मानव बेचविखन तथा ओसार-पसार विरुद्धको १२ औं राष्ट्रिय दिवसका अवसरमा कोहलपुर आयोजित एक अन्तरक्रिया कार्यक्रम मार्फत ५ बुँदे प्रतिवद्धता-पत्र जारी गरिएको छ ।
बुधबार कोहलपुर नगरपालिकाको आयोजनामा मानव बेचविखन तथा ओसार पसारलाई न्यूनिकरण तथा नियन्त्रण गर्न स्थानीय सरकार र सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका विषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागीहरुले व्यक्त गरेका धारणाहरु, सुझावहरु, नीति तथा कानून समेतका बारेमा आएका प्रतिक्रियाहरुबाट ५ बुँदे प्रतिवद्धता तयार गरिएको कोहलपुर नगरपालिकाका पे्रस सल्लाहकार भीम रावतले जानकारी गराएका छन् ।
जारी प्रतिवद्धताहरुमा दिगो विकास तथा गरिबी निवारण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने, मानव बेचविखन तथा ओसार–पसार विरुद्ध बनेका ऐन–कानूनहरुलाई कडाईपूर्वक लागु गर्ने र आवश्यक पर्ने कानूनहरु निर्माण गर्ने, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने, महिला हिंसा मुक्त समाज निर्माण गर्ने र मानव बेचविखन विरुद्ध शुन्य सहनशिलता अपनाउने रहेका छन् ।
जारी प्रतिवद्धतामा ५ नं. प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावत, कोहलपुर नगरकार्यपालिका सदस्य भीम नेपाली, कोहलपुर नगर विकास समिति अध्यक्ष अवराज खड्का, कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंह,कोहलपुर नगरपालिका प्रेस सल्लाहकार भीम रावत, महिला तथा बालबालिका शाखा प्रतिनिधि मनकामना सिंह, सहभागी शिक्षकहरुका तर्फबाट सगरमाथा ज्ञानपुञ्ज माविका शिक्षक केदार मणी ढकाल र सहभागी विद्यार्थीहरुका तर्फबाट त्रिभुवन माविका विद्यार्थी रत्ना पौडेलले हस्ताक्षर गरेका छन् ।
सो अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिका भित्र रहेका ११ वटा मावि तहका सामुदायिक विद्यालयहरुबाट २/२ जना छात्र-छात्रा र सामाजिक विषय अध्यापन गराउने एक-एक जना शिक्षकहरुलाई सहभागी गराइएको थियो । कार्यक्रमा कोहलपुर नगरपालिका विभिन्न वडाहरुका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, कोहलपुर नगरपालिकाा कर्मचारीहरु पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले मानव बेचविखन तथा ओसार-पसार विरुद्धको राष्ट्रिय दिवस मनाइरहँदा मानव बेचविखन तथा ओसार पसार जस्तो मानवता विरुद्ध लाग्नेहरुलाई कानूनद्वारा नै कडा कारबाहीको व्यवस्था गरिएको बताइन् । मन्त्री पौडेलले अझै पनि आवश्यक पर्ने कानून बनाउने र प्रदेश सरकारको तर्फबाट यस सम्बन्धी काम गर्न तथा मानव बेचविखन विरुद्ध गरिने सबै अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाइन ।
त्यस्तै कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले मानव बेचविखन तथा ओसार-पसार जस्ता अमानविय कार्यमा लाग्ने व्यक्तिहरुलाई कडा कारबाही गर्ने पर्ने र यस्तो कार्यबाट मानिसहरुलाई बचाउने जनचेतना जगाउने कार्यक्रमहरु गर्न नगरपालिका हरदम तयार रहेको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंहले मानव बेचविखन तथा ओसार पसार जघन्य अपराध भएको र यसबाट सोझासिधा मानिसहरुलाई विभिन्न प्रलोभनमा पारेर अपराधिक मानसिकता भएका व्यक्तिहरुबाट अझै पनि यस्तो अपराध भैरहेको बताए । कार्यक्रममा कोहलपुर नगरपालिका उप-प्रमुख सन्जु कुमारी थारुले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै समानमा भएका महिला हिंसा तथा मानवता विरुद्धता सबै क्रियाकलापहरु प्रति सचेत हुन विद्यालय स्तरमा नै जनचेतना जगाउन आवश्यक रहेको बताइन ।
२० भाद्र २०७५, बुधबार २०:५२ प्रकाशित