२४ मंसिर, काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका निम्ति आज पोखराबाट वीरगञ्ज लगिँदैछ । पूर्वडीआईजी छविलाल जोशी स्थलमार्गबाट वीरगन्ज पुगिसकेका छन् भने रविलाई हवाइ मार्गबाट ल्याउन लागिएको हो ।
रविलाई पोखराबाट अहिले काठमाडौं ल्याईंदै छ भने दिउँसो साढे दुई बजे सिमराको उडानबाट लैजाने प्रहरीको तयारी छ । उनीसँग वीरगञ्ज महानगर-६ आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थासम्बन्धी मुद्दामा बयान गरिनेछ । जिल्ला प्रहरी कार्यालय पर्साले रवि, छविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ आदेश लिएको थियो ।
पर्साबाट पक्राउ आदेश आउँदा रवि चितवनमा बयान दिइरहेका थिए । उनलाई त्यसलगत्तै वीरगञ्ज पठाउने तयारी थियो, तर व्यवस्थित हिरासत कक्ष नभएको भन्दै पर्सा प्रहरीले केही दिनपछि उनलाई पठाउन अनुरोध गर्यो । जिप्रका चितवनका एक अधिकृत भन्छन्, ‘वीरगञ्ज पठाउन भनेर मगाएको गाडीलाई रातारात पोखरा पठाउनुपरेको थियो ।’
पर्सा प्रहरी स्रोतका अनुसार आज बिहान पर्सा पुर्याइएका छविलाल जोशी र रामबहादुर खनाललाई जिप्रकाको महिला हिरासतमा राखिएको छ । रविलाई पनि सोही हिरासतमा राख्ने तयारी रहेको स्रोतले बतायो ।
स्रोत भन्छ, ‘जिप्रकाको पछाडितिर अधिकृत आवास जाने बाटोसँगै रहेको महिला सेलको छेउमा महिला हिरासत छ । महिला कैदीहरु त्यति नहुने भएकाले यो प्राय खालि नै हुन्छ । यसमै रंगरोगन र सरसफाइ गरेर उहाँहरुलाई राख्न लागिएको हो ।’
जिल्ला प्रहरी कार्यालयमा महिला र पुरुष थुनुवा राख्ने एक-एकवटा हिरासत छन् । त्यहाँ उडुसको ‘महामारी’ नै छ । ‘भीआइपी थुनुवा’ हरु ल्याइने भएपछि उडुस मार्ने दबाइ हालिएको प्रहरीले स्रोतले बतायो ।
जिप्रका पर्साले यसअघि भीआइपी थुनुवालाई नारायणी मेडिकल कलेजको अतिथि गृहमा राख्ने गर्थ्यो । पछिल्लो समय अनुसन्धानका निम्ति हिरासतमा राखिने व्यक्तिलाई असाध्यै बिरामी भए अस्पतालमा राख्ने, तर होटल वा अन्यत्र नराख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेल भने थुनुवा विशेषलाई मध्यनजर गरेर कुनै काम नहुने बताउँछन् ।
‘प्रहरीले आफ्नो कार्यालय र निवासमा सरसफाइ गर्नै नहुने हो र’, उनले भने, ‘थुनुवालाई सुरक्षित राख्नैपर्छ, हामीले पनि सरसफाइ गरेरै बस्नुपर्ने होला नि !’
२४ मंसिर २०८१, सोमबार १३:३२ प्रकाशित