहित्यिक कृतिको नाम सिफारिस गर्न आग्रह गरेका थियौं । हाम्रो आग्रहमा नेपालमा विश्वस्तरका कुन-कुन कृतिहरु छन् भन्ने प्रश्न पनि समावेश थियो ।

खगेन्द्र संग्रौला, अमर न्यौपाने, बुद्धिसागर, अविनास श्रेष्ठ, विप्लव ढकाल, राम लोहनीजस्ता चर्चित साहित्यकार एवं समीक्षकहरुलाई हामीले आफ्ना पाठकलाई पढ्नैपर्ने पुस्तकको नाम लिइदिन आग्रह गरेका थियौं । यस्ता २० जना लेखक-समीक्षक एवं केही पाठकबाट प्राप्त पुस्तकका आधारमा थप कृतिहरुको नाम यसरी सिफारिस भएर आएका छन् ।

पढ्नैपर्ने २१ उपन्यास

– अनुराधा : विजय मल्ल
– मुलुक बाहिर : लैनसिंह वाङ्देल
– नयाँ क्षितिजको खोज : असित राई
– शिरिषको फूल : पारिजात
– घामका पाइलाहरु : धच गोतामे
– माधवी : मदनमणि दीक्षित
– अलिखित : डा. ध्रुवचन्द्र गौतम
– आज रमिता छ : इन्द्रबहादुर राई
– चपाइएका अनुहारहरु : दौलतविक्रम बिष्ट
– अविरल बग्दछ इन्द्रावती : रमेश विकल
– कारागार : वानिरा गिरी
– द्वन्द्वको अवसान : राजेश्वर देवकोटा
– नरेन्द्र दाइ : विश्वेश्वरप्रसाद कोइराला
– पर्खालभित्र र बाहिर : पारिजात
– कट्टेल सरको चोटपटक : ध्रुवचन्द्र गौतम
– प्रेतकल्प : नारायण ढकाल
– उलार : नयनराज पाण्डे
– कर्नाली ब्लुज : बुद्धिसागर
– मिस्टिका : कुमार नगरकोटी
– पागल बस्ती : सरुभक्त
– पल्पसा क्याफे : नारायण वाग्ले

पढ्नैपर्ने ११ कवितात्मक कृति

– आमाको सपना : गोपालप्रसाद रिमाल
– तरुण तपसी : लेखनाथ पौडेल
– घुम्ने मेचमाथि अन्धो मान्छे : भूपि शेरचन
– आगोनेर उभिएको मान्छे : विमल निभा
– हतारमा यात्रा : श्यामल
– बिसे नगर्चीको बयान : श्रवण मुकारुङ
– बीसौं शताब्दीको गीत : वासु शशी
– किन्नर-किन्नरी : माधव घिमिरे
– अतिरिक्त अभिलेख : दिनेश अधिकारी
– भोलि बास्ने बिहान : कृष्णभूषण बल
– ल्याम्पपोस्टबाट खसेको जून : मनु मञ्जिल

पढ्नैपर्ने ११ कथासंग्रह

– नयाँ सडकको गीत : रमेश विकल
– इतर जिल्लावासी : राजव
– छापामारकी छोरी : महेशविक्रम शाह
– मोक्षान्त फिभर काठमाडौं : कुमार नगरकोटी
– श्वेत भैरवी : विश्वेश्वरप्रसाद कोइराला
– थोत्रो छाता : नव सिलवाल
– ऐना : रामलाल अधिकारी
– शुक्रराज शास्त्रीको चश्मा : राजेन्द्र पराजुली
– लाटो पहाड : उपेन्द्र सुब्बा
– कथैकथा : गोविन्दबहादुर मल्ल ‘गोठाले’
– इन्द्रबहादुर राईका कथाहरु

पढ्नैपर्ने पाँच नाटक

– अन्धवेग : बालकृष्ण सम
– मसान : गोपालप्रसाद रिमाल
– निमावीय : सरुभक्त
– बैकुण्ठ एक्सप्रेस : मोहनराज शर्मा
– कोही किन बर्बाद होस् : विजय मल्ल

पढ्नै पढ्ने पाँच संस्मरणात्मक कृति

– उत्तरोत्तर : धच गोतामे
– धुपि, सल्ला र लालीगुराँसहरुको फेदमा : पारिजात
– आफ्नै आँखाको लयमा : खगेन्द्र संग्रौला
– सोच : कर्ण शाक्य
– यार : नयनराज पाण्डे

पढ्नैपर्ने ११ अनुदित कृति

– योगीको आत्मकथा
– गौतम बुद्धको उपदेश र जीवनी
– माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म
– ली क्वान यु
– लज्जा
– वारेन बफेट
– दी सेक्रेट
– ओशोको स्वणिर्म बाल्यकाल
– नेलकटर
– कल्याणी धर्ती
– मलाला

विदेशीले नेपालका विषयमा लेखेका तीन चर्चित पुस्तक

– जनता जागेका बेला : कियोको ओगुरा (जापानी)
– त्यो नेपाल : फ्रान्सेली अनुभव (संकलक दधिराज सापकोटा)
– नेपाल : सिल्वा लेभी

 

 

साभार  : अनलाईनखबर

  • १८ आश्विन २०७५, बिहीबार १७:३९ प्रकाशित
  • Nabintech