दृष्टिविहीन विद्यार्थीहरुमाथि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार बन्दै गएपछि त्रिभुवन नमूना मा.वि.मा अध्ययनरत दृष्टिविहीनहरुले समस्या समाधानका लागि नगर प्रमुख र पत्रकारलाई गुहारेका छन् ।
आफ्ना समस्याहरु र समग्र विद्यालयको वस्तुस्थिती र वेथितीबारे चिन्ता व्यक्त गर्दै विद्यालयमा अध्ययनरत १४ जना दृष्टिविहिन विद्यार्थीहरुले विद्यालय प्रशासनलाई पटक
पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको उपस्थितीमा पत्रकार सम्मेलन गरेर समस्या समाधानका लागि गुहार मागेका हुन् । दृष्टिविहीन विद्यार्थीहरुले राखेका १९ वटै मागहरु अत्यन्तै सान्दर्भिक र जायज भएको भन्दै नगर प्रमुख रावतले तत्काल समस्या समाधानका लागि विद्यालय नीरिक्षक संयोजक रहने गरी ५ सदस्यिय समिति गठन गर्न निर्देशन दिए । नगर प्रमुखको यस्तो निर्देशन पछि दृष्वििहिन विद्यार्थीहरु माग सम्बोधन हुनेमा आशावादी बनेको बताएका छन् ।
विशेष शिक्षा सञ्चालन हुने विद्यालयलाई सरकारले नै प्रति विद्यार्थीलाई भोजन लगाएतको व्यवस्थापनका लागि मासिक ४ हजार छुट्याउने गरेपनि के कति कारणले विद्यार्थीहरु मर्कामा परेका हुने् यस विषयमा पनि नगर प्रमुख रावतले विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग चासो व्यक्त गरेका छन् । दृष्टिविहिन विद्यार्थीहरुले भान्साकोठाको भौतिक अवस्था नाजुक रहेकाले तत्काल मर्मत गर्नुपर्ने, श्रोत शिक्षिका परिवर्तन गर्नुपर्ने, आवास कक्षको तत्काल स्तरोन्नत गर्नुपर्ने लगाएत संवेदनशील गम्भिर सवाल सहित विभिन्न १९ बुँदे मागहरु राखेका छन् । विद्यालयमा अध्ययनका क्रममा दृष्टिविहिन छात्राहरुलाई शिक्षक कर्मचारीबाट विभिन्न वहानामा यौन दुर्ब्यबहार भइरहेकाले तत्काल यस्तो कदम बन्द हुनुपर्ने माग सबैभन्दा बढी संवेदनशील र गम्भिर भएकाले नगर प्रमुख रावतले यस्तो गतिविधी विद्यालयभित्र भएको खण्डमा कारवाही गर्न तयार रहेको प्रतिबद्वता व्यक्त गरेका छन् ।
१९ बुँदे माग सहित आन्दोलित बनेका दृष्टिविहीन विद्यार्थीहरुको नेतृत्व गरेका कक्षा १२ मा अध्ययनरत छात्र गोकर्ण तिमिल्सेनाले विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति पछिल्लो समयमा आफुहरुप्रति गैर जिम्मेवार बन्दै गएको आरोप लगाएका छन् । उनले पटक पटक आफुहरुका जायज मागहरु सम्बोधन र समाधानका लागि विद्यालय प्रशासनलाई आग्रह गर्दा पुरै व्यवास्ता गरिएपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए । उनले श्रोत कक्षा व्यवस्थापनका निम्ति सरकारले उपलब्ध गराउँदै आएको रकम देखि अन्य शिर्षकमा विशेष कक्षा सञ्चालनमा आउने रकमबारे विद्यालय पारदर्शी रुपमा आफुहरुलाई केही जानकारी नदिएको आरोप लगाए । उनिहरुले विद्यालय हाताभित्र खुलेआम ध्रुमपान तथा मध्यपान हुँदा समेत विद्यालय प्रशासन मुकदर्शक बनेको भन्दै दु:ख ब्यक्त गरेका छन ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर रानाले कुनै पनि अवस्थामा विशेष कक्षा सञ्चालनका लागि सरकारले उपलब्ध गराउँदै आएको रकम हिनामिना नभएको दावी गरे । सरकारले उपलब्ध गराउँदै विशेष कक्षा सञ्चालन र व्यवस्थापनका लागि सरकारले उपलब्ध गराउँदै आएको रकम अपुग भएपछि विद्यालयले अपुग हुन आउने रकम व्यवस्थापन गर्दै आइरको बताए । उनले दृष्टिविहिन विद्यार्थीहरुको मागहरुबारे अवस्था हरेर तत्काल सम्बोधन गर्न सकिने मागहरुलाई तत्काल र बाँकी मागहरु क्रमिक रुपमा सम्बोधन गर्ने प्रतिबद्वता जनाएका छन् । यता पत्रकार सम्मेलनमा दृष्टिविहिन विद्यार्थीहरुले विद्यालय प्रधानाध्यापक देविका थापाको कार्यशैली भेदभावपूर्ण रहेको आरोप लगाएपछि उनले समय अभावका कारण तत्काल दृष्टिविहिन विद्यार्थीहरुका मागहरु सम्बोधन गर्न विलम्व भएको बताइन् । उनले विद्यालय व्यवस्थापन समितिको वैठक बोलाएर समस्या समाधान गर्ने प्रतिबद्वता जनाएकी छिन् ।
३० श्रावण २०७५, बुधबार १३:२० प्रकाशित